‘बाबु बाजेको चितामा आगो ताप्नेहरू
घर जलाएर खरानीको थुप्रोमा रमाउनेहरू
माटो बेचेर भोक मेटाउनेहरू
सीमा भत्काएर स्वाधीनता खोज्नेहरू
सकेसम्म जुट सकेसम्म मिल’
(अन्धकारको यात्री कविता संग्रह २०७३ भित्र : म नागरिक सन्देश कवितांश) मा मैले यसरी लेखेको रहेछु । करिब एक दशक पहिले लेखेको र प्रकाशित यो कविताको सान्दर्भिकता अहिले थप भएको अनुभव गर्दै छु । पाठकहरूलाई कस्तो लाग्छ थाहा छैन । जब विशाल नेपालको कल्पनाकार र निर्माण नायक पृथ्वीनारायण शाहको शालिक ढल्यो, जब भाषिक एकताको मूल आधार नेपाली भाषाका आदिकवि भानुभक्तको शालिक र रामायण जल्यो, जब हाम्रा पूर्वजहरूको पसिनाको मूल्य खरानीमा परिणत भयो र अग्रगमनको नारा सडकमा उरालियो त्यस समय मैले लेखेको कविता हो त्यो ।
बीपी कोइरालाको स्मारकसमेत तोडिएको थियो, पुष्पलालको स्मारक धुलोमा परिणत भएको थियो र लेखनाथका दाह्री उखेलिएका थिए । यो दृश्य आजको होइन । यो दृश्य हो ०६३/०६४ को । जुनबेला नेपाल पुरानो राज्य सत्तालाई विस्थापित गरी नयाँ सत्ताको खोजीमा तीव्रतर गतिले लाग्दै थियो । हामी ०४६ को बहुदलीय परिवर्तनलगत्तै ०५२ पछि प्रत्येक १० वर्षमा अग्रगतिको किनारमा पुग्ने गरेका छौँ । ०५२ मा माओवादी नामको सशस्त्र हिंसाले पैदा गरेको क्रूर कम्पन, ०६२ सालमा १२ बुँदे सहमति र त्यसले दिएको झड्का, ०७२ को संविधान र त्यसले भोगाएको पीडा अनि अहिले ०८२ सालले दिएको ‘जेन-जी’ आक्रोश र हाँडीघोप्टे पानीको चक्रवात हामीले अग्रमनकै अर्थमा अनुभव गरेका छौँ ।
योपटक कलिला युवायुवती, किशोर किशोरीहरूले अत्यन्त सामयिक र जायज माग उठाएका थिए । तीमध्ये दुईटा मागमा उनीहरू केन्द्रित थिए । पहिलो तीन दशकदेखि व्याप्त आर्थिक भ्रष्टाचारको अन्त्य गर्न त्यसमा संलग्न राजनीतिक नेतृत्वमाथि कारबाही गर्नुपर्ने थियो भने दोस्रोमा एकप्रकारले जीवनपद्धति बनेको सामाजिक सञ्जाललाई रोक्ने सरकारी निर्णय फिर्ता होस् भन्ने माग थियो । यी दुवै मागका विपक्षमा कोही पनि थिएनन् । सत्तामा बस्ने प्रधानमन्त्री, केही थान मन्त्री र प्रक्रियामा रहेका केही पदाधिकारी यसको विपक्षमा थिए । तर, भदौ २३ गते दिउँसो अकस्मात् सडक रक्ताम्य भयो । हजारभन्दा बढी घाइते भए र क्रूरतम ढंगले २३/२४ जनाको इहलीला समाप्त भयो ।
यो घटनाको निन्दा जुन शब्दमा गरे पनि कम हुन्छ । यसपछि धेरैको भनाइ के छ भने ‘जेन-जी’ समूह भनेर परिभाषित उमेर समूहका ती निर्दोष युवा, युवती र किशोरहरूको कलिलो काँधमा बन्दुक राखेर देशलाई खरानी बनाउने कुटिल नाटक मञ्चन भएपछि भयानक संहार भयो र थप ५० जना नागरिक जले । कोही त चेपुवामा परेर मृत्यु वरण गर्न विवश भए । जसका कारण प्रधानमन्त्रीले राजीनामा दिए, संसद् विघटन भयो र संविधानविहीन औपचारिकतामार्फत नयाँ सरकारको गठन भयो । राष्ट्रको सम्पत्ति, व्यक्तिको पसिनासमेत अर्बौं होइन खर्बौं खरानीमा परिणत भयो । नागरिकले तिरेको कर, विदेशमा पुगेर ५० डिग्रीको तातो सहँदै श्रम गरेकाहरूको योगदान यसरी २४ घण्टामै स्वाहा हुनेगरी भएको संहारबारे भविष्यमा अनुसन्धान हुने नै होला । खरानीमाथि उभिनेहरूलाई आफू उभिएको तातो खरानीले पोलेको अनुभव भएमा निश्चय पनि अनुसन्धान तहसम्म हुनेछ । अनुसन्धान तहसम्म पुग्यो भने निहत्था मृतकहरूको निर्दोष आत्मालाई पनि शान्ति मिल्नेछ होला ।
विगत ३० वर्षयता भ्रष्टाचार गर्ने वा विधिविपरीत काम गरिरहेका वा नेतृत्वमा गुड लगाएर बसिरहेका अनि नयाँ पुस्तासँग पटक्कै नजोडिएका राजनीतिक जीवहरू आन्दोलन वा प्रदर्शनको लक्ष्यमा पर्नु अनौठो मानिँदैन । संसारको मानचित्रमा यस्ता अनेक दृश्य र दृष्टान्तहरू छन् । गत वर्ष मात्रै हामीले बंगलादेशमा देख्यौँ । तर, त्यहाँ पनि बंगलादेशका निर्माता नायक शेखमुजिवर रहमानको स्मारक, संग्रह र सन्तति आन्दोलनको तारोमा परे । ठीक यसैगरी नेपालमा पनि लोकतन्त्रका नायकहरू सबै तारोमा परे । खराबी गर्नेहरूप्रति कसैको पनि सहानुभूति छैन । उनीहरू जो हुन् निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ । यतिखेर मेरो मनमा उठिरहेको प्रश्न हो : बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मदन भण्डारी जस्ता दिवंगतहरू किन र कसको योजनामा लक्षित भएका हुन् ? कतै ०६३ सालपछि पृथ्वीनारायण र भानुभक्तहरूप्रति देखाइएको असहिष्णुताको प्रतिशोधात्मक पुनरावृत्ति त होइन यो ? अग्रजहरूले जे गरे नयाँले पनि त्यही सिक्छन् । हिजोका नेताहरूले पृथ्वीनारायणको शालिक ढाले आजको पुस्ताले पुष्पलाल र मदन भण्डारीको शालिकको फुटबल खेले ।
हामी सानामा छँदा बाबु र छोराको मृत्यु सम्वाद निकै रोचकरूपले श्रवण गरेका हुन्थ्यौँ । कथा केन्द्रित सम्वाद रमाइलो छ । कथाअनुसार : त्यस घरमा तीन पुस्ता थिए । एकदिन बुढा भएका पिताजीलाई डोकामा बोकेर छोरा जंगलतिर लागे । सानो नाति पनि सँगै गए । भीरको टाकुरोमा पुगेर छोराले बाबुलाई भने तपाईं अब बाँचेर फाइदा छैन । तपाईँलाई भीरबाट गुन्ट्याउन लागेको छु । यसो भन्दै आफ्ना बाबुलाई भीरबाट खसालिदिए र डोको भीरमै फाल्न लागे । तर, छेउमै बसेको सानो नाति अर्थात् बाबुलाई भीरमा लडाउनेका छोराले भन्यो बुवा हजुरबालाई खसाले पनि यो डोको राख्नुपर्छ । किनकि तपाईँ बुढो भएपछि यसरी नै तपाईँलाई डोकामा बोकेर यहाँ ल्याउनुपर्छ र खसाल्नुपर्छ । अहिले नेपालमा यही बाबु छोरा र नातिको कथा जस्तै घटनाक्रम देखिएको छ । कुनै दिन सांस्कृतिक क्रान्ति गर्ने माओका शालिक वा लेनिनका शालिकहरू पनि यसरी नै ढलेका थिए । अहिले नेपालमा बीपी, जिएम, केपी, पिएल वा मदन भण्डारीहरूका शालिक ढले र अग्रगमनका नायकहरूका घर जले ।
८० वर्षको लोकतान्त्रिक आन्दोलनका नायकहरूको स्मृति शेष र कीर्तिशेषको अभियान चल्यो । अग्रमनको हल्ला गर्नेहरूले नयाँ पुस्तालाई हस्तान्तरित शिक्षा दीक्षा र अनुभवको समवेत परिणाम नै होला आजको नेपालको तस्वीर । यो तस्वीर बदल्नैपर्छ । नयाँ पुस्ताको आवश्यकता र मागसँग इतिहासको धरोहरलाई जीवन्त राख्नुपर्छ । तर, कसरी ? यही प्रश्नको उत्तर हो देशको जीवन । अन्यथा त्यही हुने छ जो प्रारब्धमा छ :
‘माटो बेचेर भोक मेटाउनेहरू
सीमा भत्काएर स्वधीनता खोज्नेहरू
सकेसम्म जुट, सकेसम्म मिल
परिवर्तनको अर्थ यही हो भने
प्रगतिको परिभाषा यही हो भने
वर्तमानको माग यही हो भने
भविष्यको बाटो यही हो भने
फुटाउन खोज्नेहरू जुट
जुट्नु पर्नेहरू फुट’
प्रतिक्रिया