युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ, जसमा दुई बालबालिका पनि परेका छन्। युक्रेनका अधिकारीहरूका अनुसार खार्किभस्थित एक बालबालिका विद्यालयमा क्षेप्यास्त्र परेको छ भने राजधानी कीभमा पनि व्यापक क्षति पुगेको छ।
कीभ र आसपासका क्षेत्रमा भएका आक्रमणमा २७ जना घाइते भएका छन्, जसमा धेरै बालबालिका रहेका छन्। कीभ नजिकैको पोह्रेबी गाउँमा घरमा आगलागी हुँदा एक महिला र दुई बालबालिकाको ज्यान गएको जनाइएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधापेस्टमा तय गरिएको आगामी ट्रम्प–पुटिन शिखर सम्मेलन स्थगित गरिएको बताएका छन्। उनले “म बेकार बैठक गर्न चाहन्नँ” भन्दै वार्ता हालका लागि रोकिने बताएका हुन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले भने रूसमाथि अझै पर्याप्त दबाब नपरेको प्रष्ट भएको बताएका छन्। उनका अनुसार, “रूस अझै बेफिक्र छ, जसले देखाउँछ कि विश्वले पर्याप्त दबाब सिर्जना गर्न सकेको छैन।”
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ट्रम्प–पुटिन वार्ता रोकिएको अमेरिकी दाबी अस्वीकार गर्दै तयारी जारी रहेको बताए। उनले भने, “बैठक दुबै राष्ट्रपतिहरूको इच्छा अनुसार हुने हो, तर मिति अझै टुंगो लागेको छैन।”
जेलेंस्की हाल युरोप भ्रमणमा निस्किएका छन्। उनले ओस्लोमा पत्रकारहरूसँग कुरा गर्दै भने, “ट्रम्पले प्रस्ताव गरेको युद्धरेखा स्थिर पार्ने योजना एक प्रकारको ‘सम्झौता’ हुन सक्छ, तर मलाई शंका छ कि पुटिनले त्यसलाई स्वीकार गर्नेछन्।”
उनले भनेका छन्, “जति बेला अमेरिकाबाट लामो दूरीका टोमहक मिसाइल पाउने सम्भावना घट्यो, त्यसपछि रूस पनि वार्ताको रुचि गुमाउन थाल्यो।”
रूसी आक्रमण युक्रेनी सेनाले बेलायतबाट प्राप्त ‘स्टर्म श्याडो’ मिसाइल प्रयोग गरी ब्र्यान्स्क सीमाक्षेत्रमा रहेको रूसी रासायनिक कारखानामा गरेको सफल प्रहारको केही घण्टापछि भएको हो। युक्रेनी सेनाले उक्त कारखानाले बारुद, विस्फोटक र रकेट इन्धन उत्पादन गर्ने जनाएको छ।
कीभका अधिकारीहरूले जनाएका छन् कि राजधानी क्षेत्रमा ६० वर्ष उमेरका एक जोडी आफ्नै अपार्टमेन्टमा ड्रोन प्रहारपछि मारिएका छन्। राजधानी वरपर चार जनाको मृत्यु भएको छ, जसमा ३६ वर्षीया महिला, ६ महिनाको शिशु र १२ वर्षीया बालिका पनि परेका छन्।
खार्किभ सहरमा बालबालिका खेल्ने बालवाडीमा ड्रोन प्रहार हुँदा ४० वर्षीय पुरुषको मृत्यु र सात जना घाइते भएका छन्। घाइतेमध्ये बालबालिकासमेत रहेका छन्।
युक्रेनी वायुसेनाका अनुसार रूसले एकै रातमा ४०५ वटा ड्रोन र २८ वटा मिसाइल प्रक्षेपण गरेको थियो, जसमा १५ वटा ब्यालेस्टिक मिसाइल थिए।
कीभमा रातभर बम र विस्फोटको आवाज गुन्जिएको थियो। बिहानसम्म उद्धारकर्मीहरूले जलेका घरहरूमा आगो निभाउने काम गरिरहेका थिए। देशका धेरै क्षेत्रमा ऊर्जा संरचना लक्षित आक्रमण भएपछि आकस्मिक विद्युत् कटौती गरिएको छ।
कीभकी सांसद इन्ना सोभ्सुनले भनिन्, “हामीमध्ये धेरैजना अहिले बिजुली र पानीबिनाको अवस्थामै छौं। यो केवल सैन्य आक्रमण होइन, नागरिक संरचनामाथिको योजनाबद्ध हमला हो।”
प्रतिक्रिया