जनता नै सस्ता र नबुझ्ने भएपछि नेता किन सुध्रिन्थे ? देशको हालत देखेर आज धेरैलाई यो प्रश्नले पोलिरहेको छ । राजनीति किन यति निर्लज्ज भयो, राज्य किन दिशाहीन बन्यो, नेतृत्व किन पतनतर्फ गयो भन्ने जिज्ञासा स्वाभाविक हो । तर यसको जड बाहिर होइन, हामी आफैंभित्र छ । जब जनता विवेकहीन हुन्छन्, प्रश्न गर्न छाड्छन्, झोला बोकेर पछि लाग्नुलाई नै राजनीति ठान्छन्, तब नेता सुध्रिनुपर्ने कुनै बाध्यता नै रहँदैन । जो जता गयो, त्यहीँ जिन्दाबाद हुन्छ । जो चर्को बोल्यो, ऊ महान् नेता बन्छ । जो चिच्यायो, ऊ देशभक्त कहलिन्छ । र जो प्रश्न गर्छ, ऊ देशद्रोही ठहरिन्छ । यही मानसिकताले आजको नेपाली राजनीतिलाई यो अवस्थामा पुर्याएको हो ।
आजको राजनीति आफै रमाउने र आफै कमाउने थलो बनेको छ । आफै कानुन बनाउने, आफै तोड्ने, आफै भ्रष्टाचार गर्ने, आफै छानबिन गर्ने र आफै क्लिनचिट दिने अभ्यास संस्थागत भएको छ । राजनीतिमा लगाम लगाउने कोही छैन, खबरदारी गर्ने नागरिक छैन । किनकि सबै कुनै न कुनै दलको झोला बोकेर हिंडिरहेका छन् । यही कारणले पत्रकारिता गर्ने पत्रकार दलको झोला बोक्छ, उपचार गर्ने डाक्टर र नर्स दलको झोला बोक्छन्, पढ्ने विद्यार्थी दलको झोला बोक्छ, पढाउने शिक्षक र प्राध्यापक दलको झोला बोक्छन्, न्याय दिनुपर्ने न्यायाधीशसम्म दलको झोला बोकेको आरोपबाट मुक्त छैनन् । चुनावमा जनता पनि दलकै झोला बोक्छन् । देशको झण्डा बोक्ने थोरै छन्, दलको झोला बोक्ने अनगिन्ती छन् ।
देख्दा भोग्दा अचम्म लाग्छ – आज नेपालमा राजनीति सेवा होइन, सबैभन्दा सजिलो व्यापार बनेको छ । व्यापार छोडेर व्यापारी राजनीति गर्छन्, अभिनय छोडेर कलाकार राजनीति गर्छन्, बन्दुक छोडेर केही सुरक्षाकर्मी राजनीति गर्छन्, खेत बाँझो राखेर किसान राजनीति गर्छन्, कुर्सी छोडेर कर्मचारी राजनीति गर्छन्, कक्षा छोडेर विद्यार्थी राजनीति गर्छन् ।
समाजमा दादागिरी चलाउँदै आएका पात्रहरू राजनीति गर्छन्, धर्म र सेवा भन्नेहरू राजनीति गर्छन्, कानुन व्यवसायी र इन्जिनियर राजनीति गर्छन्, शिक्षक शिक्षिका राजनीति गर्छन्, ठेकेदार र भ्रष्टाचारी राजनीति गर्छन् । बाँकी रहने को ? योग्य, इमानदार युवा उनीहरू विदेशिन्छन् । हजुरबुवा, बुवा, आमा, श्रीमती, छोरा–छोरी सबै कुनै न कुनै रूपमा राजनीति भित्रै छन् । अब भन्नुस्, यस्तो देशको भविष्य के होला ?
यही फोहोरी राजनीतिमा हिजो मैले के बोलेँ, आज के बोल्दै छु, भोलि मान्छेले के भन्लान् भन्ने चेत नै हुँदैन । लाज, शरम, घिन, अडान, बुद्धि, विवेक, स्वाभिमान र इज्जत सबै खोलेर नाङ्गै हुने अभ्यासलाई नै आज नेपाली राजनीति भनिँदैछ । पशुभन्दा पनि कम चेत भएका पात्रहरूले तीन करोड नेपालीको प्रतिनिधित्व गर्छु, देश बनाउँछु भनेर बोल्दा लाज लाग्नुपर्ने हो, तर त्यस्ता कुरामा ताली बजाउने र आरती उतार्ने जनतालाई देख्दा झनै पीडा हुन्छ । यस्तो नौटङ्की देख्दा गाली गर्न मन लाग्छ, तर अश्लील शब्द प्रयोग गरेर आफै फोहोरी बन्नु समाधान होइन । राम्रो कुरा सिक्नुपर्छ, नराम्रो कुरा होइन ।
यही कारणले होला, यहाँ पनि बसर अल असदजस्ता पात्रहरूको रजाइँ सम्भव हुन्छ । पुराना देखि नयाँसम्म ठगहरूको राज चलिरहन्छ । बुद्धि र विवेक भएका मानिसहरू बोल्दैनन्, बन्धकजस्तै बनेका छन् । दिन प्रतिदिन ठगिएर रुनेहरूको संख्या बढ्दै गएको छ । ढिलो चाँडोको कुरा मात्र हो । हेरौं सिरिया, बंगलादेश, श्रीलंका, भेनेजुयला, आज इरान पनि र अन्य देशहरु पनि, भोलि जहाँ पनि हुन सक्छ । अन्तिममा सबै तानाशाहहरूले हेलिकोप्टर चढेर भाग्ने ठाउँ खोजेकै इतिहास छ ।
समग्रमा भन्नुपर्दा, हामी सुध्रेका पनि छैनौँ, सुध्रनेवाला पनि छैनौँ । क्षणिक राजनीतिक स्वार्थका लागि जे पनि गर्न तयार छौँ । आफ्नो जिन्दगी राजनीतिक दाम्लोले बाँध्यौँ, अब भोलिका सन्ततिको घाँटीमा पनि त्यही दाम्लो कस्दै छौँ । नेपालमा सबैका पछाडि लाग्ने मान्छे छन् ओलीका, प्रचण्डका, माधवका, शेरबहादुरका, मधेसवादीदेखि राप्रपादेखि नयाँ पुरानासम्म सबैका । तर अभाव छ भने एउटै चिजको “नेपाली” भएर सोच्ने नागरिकको । हामी त रहौँला, तर “नेपाली” सोच नै हराइसकेपछि भोलि “नेपाली” रहने ठाउँ कहाँ बाँकी रहला ? यही अवस्था रहिरह्यो भने एकदिन देशले नै घुँडा टेक्ने अवस्था नआओस् । किनकि देश ढल्दा नेता होइन, जनता नै च्यापिन्छ । अब प्रश्न एउटै छ – हामी कहिले झोला बोक्न छाडेर “नेपाली” नागरिक बन्छौँ ?
पत्रकारिता गर्ने पत्रकारहरू, दलका झोला बोक्ने
उपचार गर्ने डाक्टर र नर्सहरू, दलका झोला बोक्ने
स्कुल कलेज पढ्ने विद्यार्थीहरू, दलका झोला बोक्ने
पढाउने शिक्षक, प्राध्यापकहरू, दलका झोला बोक्ने
न्याय दिनुपर्ने न्यायाधीशहरू, दलका झोला बोक्ने
कार्यकर्ता उनीहरूकै भई गए, दलका झोला बोक्ने
जनता अघि पछि खोक्ने, चुनावमा, दलका झोला बोक्ने
विभाजित छन् केही गरौँ भन्ने, देशको झन्डा र झोला बोक्ने
त्यसैले होला यहाँ पनि बसर अल असदहरुको रजाइँ
पुराना देखी नयाँ सम्म, ठगहरूको रजाइँ
बोल्दैनन्, बन्धक छन् बुद्धि विवेक हुनेहरू
दिन प्रतिदिन थपिँदै छन् बारम्बार ठगिएर रुनेहरू
ढिलो चाँडोको कुरा मात्र हो असदहरु, तिमीहरू सोँच्दै गर
हेलिकोप्टर चढेर भाग्ने र ओर्लिने ठाउँ खोज्दै गर, बुझ्दै गर !
***
प्रचण्ड देउवा ओली माकुने
यी र यस्तै नेता पाएकै छौँ
पुराना देखी नयाँ जोगी सम्मको
पछि पछि आरती उतार्न लाएकै छौँ
प्यारो हर्क, हर्के हल्दार बन्दा पनि
बिचरा ढुङ्गा बोक्ने मेयर भन्दै
उनकै गुणगान गाएकै छौँ
लोकतन्त्र, गणतन्त्र, सङ्घीयताको
साह्रै मिठो फल खाएकै छौँ
हामी कति भाग्यमानी,
विरोध किन गर्नु नजानी नजानी !
ज्योति मगरहरू उफारेकै छौँ
स्टेजमा परे परोस् भ्वाङ
अङ्ग प्रदर्शन र तिघ्रा दर्शन
कला होइन चर्तिकला हेर्दै
सब छौँ मक्ख किन पार्नु स्वाङ !
किन चाहिए बुद्ध,
किन चाहिए राम ?
राक्षसहरू राज गर्छन्,
सज्जनको नभए पनि कुनै काम
धमलाको हमलामा
पत्रकारिता चलेको चलै छ हाम्रो
विदेश गएका पाखुराहरू,
रगत र पसिना सँग पैसा साट्छन्
रेमिटेन्स फलेको फलै छ हाम्रो
हामी कति भाग्यमानी
विरोध किन गर्नु नजानी नजानी !
प्रतिक्रिया