अमेरिकाले इरानका आणविक स्थापनामा गरेको आक्रमणले इरानी आणविक कार्यक्रम नष्ट गर्न सकेन, र त्यो आक्रमणले उक्त कार्यक्रमलाई सम्भवतः केही महिनामात्रै पछाडि धकेलेको छ भन्ने मूल्यांकन अमेरिकी गुप्तचर निकायले गरेको छ। पेन्टागनको डिफेन्स इन्टेलिजेन्स एजेन्सी (DIA) बाट गरिएको प्रारम्भिक क्षति मूल्यांकनको विवरण बीबीसीको अमेरिकी साझेदार सीबीएस र अन्य सञ्चारमाध्यममा लिक भएको छ।
ह्वाइट हाउसले उक्त मूल्यांकनलाई “पूर्णरूपमा गलत” भनी खारेज गरेको छ र यसलाई राष्ट्रपति ट्रम्पलाई होच्याउने “स्पष्ट प्रयास” भएको आरोप लगाएको छ। त्यसैबीच, इजरायल र इरानबीच युद्धविराम लागू भएको देखिन्छ, र दुवै राष्ट्रले त्यसको अस्तित्व स्वीकार गरेका छन्। इजरायली प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्दै यसलाई आफ्ना देशका लागि “ऐतिहासिक विजय” भनेका छन्, भने इरानी राष्ट्रपतिले आफ्नो जनताले “१२ दिनको युद्ध” को अन्त्यको निर्णय गरेको बताएका छन्।
न्युयोर्क टाइम्सको एक खोजपत्र अनुसार, इरानले अमेरिकी हवाई आक्रमण हुनु अघि नै आफ्नो ६० प्रतिशत स्तरमा परिष्कृत युरेनियम अन्यत्र स्थानान्तरण गरिसकेको हुन सक्ने देखिन्छ। उपग्रह तस्बिर र इजरायली गुप्तचर निकायको विश्लेषणका आधारमा करिब ४०० किलोग्राम युरेनियम— जुन ९–१० आणविक बम बनाउन पर्याप्त मानिन्छ— स्थानान्तरण गरिएको संकेतहरू देखिएको छ।
अमेरिकी बी–२ बमवर्षक विमानहरूले फोर्डो, नातान्ज र इस्फाहानस्थित आणविक स्थापनाहरूमा बंकर बस्टर बममार्फत आक्रमण गर्नु केही दिनअघि नै इरानले आफ्नो संवेदनशील सामग्री स्थानान्तरण गरिसकेको हुनसक्ने अमेरिकी तथा इजरायली अधिकारीहरूले बताएका छन्।
उपग्रह तस्बिरहरूले फोर्डो केन्द्र बाहिर १६ वटा ट्रकहरू देखाएका थिए जुन आक्रमणपछि गायब भएका थिए। ती ट्रकहरूमा नै युरेनियम राखिएको हुन सक्ने इजरायली अधिकारीहरूको भनाइ छ। इरानले इस्फाहान नजिकका आणविक संरचनाबाट युरेनियमलाई साना कन्टेनर (casks) मा हालेर सुरक्षित स्थानमा सारेको अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का प्रमुख राफेल ग्रोसीले युद्ध सुरु हुनुअघि अन्तिमपटक ६० प्रतिशत परिष्कृत युरेनियम देखिएको पुष्टि गरेका छन्। तर द्वन्द्व सुरु भएसँगै सबै निरीक्षणहरू रोकिन पुगे। ग्रोसीका अनुसार, युद्धको कारण निरन्तर निरीक्षणमा अवरोध आउनुले कूटनीतिक समाधानलाई कठिन बनाइरहेको छ।
इरानले हालसम्म युरेनियम सारिएको कुराको पुष्टि वा खण्डन कुनै पनि प्रकारले सार्वजनिक रूपमा गरेको छैन। त्यसैले त्यसको हालको स्थान अज्ञात छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै “इरानको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको” दाबी गरेका थिए। तर उपराष्ट्रपति जेडी भान्सले त्यसको केही समयमै एबीसी कार्यक्रममा भने, “हामी युरेनियमबारे अझै काम गरिरहेकै छौं,” भन्दै ट्रम्पको दाबीमा संशय प्रकट गरे।
म्याक्सार टेक्नोलोजीका अनुसार, फोर्डो केन्द्रमा पहाडभित्र ठूला बमहरूले बनाएका गहिरा खाडलहरू देखिएका छन्। यद्यपि, विश्लेषकहरूका अनुसार अत्यधिक सुरक्षित भूमिगत संरचनाहरूमा केही उपकरण र युरेनियम अझै बाँकी हुनसक्छन्।
पूर्व पेन्टागन र सीआईए अधिकारी मिक मुलरोयका अनुसार, अमेरिकाले प्रयोग गरेका बंकर बस्टर बम र क्रुज मिसाइलहरूले इरानको आणविक हतियार कार्यक्रमलाई दुईदेखि पाँच वर्ष पछाडि धकेल्न सक्छ। नातान्जमा विद्युत प्रणालीमा क्षति हुँदा सेन्ट्रिफ्यूजहरू नष्ट भएको पनि मानिएको छ।
यद्यपि, इरानले नयाँ भूमिगत केन्द्रहरू निर्माण गर्न थालेको बताइन्छ। यसले उसको आणविक महत्त्वाकांक्षामा अस्थायी अवरोध पुगे पनि, दीर्घकालीन योजनाहरूलाई रोक्न गाह्रो हुने संकेत दिन्छ।
इरानमाथि युरेनियम स्थानान्तरणको गम्भीर शंका उठिरहेको बेला, आणविक निगरानी एजेन्सीहरूको पहुँच रोकिएकाले तथ्य पुष्टि गर्न कठिन भइरहेको छ। यस्तो संवेदनशील घडीमा विश्व समुदायले कूटनीतिक च्यानलहरू खोल्नुपर्ने माग उठ्न थालेको छ, ताकि आणविक सुरक्षा जोखिमलाई नियन्त्रणमा ल्याउन सकियोस्।
प्रतिक्रिया