नसोच्नु यो “झोले” शासन मात्रै हो भनेर,
दाइ भाउजूको “राणा” शासन मात्रै हो भनेर
“नानीका बा” को “ठोक” शासन पनि हो यो !
“लेनदेन”, “सौदाबाजी” गरेर “बोक” शासन पनि हो यो,
भुक तन्त्र, झुक तन्त्र, लुट तन्त्र पनि हो यो !
खबरदार “झोले” लाई “झोले” नभन्नु
“लुट्ने” लाई “लुटेरा” पनि नभन्नु
भ्रष्टलाई भ्रष्ट नभन्नु, तस्करलाई “तस्कर” नभन्नु
हत्यारालाई हत्यारा नभन्नु, बरु भन्नु “महान नेता”
नबोल्नु, नलेख्नु, जे भए पनि, मुर्दा झैँ चुप्प लाग्नु !
नत्र आउला पुर्जी तिमीलाई पनि,
समाउला “सत्य सेवा सुरक्षणम” बर्दीधारीले !
मशान घाटको “मशान” जस्तै चुप लागेर बस्नु
जिउँदै “मुर्दा” बनेर घर भित्र पस्नु !
त्यतिले पनि नपुगे अर्को एउटा उपाय छ,
“म पनि झोले हो” भन्दै खरानी घस्नु !
या “नानीका बा” अथवा “दाइ भाउजु” का तिर पस्नु
– रामप्रसाद खनाल, जुन १५, २०२५
प्रतिक्रिया