लन्डन / नेपालबाट देखासिकी गर्दै १२ कक्षा उतिर्ण हुँदा नहुँदै आफ्ना छोरा छोरी बिदेश पठाउन आत्तुर अभिभाबकहरु, बिदेश पढ्न जान भने पछि हुरुक्क हुने कलिला बिद्यार्थीहरु, अनि सपनाको महल देखाएर पैसा असुलेर ती कलिला बिद्यार्थीलाई बिदेश घुचेट्ने कन्सल्टेन्सीहरु सबैका लागि अमेरिका देखि युरोप सम्म, अस्ट्रेलिया देखि संसारका विभिन्न देश सम्म खतराको घन्टी बज्न थालेको धेरै भैसकेको छ तर पनि हामी अझै निन्द्रा मै छौं।
पछिल्लो समय बेलायतमा पनि अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूको असामयिक मृत्यु र आत्महत्याको घटनामा चिन्ताजनक वृद्धि भएको छ। पारिवारिक ऋणको बोझ, बेरोजगारी, मानसिक तनाव, सम्बन्धविच्छेद, होमसिकनेस, अपरिपक्वता र मार्गदर्शनको अभाव जस्ता विविध कारणले बेलायतमा बसोबास गरिरहेका धेरै नेपाली विद्यार्थीहरू संकटमा परेका छन्।
विपिन न्यौपाने (२७), गुल्मी: सन् २०२४ को जुन १४ मा लन्डनस्थित वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत अवस्थामा भेटिए। डेढ वर्षअघि मास्टर्स पढ्न बेलायत आएका उनले सेन्ट जोन युनिभर्सिटीबाट स्नातकोत्तर सकेर PSW भिसामा पूर्णकालीन काम सुरु गरेका थिए।
सुशान ओली, रुकुम पश्चिम: २३ अप्रिलमा लन्डनबाट सम्पर्कविहीन भए। पाँच दिनपछि उनको शव थेम्स नदी किनारमा भेटियो। कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनरत थिए।
सुजल बराल (२०), झापा: युनिभर्सिटी अफ वेस्ट लन्डनका विद्यार्थी सुजल ससेक्सको बिचिहेड समुद्र किनारको ५०० मिटर भीरबाट तल मृत भेटिए।
ओमी प्रजापति (३०), भक्तपुर: नर्दन आयरल्यान्डको बेलफास्टस्थित निवासमा सुतिरहेकै अवस्थामा मृत भेटिए।
यी घटनाहरू नेपाली समुदाय, लन्डन प्रहरी, र नेपाली दूतावासको पहलमा सार्वजनिक भएका हुन्। यस्ता धेरै घटनाहरू चाहिँ गोप्य नै रहन्छन्।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी भन्छन्:
“हामीले थाहा पाउने अधिकांश घटनाहरू साथीभाइ वा आफन्तजनले जानकारी गराएपछि मात्र हो। धेरै घटनाहरू कहिल्यै बाहिर आउँदैनन्। अहिले यस्ता घटनाहरूको गहिरो अध्ययन आवश्यक भइसकेको छ।”
उनका अनुसार विद्यार्थीहरूले आत्महत्या गर्नु वा कुलतमा फस्नुका प्रमुख कारणहरूमध्ये यिनीहरू हुन्:
नेपालमा लिएको उच्च ऋण र बेलायतमा कामको अभावले आर्थिक तनाव
छिटो पैसा कमाउने अधैर्यता र त्यो पूरा नहुनु
पढाइको चाप र व्यक्तिगत जीवन व्यवस्थापन गर्न कठिनाइ
कागजी विवाहपछि डिभोर्स र मानसिक असर
अपरिपक्व उमेर र नकारात्मक संगत
होमसिकनेस (घरको याद) र ‘प्रोपर गाइडेन्स’ नपाउनु
बेलायतमा नेपाली विद्यार्थीहरूले कागजी विवाह गरेर डिपेन्डेन्टको रुपमा भिसा लिने प्रवृत्ति बढ्दै गएको छ। तर सम्बन्ध विग्रिएपछि सम्बन्धविच्छेद, मानसिक दबाब र डिप्रेशनले गम्भीर असर पारिरहेको उपनियोग प्रमुख दुवाडी बताउँछन्।
दूतावासले २०८१/८२ सालमा मात्रै ५५४ वटा आधिकारिक वारेसनामा जारी गरेको छ, जसमा अधिकांश सम्बन्धविच्छेदसम्बन्धी रहेको जानकारी दिएको छ।
बेलायतमा अहिले नेपाली विद्यार्थीहरूलाई जागिर पाउनु झनै कठिन बन्दै गएको छ। जागिर नभएपछि नेपालतर्फ पठाउनु पर्ने खर्च, आफ्नो बसोबास, खानेबस्ने सबै व्यवस्थाको भारले विद्यार्थीहरू मानसिक रूपमा पीडित भइरहेका छन्।
दुवाडी भन्छन्,
“नेपालबाट दैनिकजसो हामीलाई जागिर खोजिदिन अनुरोध आउने फोन आउँछन्, तर हामी के गर्ने? अवस्था यति गाह्रो छ कि हामी आफैं केही गर्न सक्दैनौं।”
हाउस अफ कमन्स लाइब्रेरीको प्रतिवेदनअनुसार सन् २०२३ मा मात्र इंग्ल्याण्ड र वेल्समा ६,०६९ आत्महत्या दर्ता भए, जुन अघिल्लो वर्षको तुलनामा १६% ले वृद्धि भएको हो। यसअघि २०२२ मा ५,६४२ आत्महत्या भएका थिए।
एक अध्ययनले देखाउँछ, बेलायतमा हुने कुल आत्महत्यामध्ये १० प्रतिशत कामसँग सम्बन्धित हुन्छन्।
विश्व स्वास्थ्य संगठन (WHO) अनुसार:
हरेक वर्ष ७ लाख २७ हजारभन्दा बढी मानिस आत्महत्या गर्छन्।
१५–२९ वर्ष उमेर समूहमा मृत्युको तेस्रो प्रमुख कारण आत्महत्या हो।
विश्वव्यापी आत्महत्यामध्ये ७३% न्यून वा मध्यम आय भएका मुलुकमा हुने गर्दछ।
संगठनका अनुसार आत्महत्याको कारण सामाजिक, सांस्कृतिक, आर्थिक, मानसिक, र जैविक पक्षहरूसँग जोडिएको हुन्छ।
विद्यार्थीहरू विदेश जाँदा उनीहरूको मानसिक, भावनात्मक र सामाजिक तयारिपनाको गहिरो मूल्यांकन हुनुपर्छ। केवल शैक्षिक प्रमाणपत्र र ऋण लिने सामर्थ्यले मात्र विदेशको कठोर यथार्थ झेल्न सकिँदैन। परिवार, समाज र राज्यले बेलायतजस्ता देशमा रहेका नेपाली युवाहरूको वास्तविकता बुझेर समयमै उचित सहयोग, परामर्श र संरचनात्मक नीतिको विकास गर्न आवश्यक छ।
प्रतिक्रिया