हिमाल खबर पत्रिकाको असोज १-१५, २०६२ को अङ्कको भित्र पेजको पाठक प्रतिक्रियामा गोपाल दाहाल सुनसरीका नाममा एउटा पाठक पत्र र त्यस सँगै एका दुई अरू पाठक पत्रका नाममा मेरो तत्कालिन एउटा राष्ट्रिय दोहोरी गीत, जुन गीतमा राजा, जनता, दल, राम्रा नेताहरू सबै एक हुन, रास्ट्रिय एकताका लागि आह्वान गर्दै र भ्रष्ट नेताहरूका विरुद्ध गाइएको थियो, मेरो त्यो गीतको क्यासेट, सिडीलाई लिएर “ढुकुटी लुट्ने राष्ट्रवादी धन्दा” शीर्षकमा मेरो चरित्र हत्या गर्दै लेखिएको उक्त पाठक पत्र प्रकाशित भएको थियो। २० वर्ष अघि नै, प्रकाशित भए लगत्तै अर्को अङ्कमा त्यही हिमाल खबर पत्रिकामै मैले सत्य तथ्य सहित खण्डन लिएर गए पछि खण्डन छापिइसकेको थियो र सो बारेमा स्पष्ट गरिएको थियो। निष्पक्ष राष्ट्रिय साप्ताहिकमा पनि सो का बारेमा विवरण सहित खण्डन प्रकाशित गरिसकिएको थियो जुन हिमाल खबर पत्रिकामै र निष्पक्ष राष्ट्रिय साप्ताहिकमा पनि त्यतिखेरका अङ्कमा हेर्न सक्नुहुन्छ। ती पत्रिका २० वर्ष अघिका भएकाले रेकर्ड नभेटिए प्रेस काउन्सिलको रेकर्डमा हेर्न सक्नुहुन्छ ।
मैले प्रकाशित गरेको गीत समसामयिक भएकोले देश भरि पुर्याउन उपयुक्त हुने भएकोले स्थानीय विकास मन्त्रालय अन्तरगत खरिद गर्न इच्छुक भएको भन्दै तत्कालीन स्थानीय विकास मन्त्री खड्ग बहादुर जिसीले मलाई फोन गर्नुभयो र निवेदन दिन आग्रह गरे पछि म एउटा सर्जक मेरो गीतको एल्बम, सिडी सरकारले किन्छु देश भरि पुर्याउछु भन्दा मैले किन हुन्न, दिन्न भन्नु भनेर निवेदन पनि दिएँ। तर त्यही हप्ता मै मैले फेरि पुनर्विचार गर्दा म आफैलाई जनताले, श्रोता दर्शकले चाहे बजार बाटै किन्न सक्ने भएकोले र भोलि विरोधीहरूले त्यसलाई गलत ढङ्गले प्रचार गर्न सक्ने मलाइ लाग्यो र मैले तत्कालै मन्त्री सँग कुरा गरेर निवेदन फिर्ता लिएँ र सरकारी निकाय मार्फत नबेच्ने निर्णय गरेँ। त्यो निवेदनका आधारमा एउटा क्यासेट, सिडी पनि बेचिएन। एक पैसा कहीँ कतै बाट लिइएन । भ्रष्ट नेता र तिनका मतियारहरूले हौवा फिँजाउने दुष्प्रयास गरे किनकि त्यो गीतमा भ्रष्टाचार र बेथितिका विषयमा लेखिएको र गाइएको थियो।
विदेशमा रहे पनि देशको माया लाग्ने रहेछ, अन्याय, अत्याचार, बेथिति र भ्रष्टाचारका विरुद्ध लेख्न बोल्न मन लाग्छ लेखिन्छ बोलिन्छ। कहीँ कतै कसैले भ्रम फिँजाए जस्तो एक थान सिडी वा क्यासेट पनि सरकारी निकाय र रकमबाट किनिएको वा लिइएको, मैले सरकारी निकायलाई बेचेको, मैले त्यहाँबाट भुक्तानी लिएको भए प्रमाणित गरोस्, सरकारी निकायमा त भुक्तानीको सम्पूर्ण विवरण हुन्छ, अडिट पनि हुन्छ, प्रमाणित गर्छ भने म उही बेला देखि खण्डन गर्दै र भन्दै आएको कुरा दोहोर्याउन चाहन्छु – म मेरो सार्वजनिक जीवन, पत्रकारिता वा कलाकारिता जीवन बाट सधैका लागि संन्यास लिने छु। उनीहरूको जुन सुकै सर्त मान्न तयार हुने छु यो मेरो चुनौती हो। कौवाले कान लग्यो भन्दा कान छाम्ने गरौँ, हल्लाका भरमा कसैको चरित्र हत्या नगरौँ । भ्रष्ट नेताहरू, तिनका मतियारहरूका गलत रवैयाका विरुद्ध बोल्दा लेख्दा काउन्टर दिँदै फैलाइने यस प्रकारका हौवा र बतासे कुराको भ्रममा नपर्न म मेरा दर्शक श्रोता, पाठक, शुभचिन्तकहरूमा अनुरोध गर्दछु । जिन्दगीमा दुख कष्ट परिश्रम गरेर, आफ्नै रगत सिँचेर, मेहनत गरेर, पाखुराको बल र बुद्धि विवेकले सादा जीवन बिताउन, दुई छाक खान, लाउन र बस्न पुगेकै छ । भ्रष्ट नेता र गलत मान्छेको दलाली गरेर वा निगाह वा आशीर्वादमा कहिल्यै पनि बाँच्नु परेन, अब पनि नपरोस् भगवान् सँग प्रार्थना गर्दछु । हुन त अहिले सबैका हातमा सामाजिक संजाल छ, कसले के लेख्छ कसले के बोल्छ, कतिलाई जबाफ फर्काउने वा दिने वा नदिने यो बिषय पनि सोंचनीय छ यद्यपि आफु निर्दोष भए पछि २० बर्ष पछाडी होस् वा जहिले होस् खण्डन गर्न सकिन्छ गरिन्छ र भ्रम फैलाउनेहरु लाइ चुनौती दिन पनि सकिन्छ। सत्य सधै बलियो हुन्छ। धन्यवाद ।
– रामप्रसाद खनाल, हाल अमेरिका
प्रतिक्रिया