काठमाडौं/ भदौ २३ र २४ गते भएको दुईदिने जेन–जी आन्दोलनका अगुवाहरूले आन्दोलनका सबै समूहबीच आपसी एकताको दृढ अपिल गरेका छन्। जेन–जी युनाइटेड परिवर्तन समूहले सोमबार राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश दिएको हो। कार्यक्रममा शहीद परिवार, घाइते, आन्दोलनका अगुवा, अभियन्ता र सर्वसाधारण नागरिकहरूको उल्लेख्य उपस्थिति थियो। उपस्थितहरूले नेपाली झण्डा ओढी शहीदहरूको तस्वीरमा भाइटीका लगाउँदै राष्ट्रिय एकताको प्रतीकात्मक प्रदर्शन गरेका थिए।
कार्यक्रम स्थलमा देखिएको ब्यानरमा लेखिएको थियो “जेन–जी एक नभए शहीदका आत्मा भौतारिइरहन्छन्, घाइतेका हृदयहरू कहिल्यै निको हुने छैनन् र नेपाल आमाका आँखामा आँसु कहिल्यै सुक्ने छैन।” अगुवाहरूले बोलेका भाषणमा जेन–जी आन्दोलन भित्र देखिएका विभाजन र स्वार्थका खेलप्रति चेतावनी दिँदै सहकार्य र साझा उद्देश्यमा फर्किन सबै समूहलाई आग्रह गरे। उनीहरूले भने, “शहीदका रगतले लेखिएको इतिहास खेर जान दिनु विश्वासघात हुनेछ। अहिलेको आवश्यकता नेतृत्वभन्दा माथि उठेर देश र आन्दोलनका मर्मलाई प्राथमिकता दिनु हो।” कसैकसैले ‘शहीदका सपना साकार पार्नु नै बाँचेका सबैको कर्तव्य हो’ भन्ने लेखिएका प्लेकार्ड बोकेका थिए। कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो र अन्त्यमा शहीद परिवारलाई माला र सम्मानपत्र अर्पण गरिएको थियो। माइतीघरको आकाशमा फहराइरहेका सयौँ राष्ट्रिय झण्डा र शहीदका तस्बिरहरूबीच गुञ्जिएको नारा थियो “जेन–जी एकता, नयाँ नेपालको शक्ति।”

जेन–जी आन्दोलनका शहीद र घाइतेका परिवारहरूले अन्तरिम सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारले “जेन–जीका सपना पूरा गर्ने प्रतिवद्धता बिर्सिएको” आरोप लगाएका छन्।
बिहीबार माइतीघर मण्डलमा आयोजित दबाबमूलक कार्यक्रममा शहीद परिवार, घाइते र आन्दोलनका सहभागीहरूले संयुक्तरूपमा सरकारलाई खबरदारी गर्दै आन्दोलनका माग तत्काल पूरा गर्न चेतावनी दिएका हुन्।
कार्यक्रममा शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन–जीहरूलाई फेरि एकढिक्का भएर उभिन आह्वान गरे। उनले भने, “शहीदको सपना तुहिँदै गएको छ। सरकार सुशासन र न्यायको बाटोमा अघि बढ्न असफल भएको छ। अब फेरि हामी सबै एक भएर उठ्नैपर्छ।”
सुवेदीले अन्तरिम सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र जवाफदेही शासन कायम गर्न असफल भएको टिप्पणी गरे। दोषी र भ्रष्टाचारीमाथि कारबाही, संविधान संशोधन तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा रूपान्तरणको माग गर्दै उनले भने, “देश फेरि पुरानै दलहरूको कब्जामा पर्यो भने हाम्रो बलिदान व्यर्थ हुनेछ।”
कार्यक्रममा जेन–जी युनाइटेडको अगुवाइमा शहीदहरूका तस्बिरहरू सजाइएका थिए। उपस्थितहरूले तिनमा माला अर्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे।
“शहीदका सपना पूरा गर,” “भ्रष्टाचारमुक्त नेपाल चाहियो,” र “जनताको सरकार, दलको होइन” जस्ता नाराहरू गुञ्जिए
सुदन गुरुङले पुराना राजनीतिक दलहरूलाई जेन–जी युवाहरूबीच विभाजन ल्याउने प्रयास नगर्न कडा चेतावनी दिएका छन्।
बिहीबार माइतीघर मण्डलमा आयोजित जेन–जी शहीदहरूको सम्झना कार्यक्रममा बोल्दै उनले परम्परागत दलहरू युवाहरूको एकतालाई कमजोर पार्ने षड्यन्त्रमा लागेको आरोप लगाए।
उनका शब्दमा, “जेन–जीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो। उनीहरूलाई लागेको होला, हामीले त्यो खेल बुझेका छैनौं। तर नेताहरूले यस्तो भ्रम नराखे हुन्छ — अब हामी सजिलै विभाजित हुने छैनौं।”
गुरुङले राजनीतिक नेताहरू अहिले जनमत मोड्न खोज्दै “जेन–जीभन्दा कांग्रेस ठीक, एमाले ठीक” भन्ने प्रचार फैलाइरहेको बताए। उनले भने, “अब दल होइन, राष्ट्र सोचौं। हामी सबै नेपाली नागरिक भएर एउटै झण्डामुनि बसौं र देश विकासका लागि हातेमालो गरौं।”
उनले जोड दिए, “हामी हरेक कदम नापेर चाल्दैछौं। अहिले हामीलाई विभाजित गर्नका लागि त पूरा नेपाली जनतालाई नै छुट्याउनुपर्ने अवस्था आउँछ, र त्यो तागत उनीहरूसँग छैन।”
कार्यक्रममा उनले नेताहरूले जेन–जी अगुवाहरूको बीचमा ‘को राम्रो, को नराम्रो’ भन्ने भ्रम फैलाउन खोजेको भन्दै आक्रोश पोख्दै भने, “नराम्रो हामी होइनौँ, नराम्रो त ती नेताहरू हुन् जसले दशौं वर्षदेखि देशलाई यस अवस्थामा ल्याए।”
उनका अनुसार, “नागरिकले अझै ती नेताहरूलाई नचिनेर भोट हाल्दै आएका छन्। अब चेत खुलाउने बेला यही हो — सोच परिवर्तन नगरेसम्म समाज परिवर्तन सम्भव छैन।”
गुरुङको भनाइमा, जेन–जी आन्दोलन कुनै दलविरुद्ध होइन, तर असफल राजनीतिक संस्कृतिविरुद्धको नयाँ पुस्ताको आन्दोलन हो, जसले अब देशलाई नयाँ दिशातर्फ लैजानेछ।
प्रतिक्रिया