(प्रा.डा. देवी नेपाल, नाम नै काफी छ । उनको लेखन, साहित्य, रचना देखी प्रस्तुति सम्म सबै तिर बेजोड लाग्छन् उनी । मान्छे देख्दा मात्र चिटिक्कका छैनन् प्रा.डा. देवी नेपाल, उनको बौद्धिकता र गुणहरू पनि प्रशंसनीय लाग्छन् नेपाल मदर डट कमलाई । त्यसैले आज हामी एउटा वा दुई वटा होइन प्रा.डा. देवी नेपालका सात छन्दका सात कविता यहाँ प्रस्तुत गर्दै छौँ – सम्पादक)
(शिखरिणी छन्द)
प्रा.डा. देवी नेपाल
म झापाको माटो तनभर लिई जन्मन पुगेँ
म आस्थाको साटो सब भ्रम भनी हुर्कन पुगेँ
अझै होलान् टाटा श्रम र पसिनाका तनभरि
सयौँ होलान् गाथा अब विगत खोल्दा मनभरि ।
थियो सानो बारी अमृतमय फल्थे फलहरू
सधैँ बोक्थ्यौँ भारी तर पनि गलेनन् तनहरू
दियो आशा नौलो रविकिरणले फैलिन सकौँ
सिकायो माटोले घन जलधिमा पौडिन सकौँ ।
पढेँ रुद्री, चण्डी, अथक श्रमले पाणिनि पढेँ
पढेँ पूर्वी माटो अलिकति कतै पश्चिम पढेँ
पढे के भो मैले जनकजननी पढ्न नसके ?
बढे के भो मैले शिर सगरको चढ्न नसके ?
म आमाबाबाको अथक श्रमले अग्लिन पुगेँ
म दुःखी माटाको करुण स्वरले पग्लिन पुगेँ
म लेखूँ माताको वदन छरियोस् अक्षरभरि
म टेकूँ माटाको हृदय पनि होस् काव्यलहरी ।
पढाएँ मैले नै कति कति यहाँ जीवनकथा
सिकाएँ मैले नै सब हृदयका मार्मिक व्यथा
म आधा गाग्रोझैँ छलछल गरी छल्किन पुगेँ
बुझेछन् साराले टलटल गरी टल्किन पुगेँ ।
म साना कक्षामा नवशिशुसँगै पस्छु कहिले
म उत्साही बन्दै युवकसँगमा बस्छु कहिले
बुढा बाबाआमासित कति कुरा सोध्छु कहिले
बुझी आफू खोक्रो धुरुधुरु स्वयं रुन्छु जहिल्यै ।
म आस्थाले बाँच्ने अटल प्रण गर्दै अघि बढेँ
म श्रद्धाले झुक्दा छलकपट देखी पछि सरेँ
सबै बाँच्ने गर्छन् पशु र कमिला बाँच्न त यहाँ
बुझेँ मैले मान्छे फरक किन हुन्छन् भुवनमा ।
म पस्दा कक्षामा अमर युगको लक्ष्य सँग होस्
म बस्दा प्रज्ञाले यति दिन बिते व्यर्थ नभनोस्
म हाँस्दा धर्ती यो अलिकति कतै लज्जित नहोस्
र टेक्दा माटोले सकिनँ सहनै भार नभनोस् ।
म त्यान्द्रो डोरीको चुँडिन पनि सक्ने छु जहिल्यै
म भिल्को आगाको निभिदिन यहीँ सक्छु अहिल्यै
बुझेँ मैले यस्तै क्षणिक वयको मार्मिक पल
बुझेँ मैले मान्छे श्रम र कृतिले बन्छ अमर ।
(शार्दूलविक्रीडित छन्द)
प्रा.डा. देवी नेपाल
टोपी उच्च हिमालको छ शिरमा छाती पहाडी शिखा
मोती फल्छ मधेसमा दिनदिनै मुस्कान छर्छन् गरा
योगीझैँ छ उपत्यका हृदयमा बोकेर सद्भावना
यो नेपाल विचित्र चित्रसरिको शोभा छ संसारमा ।
चौँरी हाँस्छ हिमालमा चरणको हेर्दै खुला केचना
गैँडा छर्छ अपार जीवनकला बाँच्ने नयाँ चेतना
काँडेभ्याकुर गण्डकी लहरमा बन्दा चिनारी नयाँ
नेपाली मनभित्र सुन्दर छटा बर्सन्छ नौलो यहाँ ।
रारा गीत बनेर सर्छ सजिलै ती कोइली कण्ठमा
झर्ना प्रीत लिएर झर्छ मनका पाखा र मैदानमा
झुल्के घाम रङाउँदै छ हिमको स्यूँदो सधैँ प्रेमले
नेपाली मनभित्रको मखमली फुल्दै छ आनन्दले ।
मेची नाँच्छ नि धाननाच जहिल्यै गाऔँ मिली देउडा
हाँस्यो है मिथिला कलाभरि अहो ! आनन्दले बाजुरा
पर्सा घुम्न गएछ भद्र तिलिचो धोती र कुर्ता भिरी
जोडी डम्फु लिएर बख्खु तनमा भिर्दै छ बाँके पनि ।
सारा वेद, कुरान, बाइबलले द्यौसी र भैलो भने
यौटै मानव धर्म भन्छ त्रिपिटक् भट्याउँदै गर्वले
शेर्पा दाइ झरे सुरम्य मिथिला ल्होसारको नाचमा
बाराले पनि गर्वले भनिदियो लौ ‘न्हूँ दया भिन्तुना’ ।
रोदीभित्र पसेर गीत सुरिलो गाए नि सन्थालले
डाफामा पनि घाटुनाच सजिलै नाचिन्छ आनन्दले
माघी मान्न भनेर दाङ पुगियो बज्दै थियो खैँजडी
मेचे–धानुक मीत लाउन पुगे त्यो स्वर्गद्वारी मुनि ।
गौरामा व्रत बस्दछिन् असनकी नानीथकूँ प्रेमले
आयो है ! छठ सूर्य दर्शन गरौँ भन्छिन् नि पासाङले
चण्डी नाच हुने भयो सब जुटे त्यो बर्दिया चौरमा
कस्तो मेल ! अचम्म मान्छ दुनियाँ यो बुद्धको देशमा !!!
(अनुष्टुप् छन्द)
प्रा.डा. देवी नेपाल
गुरुमा ज्ञानको ज्योति चम्किलो जब बन्दछ
धर्तीले जन्मको सार पूर्ण भो अनि भन्दछ
एक एक गरी ज्ञान शिष्यमा सर्न थाल्दछ
त्यागको तेज हो कस्तो ! ढुङ्गो पनि पगाल्दछ ।
आफू जलेर धर्तीमा उज्यालो गुरु छर्दछन्
आफू गलेर मट्टीझैँ मूर्ति निर्माण गर्दछन्
जसको स्नेहका सामु अरूको स्नेह व्यर्थ छ
जसको त्याग देखेर धर्ती माथ झुकाउँछ ।
दृष्टिहीन भए भानु गुरु आँखा दिलाउँछन्
बोल्न सक्दैन त्यो चन्द्र गुरु बोल्न सिकाउँछन्
हिँड्न सक्दैन यो धर्ती गुरु खुट्टा लगाउँछन्
गुरु, आमासमानै हुन् दोस्रो जन्म दिलाउँछन् ।
उनी हुन् रविका छाया उज्यालो नित्य छर्दछन्
मान्छे ! मानवका लागि बन मानव भन्दछन्
दुःखकष्ट परे सामु जलाई भष्म पार्दछन्
अपमान सही लाखौँ मान्छेलाई सपार्दछन् ।
गुरुका मनमा चोट परे हिमाल झुक्दछ
गुरुका नेत्रमा आँसु देखे समुद्र सुक्दछ
गुरुशिष्य भए द्वेषी छातीमा चल्छ हुन्डरी
सिसाझैँ फुट्छ त्यो नाता फेरि जोडिन्छ तैपनि ।
गुरु रातसँगै लड्छन् उज्यालो दिन पार्दछन्
गुरु ढुङ्गासँगै खेल्छन् अनि माटो बनाउँछन्
उजाड भूमिमा आई फूल रोप्छन् निरन्तर
गुरु हुन् सृष्टिका गाथा गुरु हुन् ज्ञानसागर ।
गुरु हुन् कार्यले माझी डुङ्गा तार्छन् निरन्तर
छोड्दछन् पसिनाधारा यात्रीउद्धार खातिर
माझी हो वृद्ध भै ढल्छ, डुङ्गा डुब्छ कुनै दिन
सम्झिनै पर्छ यात्रीले दियो सुन्दर जीवन !
(पञ्चचामर छन्द)
प्रा.डा. देवी नेपाल
म एक अंश व्योमको, म एक वंश भूमिको
म बाँच्छु नित्य गर्वले, अजम्मरी छु सृष्टिको
चुकेर स्वाभिमानमा झुकेर जान्नँ कालमा
अजातशत्रु हो सधैँ मनुष्य सृष्टिमार्गमा ।
हुँदैन ग्रस्त चेतना, हुँदैन त्रस्त मानव
न भाग्छ कर्मबाट ऊ, न थाक्छ दिव्य पौरव
अँगाल्छु विश्व प्रेमले र गर्छु नित्य रक्षण
जुनै विषाणु देखियोस्, म गर्न दिन्नँ भक्षण ।
यतै कतै मनुष्यले, फुटाउँदै छ पर्वत
त्यही मनुष्यशक्तिले, सुकाउँदै छ सागर
मनुष्य बाँच्छ ज्ञानले, जितेर हिँड्छ सानले
न हार्छ तुच्छ आशले, न मार्छ अल्प त्रासले ।
म पुग्न सक्छु चन्द्रमा, म टेक्न सक्छु मङ्गल
म छिर्न दिन्न विश्वमा, नयाँ कुनै अमङ्गल
म बस्छु बन्द जेलमा र गर्छु विश्वचिन्तन
निकाल्छु एक औषधी गरी समुद्रमन्थन ।
सुटुक्क स्वर्गमा गई म अग्नि चोर्न सक्दछु
छ औषधी कतै भने पहाड फोर्न सक्दछु
म हार्न दिन्नँ विश्व यो, म मार्न दिन्नँ मानव
म छिर्न दिन्नँ त्रासदी, म गिर्न दिन्नँ गौरव ।
(मन्दाक्रान्ता छन्द)
प्रा.डा. देवी नेपाल
हामी खेल्ने चउर कहिल्यै बन्न सक्दैन भिन्न
हामी बाँच्ने सरस पृथिवी बन्न सक्दैन खिन्न
मान्छे यौटै रगतपसिना हुन्छ यौटै सबैको
कल्ले ल्यायो छुत–अछुतको माथ झुक्ने प्रथा यो ?
तिम्रो मेरो हृदयभरिको सास यौटै छ हेर
बाँच्नै पर्ने सब मनुजको गाँस यौटै छ हेर
माटो–पानी–पवन–वनले हेर भन्दैन भिन्न
मान्छेको यो फरक मतिले भूमि नै हुन्छ खिन्न ।
थोत्रो भाँडो सबतिर पुग्यो बाहिरै बस्छ मान्छे
जुत्ता पुग्छन् शयनथलमा बाहिरै बस्छ मान्छे
झ्याली–ट्याम्को शुभ हुन गए हुन्छ मान्छे अशुद्ध
कल्ले ल्यायो चलन यसरी आज मान्छेविरुद्ध ?
तिम्रो भोटो सिउन मसँगै आउँछौ बारबार
तिम्री प्यारी मसँग गहना माग्दछिन् हुन्न लाज
छोरो मेरै श्रमशिविरको हिँड्छ जुत्ता लगाई
ए मान्छे हो ! भन न किन हो आज छुन्नौ मलाई ?
सारा औँला सबल नभए हातको हुन्न अर्थ
खम्बा–छाना सब महलका शक्ति हुन् एकसाथ
मान्छे बन्ने मन यदि भए चेतना फुल्नुपर्छ
‘मान्छे’ भन्ने भुवनभरमा जात यौटै रहन्छ ।
(भुजङ्गप्रयात छन्द)
प्रा.डा. देवी नेपाल
बुझे झैँ बुझे झैँ गरी हेर्छ कोही
चिने झैँ चिने झैँ गरी घेर्छ कोही
लुकेको छ धर्ती भनी खोज्छ कोही
छ बेकार रित्तो यही सोच्छ कोही ।
मभित्रै छ आगो मभित्रै छ पानी
मभित्रै बुढ्यौली मभित्रै जवानी
म संसार हेर्ने नयाँ रोशनी हुँ
म ब्रह्माण्ड लेख्ने नयाँ लेखनी हुँ ।
म डुब्ने छु भित्रै र झिक्ने छु मोती
म फर्कन्नँ नौलो बिहानी नभेटी
म लोभी उषाको म भोगी निशाको
म आत्मा हुँ सारा नयाँ सिर्जनाको ।
म भेट्दा स्वयं दुःख नै हाँस्न थाल्छ
नभेट्दा खुसी खिन्न भै भाग्न थाल्छ
म प्यूँदै अँध्यारो दिँदै जान्छु ज्योति
मभित्रै छ माटो मभित्रै छ मोती ।
ममा पूर्वको ज्ञानले भक्ति दिन्छ
र पाश्चात्य विज्ञानले शक्ति दिन्छ
म ज्ञानी, म योगी, म ध्यानी, म त्यागी
म संसार अट्ने अनौठो भकारी ।
म नै व्यासको चम्किलो लेखनी हुँ
र धर्ती उचाल्ने पिकासो–कुची हुँ
ममा मार्क्स–मस्तिष्क साथै रहन्छ
नयाँ ताल बन्दै बिथोबिन् बहन्छ ।
म दासत्व देखे त्यहीँ पड्किदिन्छु
र हेपे कसैले स्वयं भड्किदिन्छु
नहोस् भूमि बाँझो म थाम्ने छु सृष्टि
सबै सिर्जनामा म बन्ने छु वृष्टि ।
निराशा सबैको म च्यातेर फाल्छु
सबै हिँड्न सक्ने सुयात्रा म थाल्छु
तिमी साथ देऊ म खन्ने छु बाटो
सबै सृष्टिको मूल हो शुद्ध माटो ।
(रूपामाली छन्द)
प्रा.डा. देवी नेपाल
हाम्रो दाबी नालापानीमा
वैरी घुस्ने कालापानीमा
यो माटोमा साँच्चै झेला भो
थोत्रो खाँडो झिक्ने बेला हो ।
कान्छा भन्दै हेप्ने गर्थिस् रे
नानाभाँती हल्ला छर्थिस् रे
सोझो कान्छो भाला झिक्दै छ
सीमा बाँध्ने पारा सिक्दै छ ।
गोर्खालीका गाथा बिर्सिस् कि ?
आफैं ओड्ने छाता बिर्सिस् कि ?
छाता लौरो भाला बन्ला हेर्
साथीले नै वैरी भन्ला हेर् ।
बाटो खन्दै हाम्रो बारीमा
जोरी खोज्ने सिस्नोघारीमा ?
कोही छैनन् निर्धा गोर्खाली
ज्वाला बन्छन् सोझा नेपाली ।
सिङ्गो धर्ती काम्थ्यो छायाले
साथी ठाने छोप्थ्यौँ मायाले
गोर्खाली हो साँच्चै आँटी छ
गोली रोक्ने चौडा छाती छ ।
खाता पल्टा टिस्टा हाम्रो हो
नालापानी सुस्ता हाम्रो हो
आँखा गाड्ने हाम्रो माटोमा ?
काँडा हाल्ने हाम्रो बाटोमा ?
ले ले कान्छा थोत्रो खाँडो ले !
गोलीगट्ठा बोक्ने भाँडो ले !
सीमा बारौँ मेचीकालीमा
झन्डा गाडौँ कालापानीमा ।
प्रतिक्रिया