स्पन्दन विनोदको कलम मिठो छ तर यिनले कविता, गजलमा अलिकति तल माथि देखे भने कलमलाई नै छुरा बनाएर अट्याक गर्न पनि बेर लगाउन्नन् । लेखक, कवि, साहित्यकार स्पन्दन विनोद सक्रिय रहन्छन् उनी स्वदेशमा रहँदा होस वा विदेशमा । नेपाल मदर लाई पनि उनका कविता र गजल मन पर्छन् । त्यसैले आज उनका ५ वटा कविता एक साथ यहाँ प्रस्तुत गर्दै छौँ ।
१)
कविता- आयो गोलीतन्त्र
छन्द- शार्दूलविक्रीडित
-स्पन्दन विनोद
बोलीसङ्ग डराउँछन् सदनका, निर्लज्जता वाहक
आफ्नै व्यञ्जन सोच्दछन् सब कुरा, कुर्सी छ नालायक
उल्टो लक्ष्य लिएर के हल गरिस्, निःसार तन्त्रे बता
गोलीतन्त्र रहेछ यो मुलुकमा, समृद्धि बोक्ने कथा ॥१
इच्छा के छ विकास हुन्छ कसरी, सोच्ने छ नेता कुनै ?
भ्रष्टाचार गरेर लुट्न जनता, दौडिन्छ नेता सधैँ
उठ् उठ् उठ् पहिचानबाद अब उठ्, सुर्काइदे पाखुरा
गोलीतन्त्र रहेछ यो मुलुकमा, समृद्धि बोक्ने कथा ॥२
विद्वत्ता छ कहाँ र न्याय छ कहाँ, सर्वोच्च सम्मानित
श्रद्धापूर्वक गर्छ आग्रह भने, होमिन्छ उत्साहित
के यस्तो तरिका छ विश्वभरमा, के अर्थ आत्मीयता
गोलीतन्त्र रहेछ यो मुलुकमा, समृद्धि बोक्ने कथा ॥३
पर्या चिन्तनयुक्त मौलिकपना, खै राष्ट्रको सिन्धु खै
मार्छौ शेष युवा भने मुलुकमा, बाँच्ने कुनै बिन्दु खै
ठेकेदार बुझोस् छ संस्कृति ठुलो, बाँच्छन् तिनै सम्पदा
गोलीतन्त्र रहेछ यो मुलुकमा, समृद्धि बोक्ने कथा ॥४
हाँस्छन् किन्तु भिडन्तले नगरमा, थप्दैन शोभा बुझून्
गर्छन् शक्ति लिई लिई दमन जो, बर्बाद आफैँ नहून्
मेरो देश छ स्वर्गको जगजगा, छिन् स्वर्गद्वारी जहाँ
गोलीतन्त्र रहेछ यो मुलुकमा, समृद्धि बोक्ने कथा ॥५
२)
कविता- बेहोस मुर्दा
छन्द: मन्दाक्रान्ता
– स्पन्दन विनोद
देख्दा देख्दै मृदुल सपना, अग्नि ठोस्छन् कसैले
निद्रा मीठो मधुवन यही, घुम्छु भन्दा नि मैले
उठ्छन् कोही बिच जलनमा, टाँडबाटै अचम्म
यस्तो लाग्यो मन मरणको, भूत लागेछ टम्म ॥
आफ्नै आत्मा रिपुदलनले, मृत्यु खोज्ने बिरामी
छन् झन् आफ्ना नजिक जहिल्यै, शत्रु जस्ता हरामी
मर्ला मान्छे, र झटपट यो, लास बालौँ भनेका
कस्तो तिम्रो हतपत अहो, मेघ तातै जलेका ॥
आँखा खोलौँ तर मन म-यो, जल्छु टिम्मै गरेर
देखेँ प्यारा प्रमुदित खुसी, जल्न थालेँ भनेर
आशा राख्थे, किन म जिउँदो, होस् भनी आँसु झारी
गर्दैछन् झन् थप विरहको, कार्य देखावटी ती ॥
बेहोसीमा चरम रमिता, आज देखेँ विधाता
साँच्चै मेरो निधि उपर छन्, देहका प्राणमारा
मौरी मा-यो र त मह चुस्यो, श्रृंखला धुन्धुकारि
कान्छो जेठो मन कुसुम ती, टुप्पिँदा दिन्छु गाली ॥
झोस् झोस् आगो किन अब ढिला, गर्दछस् पुत्र झर्केँ
बाँधेका छन् तन नि यसरी, के गरी भन्नु फर्केँ
आत्था भन्थेँ प्रथम मुखमै, दागबत्ती चढाए
ऐय्या ऐय्या अब मन मऱ्यो, सोच पापी सुताएँ ॥
३)
कविता- आऊ कान्तिपुर बुद्ध
छन्द- शार्दूलविक्रीडित
– स्पन्दन विनोद
जन्म्यौ कर्मठ लुम्बिनी भुवनमा, सोच्यौ सधैँ जीवन
पायौ ज्ञान गरेर ध्यान जपले, कस्तो तपस्या भन
आफ्नो जन्म जगत् पवित्र छ यसै, मान्छौँ त्यही स्वर्ग ता
आऊ बुद्ध मिलाइ कान्तिपुरमा, के हुन्छ टेक्दा यता ॥
आएनौ तब पो अशान्त छ बढी, कस्तो अभागी थलो
के हुन्थ्यो जब केन्द्रमा चरणले, त्यो स्पर्श गर्दा ठुलो
आफैँ थ्यौ गुरु अग्रदूत जगका,छक्कै परेँ सम्झदा
आऊ बुद्ध मिलाइ कान्तिपुरमा, के हुन्छ टेक्दा यता ॥
घोडा थे मन लाग्दथ्यो यदि भने, उल्टै पस्यौ जङ्गल
गुम्ला ज्ञान भनेर चेत कि थियो, या ज्ञानको शैशव
साँच्चै नायक बुद्ध वैभव थियौ, सोच्थ्यौ कि यौटै धरा
आऊ बुद्ध मिलाइ कान्तिपुरमा, के हुन्छ टेक्दा यता ॥
मान्छे दैनिक मार्दछन् कपटले, छन् न्यायका द्वार ता
मिल्दैनन् किन न्याय वर्षदिन नै, लोभी र पापी धरा
गर्थ्यौ ध्यान र जान्दथ्यौ कि त तिमी, कल्ले भन्यो झन् नजा
आऊ बुद्ध मिलाइ कान्तिपुरमा, के हुन्छ टेक्दा यता ॥
लाग्थ्यो बन्दिन बुद्ध कान्तिपुरको, यात्रा गरे भो कि त
डुब्दै भुल्दछु मोजमा सहरको, भन्ने भयो भाषित
थोरै बाँच्दछु अल्प यो समयमा, लाग्थ्यो कि जानू कता
आऊ बुद्ध मिलाइ कान्तिपुरमा, के हुन्छ टेक्दा यता ॥
४)
कविता – के हुन्छ नेता बौलायो भने
छन्द – शालिनी
-स्पन्दन विनोद
बेच्दा बेच्दै देश सक्नेछ सारा
लामो हुन्नन् जिन्दगीका किनारा
सैपालका जातले दुःख भोग्छ
नेता बौलायो भने देश डुब्छ॥१
हत्यारा को मात्र तत्क्षण बुझौँ
भ्रष्टाचारी को तुरुन्तै ल चिनौँ
सौदा गर्दैछन् नदी मिच्न श्वर्ग
नेता बौलायो भने देश मर्छ ॥२
ढिक्का ढिक्का आँसु खस्दै बहन्छ
छातीमा ढुङ्गा बनी तन्त्र थिच्छ
राजा छैनन् यी प्रजा छन् विभक्त
नेता बौलायो भने गुम्छ हर्ष ॥३
सामुन्ने ताप्दै चिता हाँस्छ नेता
जे होस् मान्छे हैन स्वार्थी बनेका
बोल्छन् आफ्नालागि नेता समस्त
नेता बौलायो भने हुन्छ ध्वस्त ॥४
बौलाहाको ओखती हुन्न केही
हिंशा मात्रै गर्छ कुर्सी नछोडी
ऊ मर्दै मर्दैन गाली गरेर
नेता बौलायो भने कष्ट हेर ॥५
५)
कविता-धन्य गुरुजी
छन्द- शार्दूलविक्रीडित
✍🏻 स्पन्दन विनोद
भन्थे भाव न हो कुरा गजलको, चारू सयौँ लेखिए
साँच्चै गाजल तुल्य ती बहर छन्, सिद्धान्तमा पोतिए
गेडा अक्षरका गनी खनखनी, टुक्का हुने जानियो
जानेँ ढुक्क भयो छ धन्य गुरुजी, बर्बाद बन्दै थियो॥१
जे तौलेर सकिन्न लेख्न अहिले, लेखेर के काम छ
सक्छौ बिक्न भने सही डरलमा, बद्नाम मै नाम छ
गेडा अक्षरका गनी खनखनी, आहा! बन्यो हाइकू
जानेँ ढुक्क भयो छ धन्य गुरुजी, के दीर्घ के हो लघु ॥२
बेच्दै गोरु लगाउँदैछु बलले, के साइनो हो बुझ
मुस्काएर बसे टुसुक्क कविजी, पञ्चाङ्ग रम्बास छ
गेडा अक्षरका गनी खनखनी, जन्म्यो विधा बाछिटा
जानेँ ढुक्क भयो छ धन्य गुरुजी, अल्झेर पुग्थेँ कता ॥३
के हो गद्य भनौँ र मुक्तक छ के, लेख्दैछ ऊ सायरी
स्वार्थी कारण चाकडी गरिरह्यो, झन् लम्पसारै परी
गेडा अक्षरका गनी खनखनी, स्वातन्त्र्य भन्दै छ ऊ
जानेँ ढुक्क भयो छ धन्य गुरुजी, विद्वान् रहेछन् अरू ॥४
तीनै लाइन खोरिया झर भए, उस्तै सुसेली बजै
यत्रा छन् सुविधा विधा मुलुकमा, साहित्य बुङ्गो सधैँ
गेडा अक्षरका गनी खनखनी, लठ्ठै महाकाव्य छ
जानेँ ढुक्क भयो छ धन्य गुरुजी, के लेख्न सक्थेँ र म ॥५
प्रतिक्रिया