वाङ्मय विमर्श तथा साहित्य संवादको पहलमा प्रकाशित उक्त पुस्तक कात्तिक २२ गते आइतबार जुममार्फत आयोजित विशेष साहित्यिक समारोहमा सार्वजनिक गरिएको हो। अमेरिकाको पूर्वीय समयअनुसार बिहान ९ बजे आयोजित कार्यक्रममा नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकार, समालोचक, प्राध्यापक तथा नेपाली भाषा–साहित्यप्रेमीहरूको सहभागिता थियो।
२०८३ भदौ १० गते भोटेकोशी क्षेत्रमा भएको प्राकृतिक विपत्तिले निम्त्याएको जनधनको क्षति, मानवीय संवेदना, दुःख, पीडा र बिछोडलाई साहित्यिक अभिव्यक्तिमार्फत अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको आयोजकले जनाएको छ।
वरिष्ठ समालोचक प्राध्यापक डा. खेमनाथ दाहालको प्रमुख आतिथ्य तथा वाङ्मय विमर्शका सुरेन उप्रेतीको अध्यक्षतामा सम्पन्न समारोहमा त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. ध्रुव कार्की, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष होमनाथ सुवेदी र केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी अध्यक्ष तथा देवकोटा परिवारकी सदस्य मञ्जिला अनिलले स्वागत मन्तव्य राख्दै महाकवि देवकोटाको साहित्यिक योगदानको चर्चा गरिन्। उनले प्राकृतिक विपत्तिबाट उत्पन्न पीडा र मानवीय संवेदनालाई साहित्यका माध्यमबाट सङ्ग्रहित गरी भावी पुस्ताका लागि सुरक्षित राख्ने प्रयास प्रशंसनीय र ऐतिहासिक भएको बताइन्। सो अवसरमा कमला रिसालले देवकोटाको गीत प्रस्तुत गरेकी थिइन्।
लोकार्पित कृतिमाथि साहित्यकार तथा समालोचक डा. गीता त्रिपाठी र डा. रमेश शुभेच्छुले समीक्षात्मक टिप्पणी गरेका थिए। उनीहरूले पुस्तकमा समावेश रचनाहरूका विषयवस्तु, भावनात्मक गहिराइ, लेखनशैली तथा साहित्यिक विशेषतामाथि प्रकाश पार्दै छोटो अवधिमा तयार भएको कृतिले प्राकृतिक विपत्तिका विविध मानवीय पक्षलाई समेट्न सफल भएको धारणा राखे।
प्रमुख अतिथि प्राध्यापक डा. खेमनाथ दाहालले ‘हिमालको आवाज’ लाई एउटा महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा चित्रण गरे। उनले विपत्तिको पीडालाई साहित्यिक अभिलेखका रूपमा सुरक्षित राख्नु आफैँमा उल्लेखनीय कार्य भएको उल्लेख गर्दै भविष्यमा यस कृतिका रचनामाथि थप अध्ययन, अनुसन्धान र समालोचना हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्राध्यापक मोहन सिटौला, प्राध्यापक डा. हेमनाथ पौडेल, प्राध्यापक डा. ध्रुव कार्की, होमनाथ सुवेदी, लालगोपाल सुवेदी, डा. मुकुन्द पथिक, डा. छत्रपति दाहाललगायतले कृतिको महत्त्व र साहित्यिक अभियानबारे धारणा राखेका थिए। पुस्तकको भाषा सम्पादनमा योगदान पुर्याएका नन्दु उप्रेतीको भूमिकाको पनि चर्चा गरिएको थियो।
साङ्गीतिक प्रस्तुतिअन्तर्गत गायक नरहरि प्रेमीले पुस्तकमा प्रकाशित गीतलाई देउसीको लयमा प्रस्तुत गरेका थिए। साहित्यकार तथा सञ्चारकर्मी विदुषी भगवती बस्नेतले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
समारोहमा प्राध्यापक डा. जीवलाल बस्याल, पर्शुराम भण्डारी, प्रह्लाद पोखरेल, वासुदेव अधिकारी, निशा केसी, गंगा अभिलाषी, मस्कोबाट गोविन्दप्रसाद गौतम, तीर्थ अधिकारी, अनेसासका केन्द्रीय महासचिव राजु सिटौला, कृष्ण बाहुसे, पुण्य मैनाली, गोमविक्रम पाल्पा, नरोत्तम श्रेष्ठ, डा. भरतमान श्रेष्ठ, डा. ऋषि बस्ताकोटी, डम्बर पहाडी, शरद परासर मरहट्टा, कमला उप्रेती, कुमारप्रसाद कोइराला, देवेन्द्र पराजुली, लक्ष्मी श्रेष्ठ, तारा उप्रेती, सहदेव कोइराला र राजेन्द्र श्रेष्ठलगायतका स्रष्टा तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो।
‘हिमालको आवाज’ अब अंग्रेजी भाषामा पनि प्रकाशन गर्ने तयारी गरिएको छ। कार्यक्रमका अध्यक्ष सुरेन उप्रेतीले पुस्तक निर्माणको पृष्ठभूमिबारे जानकारी गराउँदै यसलाई अन्तर्राष्ट्रिय पाठकसम्म पुर्याउने उद्देश्यले अंग्रेजी संस्करण प्रकाशनको योजना अघि सारिएको बताए। त्यसका लागि त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभाग र नेपाल प्रज्ञा–प्रतिष्ठानसँग समन्वय गर्ने तयारी रहेको उनले जानकारी दिए।
पुस्तकलाई विश्वभरका पाठकसम्म सहज रूपमा पुर्याउन अनलाइन साहित्यिक पत्रिका साहित्यपोस्टसँग सहकार्य गर्ने योजना पनि सार्वजनिक गरिएको छ। साहित्यपोस्टको डिजिटल माध्यमबाट पुस्तक पढ्न सकिने व्यवस्था मिलाउनुका साथै पुस्तकका सर्जकहरूलाई एक वर्षसम्म निःशुल्क सुविधा उपलब्ध गराउने समझदारी भएको उप्रेतीले बताए।
उनले साहित्यपोस्ट परिवार तथा प्रधान सम्पादक अश्विनी कोइरालाप्रति आभार व्यक्त गर्दै पुस्तक प्रकाशन, सम्पादन र लोकार्पणमा योगदान पुर्याउने सबै साहित्यकार, सहयोगी र सहभागीलाई धन्यवाद दिए।
प्राकृतिक विपत्तिले मानवीय जीवनमा छोडेका घाउ, सम्झना र संवेदनालाई साहित्यका माध्यमबाट जीवित राख्ने प्रयासका रूपमा प्रकाशित ‘हिमालको आवाज’ केवल साहित्यिक रचनाहरूको सङ्ग्रह मात्र नभई एउटा दुःखद घटनाको मानवीय अनुभूति र सामूहिक स्मृति अभिलेखबद्ध गर्ने कृतिका रूपमा प्रस्तुत भएको छ।

प्रतिक्रिया