Updated …… मध्यपूर्वमा जारी अमेरिका–इरान तनाव झन् जटिल बन्दै गएको छ। साउदी अरेबियाले यमनको हुथी विद्रोही नियन्त्रणमा रहेको होदेइदा सहरमा व्यापक हवाई आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको कूटनीतिक संवाद अझै जारी रहेको बताएका छन् भने इरानले कुनै पनि धम्की वा दबाबअगाडि नझुक्ने स्पष्ट चेतावनी दिएको छ। उता, इजरायलले वेस्ट बैंकमा नयाँ सैन्य अभियान सुरु गर्दै केही क्षेत्रमा कर्फ्यु लागू गरेको छ।
साउदी अरेबियाले शुक्रबार राति यमनको रणनीतिक बन्दरगाह सहर होदेइदास्थित हुथी समूहका सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको छ। पछिल्ला केही दिनयता हुथीहरूले साउदी अरेबिया र लाल सागर क्षेत्रमा आफ्नो आक्रमण तीव्र बनाएपछि रियादले प्रतिआक्रमण गरेको बताइएको छ। यस घटनाले यमनको युद्ध फेरि व्यापक बन्ने संकेत देखिएको विश्लेषण गरिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिका र इरानबीच कूटनीतिक वार्ता जारी रहेको जानकारी दिएका छन्। उनले पहिले चेतावनी दिइएको ठूलो सैन्य कारबाही अन्ततः आवश्यक नपर्न पनि सक्ने संकेत दिएका छन्। तर उनले अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै, “यदि आवश्यक परे जुनसुकै क्षण निर्णायक सैन्य कदम चाल्न अमेरिका तयार छ,” भन्ने चेतावनी पनि दिएका छन्।
उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको दबाब र सैन्य धम्कीले इरानको नीति परिवर्तन नहुने स्पष्ट पारेका छन्। उनले तेहरान कुनै पनि बाह्य दबाब वा धम्कीबाट नडराउने र आफ्नो राष्ट्रिय हितको रक्षा गर्न अन्तिमसम्म प्रतिबद्ध रहने बताएका छन्। साथै उनले समस्या समाधानको आधार समान सम्मान र कूटनीतिक संवाद मात्रै हुन सक्ने धारणा व्यक्त गरेका छन्।
यसैबीच इजरायल–प्यालेस्टाइन द्वन्द्व पनि थप चर्किएको छ। शुक्रबार वेस्ट बैंकको नाब्लुस सहरको दक्षिण–पश्चिम क्षेत्रमा भएको हिंसात्मक घटनामा चार प्यालेस्टिनी र दुई इजरायली सैनिकको मृत्यु भएपछि इजरायली सेनाले त्यस क्षेत्रमा व्यापक सुरक्षा अभियान सुरु गरेको छ।
इजरायली सेनाले उक्त कारबाहीलाई “आतंकवादविरुद्धको विशेष अभियान” को संज्ञा दिएको छ। घटनापछि वेस्ट बैंकका केही संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गरिएको छ भने ठूलो संख्यामा सैनिक परिचालन गरिएको छ। सुरक्षा बलहरूले घर–घरमा खोजतलास, सवारीसाधन जाँच र आवतजावतमा कडा निगरानी सुरु गरेका छन्।
***
मध्यपूर्वमा जारी तनावले नयाँ मोड लिएको छ। इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण गरेको दाबी गरेका छन्। हुथीहरूको दाबीअनुसार उक्त आक्रमणपछि जिजानका केही क्षेत्रमा आगलागी भएको छ। यद्यपि साउदी सरकारले तत्काल त्यसबारे आधिकारिक पुष्टि गरेको छैन।
यो आक्रमण साउदी अरेबियाले शुक्रबार यमनको हुथी नियन्त्रणमा रहेको होदेइदा बन्दरगाह तथा कामारान टापुस्थित सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेलगत्तै भएको हो। हुथीहरूले ती आक्रमणलाई “खतरनाक उक्साहट” भन्दै कडा प्रतिशोध लिने चेतावनी दिएका थिए।
हुथीहरूको राजनीतिक तथा सैन्य सञ्चार माध्यम अन्सारुल्लाहले टेलिग्राममार्फत जिजानमा मिसाइल प्रहार गरिएको जनाएको छ। यसअघि साउदी नागरिक सुरक्षा निकायले जिजान क्षेत्रमा आपतकालीन सतर्कता जारी गरेको थियो। केही समयपछि चेतावनी हटाइए पनि सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता कायम राखिएको छ।
विश्लेषकहरूका अनुसार केही वर्षयता तुलनात्मक रूपमा शान्त रहेको साउदी–हुथी द्वन्द्व फेरि पूर्ण युद्धतर्फ फर्किने संकेत देखिन थालेको छ।
यसबीच पछिल्ला दुई सातादेखि निरन्तर इरानमाथि हवाई आक्रमण गर्दै आएको अमेरिकी सेनाले शनिबार नयाँ आक्रमण सार्वजनिक गरेन। लगातार १३ रातसम्म इरानमा सैन्य कारबाही गरेपछि पहिलो पटक केही घण्टाको विराम देखिएको हो। त्यसअघि इरानले पनि मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य अड्डामाथि ड्रोन तथा मिसाइल आक्रमणहरू गर्दै आएको थियो।
यद्यपि अमेरिकी प्रशासनले सैन्य दबाब भने कायम रहने संकेत दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै इरानसँग वार्ता जारी रहेको बताए। उनले इरान अहिलेसम्मकै सबैभन्दा गम्भीर रूपमा वार्तामा सहभागी भएको दाबी गरे पनि अन्तिम सम्झौता हुनेमा अझै निश्चित नरहेको बताए।
ट्रम्पले दुई विकल्प प्रस्तुत गर्दै भने, “एउटा विकल्प सैन्य अभियानलाई अझ तीव्र बनाउने हो, जसले उनीहरूको बाँकी सैन्य क्षमता पनि समाप्त पार्न सक्छ। अर्को विकल्प बुद्धिमानीपूर्वक सम्झौता गरेर युद्ध अन्त्य गर्नु हो।”
साथै उनले अमेरिकी सेना कुनै पनि सम्भावित कारबाहीका लागि पूर्ण तयारी अवस्थामा रहेको चेतावनी पनि दिएका छन्।
अमेरिकी सेनाले ओमानको खाडीमा इरानी बन्दरगाहतर्फ जाँदै गरेको एउटा व्यावसायिक तेल ट्यांकरलाई रोकेर निष्क्रिय बनाएको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार जहाजलाई पटक–पटक चेतावनी दिँदा पनि चालकदलले नाकाबन्दी उल्लंघन गर्ने प्रयास जारी राखेपछि जहाजको इन्जिन कक्षमा लक्षित गोली प्रहार गरिएको थियो। त्यसपछि जहाज आफ्नो गन्तव्यतर्फ अघि बढ्न नसक्ने अवस्थामा पुगेको अमेरिकी पक्षको दाबी छ।
यसैबीच, ओमानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेको छ। दुवै पक्षबीच विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरूमध्यको अवस्थाबारे वार्ता भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ। ओमानले हर्मुज जलडमरूमध्यको दक्षिणी किनार नियन्त्रण गर्ने भएकाले उसलाई यस संकटमा महत्वपूर्ण मध्यस्थकर्ताको रूपमा हेरिएको छ।
साउदी–हुथी तनाव र हर्मुज संकटका कारण यस साताको सुरुवातमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको थियो।
तर शुक्रबार दुई चिनियाँ चार्टरका सुपर ट्यांकरहरू बाब–अल–मन्देब जलडमरूमध्य सुरक्षित रूपमा पार गरेपछि बजारमा केही राहत देखियो र ब्रेन्ट क्रुडको मूल्य फेरि घटेर करिब ९६ अमेरिकी डलर आसपास पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आगामी साता बेलायतको लन्डनमा अमेरिका र बेलायतको संयुक्त सम्मेलन हुने तयारी छ, जहाँ हर्मुज जलडमरूमध्यको सुरक्षा, समुद्री व्यापार, ऊर्जा आपूर्ति र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय छलफल हुने बताइएको छ। सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथ तथा अमेरिकी संयुक्त सेनाका अध्यक्ष ड्यान केन सहभागी हुने अपेक्षा गरिएको छ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आगामी मंगलबार वाशिङ्टन पुगेर राष्ट्रपति ट्रम्पसँग भेट गर्ने कार्यक्रम पनि तय भएको छ। विश्लेषकहरूका अनुसार यो भेटले मध्यपूर्वको बदलिँदो सुरक्षा समीकरणमा महत्वपूर्ण प्रभाव पार्न सक्छ।
विश्लेषकहरूका अनुसार हुथीहरूले साउदी अरेबियालाई प्रत्यक्ष निशाना बनाउन थालेपछि मध्यपूर्वको युद्ध अब केवल इरान–अमेरिका वा इरान–इजरायलमा सीमित नरही यमन, साउदी अरेबिया, लाल सागर र हर्मुज जलडमरूमध्यसम्म फैलिएको छ। यदि आगामी दिनमा कूटनीतिक प्रयास सफल हुन सकेन भने विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय समुद्री व्यापार तथा तेल बजारमा अझ ठूलो अस्थिरता देखिन सक्ने चेतावनी दिइएको छ।
प्रतिक्रिया