‘गैर आवासीय नेपालीले नागरिकताका लागि संविधानले व्यवस्था गरेको एउटा प्रकार अनुसारको नागरिकता लिने हुन् । नागरिकता प्राप्त गर्नेलाई किन भिसा दिनुपर्ने ?’, शर्माले बैठकमा बोलेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गैर आवासीय नागरिकता प्राप्त गरेको व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘तिमीलाई निःशुल्क भिसा छ’ भन्न मिल्दैन ।’ गैर आवासीय नेपालीका सन्दर्भमा गरिएको थप व्यवस्थामा ‘गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एक पटकमा दुई वर्ष अवधिको बहुप्रवेश सुविधा सहितको आवासीय भिसा निशुल्क उपलब्ध गराइने’ प्रावधान राखिएको छ । गैर आवासीय नेपालीलाई संविधानको भाग २ को धारा १४ ले नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । सरकारले कानुन सुधारका क्रममा राखेको उक्त व्यवस्थालाई गैर आवासीय नेपाली संघमा आवद्धहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन् । गैर आवासीय नेपाली संघका उपाध्यक्ष हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पनि पुनः भिसा लिनुपर्ने व्यवस्था संविधानको मर्म र एनआरएनएको अपेक्षासँग मेल नखाने सामाजिक सञ्जालमा लेखेका छन् । अनलाइन खबरका अनुसार गैर आवासीय नेपालीलाई सन्दर्भमा अध्यादेशमा राखिएको व्यवस्था संशोधन हुने बिहीबारको कांग्रेस बैठकमा सहभागी नेताहरू बताउँछन् ।
प्रतिक्रिया