कौवाहरू उडी रहन्छन् आकाशमा
का का, का का गर्छन् कराउँछन्
बादल मडारिरहेको छ जताततै,
आँधी तुफानहरू साइत हेर्दै छन् जस्तो
खोइ कस्तो कस्तो ! कसरी भनौँ यस्तो !
यत्तिकैमा आवाज सुनिन्छ एका एक,
कान लग्यो कौवाले, ए बँचाओ है कान !
तर अपसोच, कोही छाम्दैनन् कान
दौडिन थाल्छन् कौवा पच्छ्याउँदै,
गाउँ, सहर जताततै कोलाहल,
कौवाले कान लग्यो, कौवाले कान लग्यो !
हो हल्ला चलिरहेकै छन्, कौवा उडिरहेकै छन्
मेरो मन भन्छ अरू जे सुकै होस् तर,
गिद्धहरू घेरा हालेर नउडी दिए हुन्थ्यो आकाशमा !
चिलहरू ननिम्तिए हुन्थ्यो हाम्रो गाउँ सहरमा !
– रामप्रसाद खनाल
October 10, 2025
प्रतिक्रिया