सिड्नी/ अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित बन्डी बीचमा यहूदी समुदायलाई लक्षित गरी गरिएको गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २९ जनालाई अस्पताल भर्ना गरिएको छ। घाइतेमध्ये एक जना बालक पनि रहेको प्रहरीले जनाएको छ। न्यू साउथ वेल्स प्रहरीले दिएको जानकारीअनुसार यहूदी पर्व हानुक्काको सुरुवातको अवसरमा बन्डी बीचमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी मानिस सहभागी भएका बेला आक्रमण भएको हो। गोलीकाण्डसँगै घटनास्थलमा आतङ्क फैलिएको थियो र सहभागीहरू ज्यान जोगाउन भागाभाग गरेका थिए।
प्रहरीका अनुसार घटनामा संलग्न एक जना बन्दुकधारी मारिएका छन् भने दोस्रो संदिग्ध गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। आक्रमणका क्रममा दुई जना प्रहरी अधिकारी पनि घाइते भएका छन्, जसको अवस्था गम्भीरदेखि अति गम्भीर रहेको र उनीहरू शल्यक्रियामा रहेको बताइएको छ। घटनास्थल नजिकै पार्क गरिएको एउटा सवारीसाधनमा थुप्रै स्वनिर्मित विस्फोटक पदार्थ (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) फेला परेपछि उद्धार बम निष्क्रियकरण टोली परिचालन गरिएको छ। प्रहरीले ती विस्फोटक मृतक आक्रमणकारीसँग सम्बन्धित रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।
न्यू साउथ वेल्स प्रहरी आयुक्त माल ल्याननले हानुक्काको पहिलो दिन, प्रयोग गरिएका हतियारको प्रकृति र घटनास्थलमा भेटिएका विस्फोटक सामग्रीका आधारमा यस घटनालाई आतङ्कवादी आक्रमणका रूपमा अनुसन्धान अघि बढाइएको बताए। उनले घटनाबारे गहिरो छानबिन हुने र सम्भावित तेस्रो संलग्न व्यक्ति भए–नभएकोबारे पनि अनुसन्धान भइरहेको स्पष्ट पारे।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजीले यो घटनालाई “राष्ट्रको मुटुमै प्रहार गरेको दुष्ट यहूदी–विरोधी आतङ्कवादी हमला” भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले यस्तो घृणा र हिंसाको अस्ट्रेलियामा कुनै स्थान नरहेको बताए। “खुशी र उत्सवको दिनमा लक्षित गरी गरिएको यो हमला अमानवीय र अस्वीकार्य छ,” प्रधानमन्त्रीले भने।
न्यू साउथ वेल्सका मुख्यमन्त्री क्रिस मिन्सले अस्ट्रेलियामा यस्ता सामूहिक गोलीकाण्ड दुर्लभ हुने भएकाले घटना झनै स्तब्ध पार्ने रहेको बताए। उनले यो सिड्नीका लागि अत्यन्तै दुःखद रात भएको उल्लेख गर्दै एकताबद्ध रहन सबैलाई आह्वान गरे। घटनाबारे पूर्ण अनुसन्धान हुने र आवश्यक परे कानुन तथा सुरक्षा व्यवस्थामा तत्काल सुधार गरिने उनको भनाइ छ।
मुख्यमन्त्री मिन्सले आक्रमणकारीसँग जुधेर बन्दुक खोसेर उनीहरूलाई पछि हट्न बाध्य बनाउने व्यक्तिलाई ‘साँचो नायक’ भन्दै प्रशंसा पनि गरे। “उनको साहसका कारण आज धेरै मानिसको ज्यान बचेको छ,” उनले भने।
घटनाका प्रत्यक्षदर्शीले गोली चल्न थालेपछि आफ्ना सन्तानसहित ज्यान जोगाउन समुद्री किनारबाट भाग्नुपरेको बताए। उनले त्यो क्षण अत्यन्तै त्रासदीपूर्ण र अवर्णनीय भएको बताए। प्रहरी आयुक्त ल्याननले सामाजिक सञ्जालमा फैलिरहेका अनुमान र नामप्रति प्रतिक्रिया जनाउँदै संयम अपनाउन आग्रह गरे। “यो प्रतिशोधको समय होइन, प्रहरीलाई आफ्नो कर्तव्य गर्न दिनुपर्छ,” उनले भने।
घटनापछि सम्पूर्ण अनुसन्धान काउन्टर–टेरोरिज्म इकाइको नेतृत्वमा गरिने र “कुनै पनि पक्ष नछुटाइने” प्रहरीले स्पष्ट पारेको छ। स्थिति अझै संवेदनशील रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने सम्भावनालाई नकार्न नसकिने अधिकारीहरूको भनाइ छ।
प्रतिक्रिया