नेपालको पहाड भत्किए जस्तै, आज नेपाली भाषा र साहित्य पनि भित्रभित्रै भत्किरहेको छ। बाढी-पहिरो देखिन्छ, साहित्यको पहिरो देखिँदैन। तर विनाश उस्तै छ। कहिलेकाहीँ लाग्छ, यो संयोग होइन, प्रयोग हो। नेपाली भाषा र साहित्यलाई सक्नका लागि एउटा लामो, सुनियोजित षड्यन्त्र चलिरहेको छ, जसमा विदेशी दलाल र देशी व्यापारीहरूको गहिरो साँठगाँठ छ।
शब्दकोशबाट सुरु भएको अतिक्रमण
पहिलो प्रहार शब्दकोशमाथि भयो। नेपालीका मौलिक, ठेट, माटो सुहाउँदा शब्दहरूलाई ‘अप्रचलित’ भनेर निकालियो र अनेक आगन्तुक, अनावश्यक विदेशी शब्दहरूलाई ‘चलनचल्ती’ भनेर घुसाइयो। यो भाषा समृद्ध बनाउन होइन, भाषा बिगार्न थियो। जब आफ्नै शब्द हराउँछ, आफ्नै चिन्तन हराउँछ। मौलिकता हराउँछ। संस्कृति हराउँछ। भाषा सकिएपछि साहित्य आफैँ सकिन्छ। पछिल्लो समय इम्बोष्ड नम्बरको र सरकारी कामकाजमा अंग्रेजी भाषाको राजनीतिले देशमा भाषासाहित्यको दयनिय स्थिति प्रष्ट हुन्छ।
प्रज्ञा-प्रतिष्ठान : प्राज्ञको होइन, पार्टीका कार्यकर्ताको अखडा
त्यसपछि पालो आयो नेपाल प्रज्ञा-प्रतिष्ठानको। प्रज्ञा चाहिने ठाउँमा राजनीतिक टीका चाहिन थाल्यो। कविता लेख्न नजान्ने, आख्यान नबुझ्ने, गजल नचिन्ने, छन्द नचिन्ने मान्छेहरू प्राज्ञ बन्न थाले — दलको सिफारिसमा। सरकारी बजेटमा प्राइभेट प्रकाशकबाट कृति निकाल्नेदेखि प्रज्ञाको भवनमा भाषा साहित्य बाहिरको कार्यक्रम गर्न दिएर प्रज्ञाको व्यापार गरिरहेको छ।
पालैपालो उनीहरूले नेपाली साहित्यका विधा-प्रविधिमाथि फोहोर हाल्न थाले। विधाको शास्त्रीय मान्यता भत्काएर ‘जे मन लाग्यो त्यही विधा’ भन्न थाले। आफ्ना आसेपासेलाई पद बाँडे, पुरस्कार बाँडे, अनि त्यही पुरस्कारको आडमा आफूलाई साहित्यकार घोषित गरे।
परिणाम? जनमानस अन्योलमा पर्यो। गजल के हो, मुक्तक के हो, गीत के हो, कविता के हो — छुट्याउनै नसक्ने भयो। धेरै सच्चा साधकहरूले ‘यो फोहोरी खेलमा लाग्नुभन्दा नलेख्नु नै बेस’ भनेर कलमै थन्क्याए।
गजलको बहरमाथिको नियोजित विवाद
यसको सबैभन्दा ठूलो उदाहरण गजल हो। बहरमा लेखिने, गेय, अत्यन्तै अनुशासित विधा गजललाई ‘जसले जे लेखे पनि हुन्छ’ भन्ने अराजकतामा पुर्याइयो। बहरको कुरा गर्नेहरूलाई ‘पुरातनवादी’ भनेर गाली गरियो। किन? किनभने अनुशासन भत्काउन सक्यो भने साहित्यको स्तर आफै खस्छ। स्तर खसेपछि व्यापार गर्न सजिलो हुन्छ। सबै धार समेट्ने, परम्पराको सम्मान गर्ने आदि नाममा आफ्नै अगुवाईमा केही वर्ष अघि गजलविद् हरूलाई समेटेर यौटा निर्णय गरेर प्रज्ञाले गरेको घोषणा पत्र च्यातेर / अबलम्बन नगरेर गजलको बलात्कार गरिरहेको पाइन्छ। आखिर किन मान्दैन प्रज्ञाले आफैँले गरेको घोषणा पत्र? कुरा प्रष्ट छ।
साहित्यमा राजनीतिको घुसपैठ र साहित्यको व्यापार
विविध राजनीतिक दलका घोषणापत्रसँग साहित्यलाई जोडेर साहित्यमा राजनीति छिराइयो। साहित्य प्रतिपक्ष हुनुपर्नेमा, सत्ता-पक्षको झोले भयो।
अझ डरलाग्दो कुरा त केही व्यक्तिहरूले कुनै विदेशी संस्था र एनजीओको पैसा, पुरस्कार र पावरको लोभमा नेपाली साहित्यलाई बेच्न थाले। सरकारी पदको दुरुपयोग गरेर ‘भाषा-साहित्य व्यापारी’ हरूको गुट फैलिँदै गयो।
त्यही गुटले नयाँ-नयाँ गलत र फोहोरी नाम आविष्कार गर्यो — जेन्जी साहित्य, डायस्पोरा साहित्य, आप्रवासी साहित्य, दलित साहित्य, अपाङ्ग साहित्य, स्वतन्त्र साहित्य, स्वतन्त्र गजल…। साहित्यलाई टुक्रा-टुक्रा पारेर बेच्ने खेल। हामी भने दैनिक भेदभावको अन्तय गरौँ भन्ने अभियानमा छौँ तर प्रज्ञाका राजनैतिक प्राज्ञहरूले अहिले दलित साहित्य आदि नामको अभियान चलाईरहेको छ। यो के हो र किन हो प्रष्ट छैन र? यति बेला पनि चुप बस्ने कस्ता सर्जक हुन्?
साहित्य भनेको साहित्य हो। नेपाली साहित्य भनेको नेपाली भाषामा लेखिने साहित्य हो। त्यसलाई डायस्पोरा र आप्रवासीको बिल्ला भिराएर छुट्याउनु भनेको नेपाली भाषाको अखण्डतामाथि नै प्रहार गर्नु हो। नेपालका विविध विश्वविद्यालयमा रहेका प्राध्यपकहरूले नै यस्ता घृणित कार्य गरेर, विभिन्न पाठ्यक्रममा समेत गलत ज्ञान छापेर मानक भाषाको व्यापार गरिरहेको देखिन्छ। किन मौन छ नेपाल सरकार? पाठ्यक्रम किन सम्बन्धित विज्ञको सुझाव लिएर छापिन्न? के सरकार पनि देशको भाषा साहित्य विरुद्ध हो? दुख, पीडा र अनुभूति सबैको साझा हो, त्यसलाई जात र भूगोलमा बाँडेर पुरस्कारको व्यापार गर्नु साहित्य होइन, दलाली हो।
अन्तमा : के हो नेपाली साहित्य?
आखिर के हो नेपाली साहित्य? भानुभक्त, मोतीराम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ आदिले लेखेको त्यो माटोको सुगन्ध हो।
किन बेचिँदैछ नेपाली भाषा-साहित्य? किनभने यसलाई बेच्दा पद मिल्छ, पैसा मिल्छ, विदेशको भिसा मिल्छ। अरु कुनै देशमा यस्तो भएको प्रमाण छ?
अनि किन सरकार यसप्रति उदासीन छ? किनभने सरकारलाई लाग्छ, भाषा-साहित्य जोगाउनु भन्दा कुर्सी जोगाउनु ठूलो हो। भाषा मरे पनि मतपत्र त रहन्छ भन्ने भ्रम छ। हामी युवा हौँ हामीले जे गरे पनि हुन्छ भन्ने मनस्थितिबाट सरकार बाहिर निस्कनुपर्छ। नेपालको मौतिक भाषा साहित्य, कला र संस्कृतिमा दिनप्रतिदिन भइरहेको विदेशी हस्तक्षेप र त्यसकालागि प्रयोग गरिएका नेपाली सर्जकलाई चिन्न र हटाउन सक्नुपर्छ। मोतीरामको सालिक अगाडि बसेर गजल भन्दै चुट्किला सुनाएर मोतीको अपमान गरिरहने अधिकार राजनैतिक प्राज्ञलाई कसले दियो?
भाषा मरे देश मर्छ। साहित्य मरे संस्कृति मर्छ।
आज फेरि एउटा पहिरो गएको छ — शब्दकोशमा, प्रज्ञा-प्रतिष्ठानमा, गजलमा।
यो पहिरो रोक्न अब डोजरले होइन, कलमले जोत्नुपर्छ। के यो देशमा देशप्रेमी सर्जक जन्मिएका छैनन्?

प्रतिक्रिया