शुभ कामना दिन्छु भनेर,
समाएँ उत्साहित हातले कलम
तर कलमले मलाई सोधी रह्यो
के दिन्छस् मनुवा तैँले शुभकामना ??
के भनेर दिन्छस् ??
के मानेर दिन्छस् ??
के देखेर दिन्छस् ??
यी र यस्तै आदी इत्यादि !
प्रश्नै प्रश्नका खात लगाउँदै गयो कलम
म निरीह र अनुत्तरित बनी रहेँ
अनि मनमा एउटा कुरा फुत्त आयो
बेला न कुबेला बेला, मध्ये राति
श्याम शरणहरू नेपाल आए जस्तै
राष्ट्रबादीहरुकोमा धाए जस्तै
म निरीह र अनुत्तरित बने पनि
सबै म जस्तै लुते त छैनन् होला भन्दै
खुल्ला प्रश्न गर्दै छु म आज
लौन कसैले सहायता गर मलाई
मेरो कलम निकै निहुँ खोज्दै छ म सँग
यसलाई मुखभरिको जबाफ फर्काउन मन छ
हो यी यी कारणले,
यस यस अर्थमा,
म गणतन्त्र नेपालको नागरिक हुँ भनेर,
गौरव गर्दै,
उमङ्ग मनाउँदै,
मेरो कलम लाई,
मुख भरी जबाफ फर्काउँदै ,
थर्काउँदै,
एक दुई तीन गर्दै,
सय होइन हजार गन्दै,
लेख्न मन छ उपलब्धिहरू !
लौन कसैले सहायता गर मलाई
म त साह्रै हुतीहारा भएँ बाबै !
जाबो यती कुराको उत्तर दिन नसक्ने
मैले आफूलाई पाजी ठानेको छु
सबैभन्दा नजान्ने बज्र स्वाँठ मानेको छु
किन कि म सँग उत्तरहरू छैनन्
कलमलाई फर्काउनका लागि,
खोइ म के भनेर शुभ कामना दिऊँ ?
कसरी शुभकामना दिऊँ ?
कुन कुरालाई राम्रो भनेर शुभकामना दिऊँ ?
पालै पालो बन्ने प्रधानमन्त्री र मन्त्रीहरू
दोहोर्याएर तेहराएर बन्ने प्रधानमन्त्री र मन्त्रीहरू
उनीहरूका लाँबा लस्करहरूलाई
सम्झेर दिऊँ कि शुभकामना !
प्रचण्ड निवासमा सेन्ट्री बसेका,
७५ जनाको पल्टनलाई हेरेर दिऊँ कि शुभकामना
बालुवाटार, शीतल निवासतिर फर्केर,
दिऊँ कि शुभकामना !
वा कोरोनाको लकडाउनमा
बिच सडक पेटीमा,
हातमै नाम्लो लिएर भोक भोकै मरेका
भरिया दाइ लाई सम्झेर दिऊँ कि शुभकामना !
एउटा राजा हटाएर हजार राजा पालेका,
पिर्का र टेबल माथि चढेर ,
सलामी खान थालेका,
१२ बुँदे दिल्लीको ज्योति झलझली बालेका,
एक हप्तामा लुकाउने नक्सा ल्याउन थालेका,
यिनै राष्ट्रबादीहरुलाई देखाउँदै पो भनूँ कि
के भनूँ, के भनूँ ??
लौन मलाई कसैले सहायता गर !
म त साह्रै हुतीहारा पो भएँ त बाबै !
पानी जहाज देखाउने थिएँ आएकै छैन
चुला चुला ग्यास देखाउने थिएँ आएकै छैन
चुच्चे, मनोरेल देखाउने थिएँ आएकै छैन
हावाबाट निस्किने बिजुली देखाउने थिएँ हावै भयो
पेट्रोलको कुवा खन्छु भन्थे कुवा देखेकै छैन
कुनै नेपाली भोकै मर्दैनन् भन्थे
राजधानी मै मर्छन्, खोइ म के भनूँ ?
वाइड बडी काण्ड, सुन काण्ड, फोर जी काण्ड, निर्मला काण्ड
एनसेल काण्ड, गिरि बन्धु काण्ड,
भुटानी शरणार्थी काण्ड,
सहकारी काण्ड,
भिजिट भिसा काण्ड
काण्ड पनि के के हुन के के
कति हुन कति !
नयाँहरूका काण्ड
पुरानाहरूका काण्ड
भ्रष्टाचार र अनियमितताका काण्डै काण्ड
एक पछि अर्को गर्दै, जारी छन् निरन्तर !
नक्सा अलपत्र पारेर श्याम शरणमा हुनेहरूलाई
खोइ म कसरी पत्याऊँ
बन बिराला सँग मिलेर
कुखुरा र चल्लाको बिचल्ली गराएको देख्दा देख्दै
राम्रो भयो भनेर म कसरी बोलूँ ?
गणतन्त्र दिवस रे आज
शुभ कामना दिन लागेको म
साह्रै अलमलमा पो परेँ
लौन कसैले सहायता गर मलाई,
म त साह्रै अलमलमा पो परेँ
अनि तपाईंहरुलाई नै सोध्ने बिचार गरेँ
लौन कसैले सहायता गर मलाई !
खोइ म के भनेर शुभ कामना दिऊँ ?
कसरी शुभकामना दिऊँ ?
– रामप्रसाद खनाल
मे २८, २०२५ गणतन्त्र दिवसको दिन । भर्जिनिया अमेरिका

प्रतिक्रिया