फेयरफिल्ड, ओहायो, अमेरिका। अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपालीभाषी भुटानी समुदायको सक्रिय संस्था भुट्निस कम्युनिटी अफ सिन्सिनाटी (BCC) द्वारा आयोजित ‘दसैँ–तिहार साँझ २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, कला, साहित्य, सङ्गीत, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले अक्टोबर ३१ मा आयोजित कार्यक्रममा गीत, सङ्गीत, नृत्य र भावनात्मक गीति नाटकले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नुका साथै भावविह्वलसमेत बनाएको थियो।
फेयरफिल्डस्थित Fairfield Community Arts Center मा सम्पन्न कार्यक्रममा नेपालीभाषी भुटानी समुदायका विभिन्न पुस्ताका व्यक्तित्व, कलाकार, सामाजिक अभियन्ता, व्यवसायी, धर्मगुरु तथा स्थानीय अमेरिकी प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दोस्रो वर्षमा प्रवेश गरेको यस सांस्कृतिक उत्सवले नेपाली मौलिकता, सामुदायिक एकता र बहुसांस्कृतिक सहकार्यको सन्देश दिएको आयोजकले जनाएको छ।
BCC का अध्यक्ष पुष्प लुइटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा फेयरफिल्ड सहरका मेयर टिम मेयर्स प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सम्बोधनका क्रममा मेयर मेयर्सले नेपालीभाषी भुटानी समुदायको मेहनत, सांस्कृतिक विविधता, सामाजिक सक्रियता र स्थानीय विकासमा पुर्याएको योगदानको प्रशंसा गरे।
उनले फेयरफिल्डको सामाजिक तथा सांस्कृतिक विविधतामा भुटानी समुदायले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै समुदायको सक्रियताप्रति खुसी व्यक्त गरे। सोही अवसरमा मेयर मेयर्सले BCC को सामुदायिक सेवा तथा स्थानीय समाजप्रतिको योगदानको कदर गर्दै संस्थाका अध्यक्ष लुइटेललाई प्रशंसापत्रसमेत हस्तान्तरण गरेका थिए।
कार्यक्रममा चलचित्र निर्देशक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) केन्टकीका सल्लाहकार सुमन दाहाल, INAS ओहायोका अध्यक्ष रुपेश उप्रेती, नेपालीभाषी चर्चहरूको संस्था NSCC का अध्यक्ष पास्टर विनोद थुलुङ, हिन्दु रिसोर्स सेन्टरका अध्यक्ष काशी घिमिरे, नेपाली भाषा तथा कला केन्द्रका अध्यक्ष तारा दाहाल, LCOB का अध्यक्ष खेम रिजाल तथा सिनसिनाटी बौद्ध समाजका निवर्तमान अध्यक्ष लाक्पा तामाङको विशेष उपस्थिति थियो।
त्यसैगरी, भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियानसँग आबद्ध भानु खनाल र सिर्जना तिम्सिनासहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, इन्जिनियर, घरजग्गा व्यवसायी, उद्यमी र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सबैभन्दा आकर्षक र भावनात्मक प्रस्तुति रुपेश उप्रेतीको लेखन तथा निर्देशनमा तयार पारिएको विशेष गीति नाटक बनेको थियो।
नेपालीभाषी भुटानी समुदायको इतिहास, विस्थापन, शरणार्थी जीवनका कठिनाइ, विगतका पीडा, छुटेका सम्बन्ध, नयाँ देशमा पुनर्स्थापना र पहिचान संरक्षणको सङ्घर्षलाई समेटेर तयार पारिएको नाटकले दर्शकको मन छोएको थियो।
नेपाल, भुटान र अमेरिकासँग जोडिएका समुदायका अनुभवलाई गीत, सङ्गीत, अभिनय र संवादमार्फत प्रस्तुत गर्दा सभागृहको वातावरण भावुक बनेको थियो। कतिपय दर्शकले आफ्ना पुराना दिन सम्झँदै आँसु पुछेका थिए।
उक्त नाटकले मनोरञ्जन मात्र नभई एक समुदायको ऐतिहासिक पीडा, सङ्घर्ष, आत्मसम्मान र नयाँ पुस्ताका लागि सांस्कृतिक पहिचान जोगाउनुपर्ने सन्देशसमेत प्रस्तुत गरेको थियो।
नाटकको पृष्ठभूमि सङ्गीत, पार्श्वस्वर तथा संवादमा आवाज थापा, संवाद थापा र शशिविक्रम थापाको योगदान रहेको थियो।
सांस्कृतिक कार्यक्रममा नेपाली लोकगीत, आधुनिक गीत, दसैँ–तिहारका मौलिक भाका तथा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो।
गायक तथा कलाकार प्रकाश घिमिरे, किशोर सिवाकोटी, राम गुरुङ, मोहन तिवारी, सुरज गुरुङ र निश्चल अधिकारीले आफ्ना साङ्गीतिक प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिएका थिए।
त्यसैगरी, गायिकाहरू सारा दुवाडी, नैना आचार्य, पिंकी शर्मा, निरु राई र सम्झना ओलीले पनि आकर्षक गीत प्रस्तुत गरेका थिए।
युवा गायक तथा सङ्गीतकार दिगन्त गुरुङ र दीक्षान्त गुरुङले गायनसँगै गिटारवादन प्रस्तुत गरेका थिए। अडी गुरुङले गिटार, इन्द्र लामिछानेले तबला, सर्वजित राईले बाँसुरी तथा डेभिड ढकालले किबोर्ड बजाएर साङ्गीतिक प्रस्तुतिलाई थप प्रभावशाली बनाएका थिए।
ग्लोबल डान्स स्टुडियोका कलाकारहरूले प्रस्तुत गरेको दसैँ–तिहार विशेष नृत्य, मारुनी तथा नेपाली लोकनृत्यले दर्शकको प्रशंसा बटुलेको थियो। Sister’s Infinite Vibes र Nav Dance Institute का कलाकारहरूको प्रस्तुतिले पनि कार्यक्रममा थप रौनक थपेको थियो।
बालबालिका, युवा तथा अग्रज पुस्ताका कलाकारहरूको सहभागिताले कार्यक्रमलाई सांस्कृतिक मिलनको उत्सव बनाएको थियो।
अनुभवी सञ्चारकर्मी नरेश गौतमले कार्यक्रमको प्रभावकारी सञ्चालन गरेका थिए। कार्यक्रमको सुरुवातमा खडा गौतमले पूर्वतयार गरिएको भिडियोमार्फत स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
परम्परागत सांस्कृतिक प्रस्तुतिसँगै आधुनिक डिजिटल प्रविधिको प्रयोगले कार्यक्रमको व्यवस्थापन र प्रस्तुति शैलीलाई आकर्षक बनाएको सहभागीहरूले बताएका थिए।
चलचित्र निर्देशक सुमन दाहालले कार्यक्रमको प्रशंसा गर्दै लामो समयपछि यति जीवन्त र स्तरीय सांस्कृतिक कार्यक्रम हेर्न पाएको प्रतिक्रिया व्यक्त गरेका थिए। उनले कार्यक्रमका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा समेत साझा गरेका थिए।
कार्यक्रमको सञ्चार तथा प्रचारप्रसारमा मिडिया पार्टनर NKBrothers ले सहयोग पुर्याएको थियो।
कार्यक्रमको समापनमा BCC का अध्यक्ष पुष्प लुइटेलले कलाकार, अतिथि, स्वयंसेवक, प्रायोजक, सहयोगी संस्था तथा सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गरे।
उनले अग्रज पुस्ताले अनेकौँ कठिनाइ पार गर्दै जोगाएको नेपाली भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु संस्थाको महत्त्वपूर्ण उद्देश्य रहेको बताए।
अमेरिकामै जन्मिएका वा हुर्किरहेका नेपालीभाषी बालबालिका तथा युवाहरूलाई आफ्नो भाषा, कला, सङ्गीत र सांस्कृतिक पहिचानसँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।
अध्यक्ष लुइटेलले नेपालीभाषी भुटानी समुदायले आफ्नो मौलिक पहिचान जोगाउँदै अमेरिकी समाजको विकास, विविधता र सामाजिक सद्भावमा योगदान पुर्याइरहेको उल्लेख गरे।
समग्रमा, फेयरफिल्डमा सम्पन्न ‘दसैँ–तिहार साँझ २०२६’ नेपालीभाषी भुटानी समुदायको सांस्कृतिक उत्सव मात्र नभई इतिहास, सङ्घर्ष, एकता, पहिचान र नयाँ पुस्ताको भविष्य जोड्ने महत्त्वपूर्ण अवसर बनेको छ।
विदेशी भूमिमा रहेर पनि नेपाली भाषा, कला, गीत, सङ्गीत र संस्कृतिप्रतिको माया जोगाउँदै आएको समुदायले यस आयोजनामार्फत आफ्नो मौलिक पहिचान र सांस्कृतिक विरासतलाई अझ जीवन्त बनाएको छ।

प्रतिक्रिया