सानफ्रान्सिस्कोमा पत्रकार अनिल पाण्डेमाथि धम्कीप्रति नेजाको आपत्ति
सानफ्रान्सिस्को, अगष्ट १६ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो आजीवन सदस्य अनिल पाण्डेमाथि भएको धम्की र गालीगलौज घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित बे एरियामा बसोबास गर्दै आएका पाण्डेमाथि विभिन्न निराधार आरोप लगाइ सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रयास मात्र नभई ज्यानको धम्की समेत दिइएको तथ्य सार्वजनिक भएको छ।
मदरल्याण्ड नेपाल र सानफ्रान्सिस्को नजिकै रिचमण्डमा स्थापित मुक्तिनाथ धामका अध्यक्षसमेत रहेका पाण्डेको तस्वीर टाँसिएको ब्यानरमा आपत्तिजनक शब्दहरू लेखिएको र पर्चा वितरण गरेर अपमानजनक प्रचार गरिएको उहाँले बताउनुभएको छ। गत जुलाई २६ देखि २८ सम्म मुक्तिनाथ मन्दिर परिसरमा आयोजित ३ दिने श्रीमद् भागवत कथा वाचनकै अवधिमा त्यस्तो दुस्साहसपूर्ण कार्य भएको उहाँको आरोप छ। धार्मिक गतिविधि र मदरल्याण्ड नेपालको सक्रियता मन नपर्ने समूहले योजनाबद्ध रूपमा यस्तो कार्य गरेको उहाँको भनाइ छ।
पाण्डेले आफूलाई ज्यानमार्ने धम्की दिइएको र व्यक्तिगत तथा धार्मिक आस्थामाथि अपमानजनक आक्रमण भएको भन्दै गहिरो पीडा प्रकट गर्नुभएको छ। साथै मानवअधिकारकर्मी, लोकतन्त्रप्रेमी तथा धार्मिक स्वतन्त्रताको पक्षमा उभिने समुदायसँग आफ्नो र धार्मिक आस्थाको सुरक्षाका लागि सहयोग माग्नुभएको छ।
यस घटनाप्रति प्रतिक्रिया दिँदै नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले विज्ञप्ति जारी गर्दै पत्रकार पाण्डेमाथि गरिएको धम्की, गालीगलौज र चरित्रहत्या प्रयासको कडा भर्त्सना गरेको छ। विज्ञप्तिमा महासचिव ईश्वरी न्यौपानेले सम्बन्धित निकायलाई गम्भीरताका साथ यस प्रकरणलाई लिएर पाण्डेको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति गर्न आग्रह गर्नुभएको छ।

सानफ्रान्सिस्कोमा पत्रकार अनिल पाण्डेमाथि धम्की, प्रेस जगत्को ध्यानाकर्षण
क्यालिफोर्निया, अगष्ट १३ । क्यालिफोर्नियाको सानफ्रान्सिस्को बे एरियामा बस्दै आएका मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा मुक्तिनाथ धाम मन्दिरका अध्यक्ष अनिल पाण्डेमाथि एक अराजक समूहले ज्यानमार्ने धम्की दिएको घटना सार्वजनिक भएको छ। पाण्डेले विज्ञप्ति जारी गर्दै आफू र आफ्नो धार्मिक आस्थामाथि भएको अपमान र आक्रमणबारे नेपाली प्रेस जगत्को ध्यानाकर्षण गराउनुभएको छ।
दुई दशकअघि मदरल्याण्ड नेपाल (www.motherlandnepal.org) नामक संस्था दर्ता गरी संचालन गर्दै आएका पाण्डे समाजसेवामा संलग्न रहँदै आएका छन्। स्थानीय नेपाली समुदायको विश्वासका कारण उहाँलाई मुक्तिनाथ धाम मन्दिरको अध्यक्षसमेत जिम्मेवारी दिइएको थियो। तर मंगलबारका दिन एक अराजक समूहले व्यक्तिगत रूपमा गालीगलौज मात्र नगरी उहाँको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत पर्चा प्रकाशित गरेको, साथै मन्दिरमा टाँगिएको मदरल्याण्ड नेपालको ब्यानरमा आपत्तिजनक शब्द प्रयोग गरेको उहाँले बताउनुभएको छ।
गत जुलाई २६ देखि २८ सम्म मदरल्याण्ड नेपालले मुक्तिनाथ मन्दिर परिसरमा आयोजना गरेको ३ दिने श्रीमद् भागवत कथा वाचनकै क्रममा त्यस्तो दुस्साहसपूर्ण गतिविधि गरिएको थियो। धार्मिक गतिविधि र मदरल्याण्ड नेपालको सक्रियता मन नपर्ने समूहले नियोजित ढंगले आक्रमण गरेको भन्दै पाण्डेले गहिरो पीडा प्रकट गर्नुभएको छ।
“माथि गरिएको यो आक्रमण केवल व्यक्तिगत हैन, धार्मिक आस्था र संस्थागत मर्यादामाथिको प्रहार हो,” विज्ञप्तिमा उल्लेख छ। पाण्डेले आफ्नो व्यक्तिगत र धार्मिक सुरक्षाका लागि मानवअधिकारकर्मी, लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने समुदाय र धार्मिक स्वतन्त्रताको पक्षपाती सबैसँग सहयोगको अपील गर्नुभएको छ।
यस घटनाले बे एरियामा रहेका नेपाली समुदायबीच पनि ठूलो चासो र बहस ल्याएको छ। धार्मिक आस्था, व्यक्तिगत प्रतिष्ठा र सामाजिक कार्यमा संलग्न व्यक्तिमाथि हुने यस किसिमका धम्की र गालीगलौज कार्यले समुदायमा नकारात्मक असर पार्ने भन्दै तत्कालै दोषी समूहलाई कारबाही गर्नुपर्ने माग समेत उठ्न थालेको छ।
प्रेस विज्ञप्ति
क्यालिफोर्निया, १३ अगस्ट २०२५
व्यक्तिगत सुरक्षा र धार्मिक आस्थामाथि आक्रमण
म अनिल पाण्डे एक अराजक समूहबाट ज्यानको धम्की दिने र मेरो धार्मिक आस्थामाथि समेत आक्रमण गर्ने घृणित कार्य भएकोले यो विज्ञप्तिका साथ नेपाली प्रेस जगत्को ध्यानाकर्षण गर्न चाहन्छु ।
क्यालिफोर्नियाको बे एरियामा व्यवसाय चलाई श्रम गर्दै गुजारा चलाउँदै आएको म मातृभूमि नेपाल र कर्मभूमि अमेरिकाप्रति समर्पित छु । समाजसेवामा रुचि भएका कारण विगत दुई दशक अघि मदरल्याण्ड नेपाल (www.motherlandnepal.org)
नामक संस्था दर्ता गरी विधिवत ढंगले त्यसको सञ्चालन तथा व्यवस्थापन पनि गर्दैआएको छु । यसबीच स्थानीय नेपाली समुदायले मलाई विश्वास गरेर मुक्तिनाथ धाम मन्दिरको अध्यक्ष पनि बनाउनुभएको छ । यस अराजक संस्थाले मंगलबारका दिन मदरल्याण्ड नेपाल र ममाथि एकसाथ आक्रमण गरेको छ । त्यस समूहले ममाथि व्यक्तिगत गालीगलोज गरी सामाजिक सञ्जालमा पर्चा समेत प्रकाशित गरेको जानकारी गराउन चाहन्छु ।
अराजक समूहले मुक्तिनाथ मन्दिरमा टाँगिएको मेरो संस्थाको व्यानरमा मनपरी गर्नुका साथै मेरो संस्था र म विरुद्ध सामाजिक सञ्जालमा गालीगलौग गरी मेरो धार्मिक आस्थामाथि चोट पुर याएका कारण म मर्माहत भएको छु ।
मुक्तिनाथ मन्दिर परिसरमा motherland nepal ले ३ दिने श्रीमद् भागवत कथावाचन गरायको बेला यस्तो दुस्साहस गरे र यस प्रकारको महान कार्य मा अनी motherlandnepal को सक्रियता त्यस समूहलाई मन नपरेको देखिन्छ । त्यस अराजक र सनातन हिन्दु धर्मप्रति अनास्था गर्ने समूहले मलाई र मेरो संस्थालाई निकृष्ट गाली गलौज गरेको छ । मेरो व्यक्तित र धार्मिक आस्थाको सुरक्षाका लागि मानवअधिकारकर्मी, लोकतान्त्रिक अभ्यास अभ्यासमा विश्वास गर्ने र धार्मिक स्वतन्त्रता चाहने समुदायमा म र मेरो संस्थाको रक्षाका लागि सादर अनुरोध गर्दछु ।
सम्पूर्ण सहयोगी समुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।
विनीत
अनिल पाण्डे
संस्थापक अध्यक्षः
मदरल्याण्ड नेपाल, क्यालिफोर्निया
मुक्तिनाथ धाम, सनफ्रान्सिस्को, क्यालिफोर्निया, अमेरिका।
फोनः 5108162176
प्रतिक्रिया