अमेरिकी सुरक्षा चेतावनीपछि प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सले भेनेजुएला उडान स्थगित, मादुरोसँगको कूटनीतिक तनाव चर्किँदै
अमेरिकाको हवाइ सुरक्षा चेतावनीपछि ब्राजिल, कोलम्बिया, पोर्चुगललगायतका प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले भेनेजुएलातर्फका उडानहरू स्थगित गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रपति निकोलास मादुरोविरुद्ध दबाब बढाइरहेका बेला यात्रु आवत–जावतमा ठूलो अवरोध सिर्जना भएको छ। रायटरका अनुसार ब्राजिलको Gol Airlines, कोलम्बियाको Avianca, र TAP Air Portugal ले शनिबारदेखि कराकासबाटका उडानहरू रद्द गरेका छन्। स्पेनको Iberia ले पनि सोमबारदेखि अनिश्चितकालका लागि उडान बन्द हुने जनाएको छ। अर्कातर्फ, Copa Airlines र Wingo ले उडान जारी राखिरहेका छन् भने LATAM ले बोगोटातर्फको आइतबारको उडान रद्द गरेको छ। अमेरिकी Federal Aviation Administration (FAA) ले नोभेम्बर २२ मा जारी गरेको चेतावनीमा भेनेजुएलाको माथिल्लो हवाई क्षेत्रमा “गम्भीर जोखिम” रहेको उल्लेख गर्दै एयरलाइन्सलाई “विशेष सतर्कता” अपनाउन आग्रह गरेको थियो।
अमेरिकी सैन्य उपस्थिति बढ्दै, भेनेजुएलाको ‘Cartel de los Soles’ आतङ्कवादी सूचीमा
उडान अवरोधसँगै ट्रम्प प्रशासनले भेनेजुएलाको कुख्यात मादक पदार्थ तस्करी समूह Cartel de los Soles लाई आधिकारिक रूपमा “विदेशी आतङ्कवादी संगठन” का रूपमा सूचीबद्ध गरेको छ। यस समूहमा भेनेजुएलाका उच्च सैनिक तथा सरकारी अधिकारीहरू संलग्न रहेको आरोप छ र अमेरिका तथा युरोपतर्फ लागुऔषध तस्करीमा भूमिका रहेको बताइन्छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले समूहलाई “हाम्रो महादेशभरि आतंक फैलाउने तथा अमेरिकातर्फ ठूलो मात्रामा लागूऔषध आपूर्ति गर्ने प्रमुख स्रोत” भनेका छन्। यसैबीच, अमेरिकी दक्षिण कमान्डले क्यारिबियन क्षेत्रमा बमवर्षक विमान, युद्धपोत तथा मरीन फौज परिचालन गर्दै मादक पदार्थ तस्करीविरुद्ध कडा कारबाही गरिरहेको छ।
युरोपेली देशहरूले यात्रा चेतावनी कडा बनाए
अमेरिकी चेतावनी तथा एयरलाइन्सहरूको उडान स्थगनपछि युरोपेली देशहरूले पनि भेनेजुएलाबारे नयाँ यात्रा सूचना प्रकाशित गरेका छन्। जर्मनीले भेनेजुएलाको स्थितिलाई “तनावपूर्ण र झन् बिग्रिन सक्ने अवस्था” भनेको छ।
बेलायतले नागरिकलाई चेतावनी दिंदै भनेको छ:
“केही एयरलाइन्सहरूले अचानक उडान रद्द गरेका छन्। यात्रुहरूले आफूले टिकट काटेको एयरलाइन्ससँग निरन्तर सम्पर्कमा रहनुपर्छ।”
भेनेजुएला जाने अन्तर्राष्ट्रिय उडानहरूमा अनिश्चितता कायमै रहेकाले यात्रु तथा व्यवसायिक समूहहरू प्रभावित भएका छन्।
अमेरिकी सुरक्षा चेतावनीपछि भेनेजुएलातर्फका अन्तर्राष्ट्रिय उडानहरू स्थगित, कराकासमा हवाई आवागमन संकट
कराकास — अमेरिकाको Federal Aviation Administration (FAA) ले भेनेजुएलाको हवाई क्षेत्रमा “गम्भीर सुरक्षा जोखिम” बढ्दै गएको भन्दै सावधानी अपनाउन निर्देशन जारी गरेपछि, आइतबारदेखि भेनेजुएलातर्फका अन्तर्राष्ट्रिय उडानहरू द्रुत रूपमा स्थगित हुन थालेका छन्।
भेनेजुएला एयरलाइन्स संघकी अध्यक्ष मारिसेला डे लोआइजा ले AP लाई दिएको जानकारीअनुसार छ वटा प्रमुख एयरलाइन्स ले अनिश्चितकालका लागि आफ्नो उडान बन्द गरिसकेका छन्— TAP Air Portugal, LATAM, Avianca, Iberia, Gol Airlines, र Caribbean Airlines।
Turkish Airlines ले पनि नोभेम्बर २४ देखि २८ सम्मका उडान स्थगित गरेको छ।
यस्तै, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रो ले X (Twitter) मा लेख्दै भने,
“सामान्य उडानहरू सबै ल्याटिन अमेरिकी मुलुकसम्म अवरुद्ध हुन नदिनुपर्छ। देशहरूलाई अवरोध गर्नु भनेको जनतालाई अवरोध गर्नु हो, र त्यो मानवअधिकारविरुद्धको अपराध हो।”
शुक्रबार जारी चेतावनीमा FAA ले भेनेजुएलाभित्र र वरिपरि रहेका विमानलाई लक्षित “अनिश्चित सुरक्षा खतरा” का कारण
“उडानको हरेक उचाइ तथा अवतरण–उडान प्रक्रियामा जोखिम हुन सक्ने” उल्लेख गरेको थियो।
यसले ग्राउन्डमा पार्क गरिएका विमानसम्मलाई पनि सम्भावित खतरा रहेको चेतावनी दिएको छ।
अमेरिकी सेना हालै भेनेजुएलाको तटसम्म बमवर्षक विमान उडाउँदै आएको छ, जसले सम्भावित आक्रमण अभ्यासको संकेत दिन्छ।
त्यसैगरी, USS Gerald R. Ford विमानवाहक जहाज र धेरैवटा विध्वंसक युद्धपोत समेत क्यारिबियन क्षेत्रमा तैनाथ गरिएको छ।
यो तैनाथी पछिल्ला दशकमा क्यारिबियन क्षेत्रमा परिचालित सबैभन्दा ठूलो अमेरिकी सैन्य शक्ति मानिएको छ।
ट्रम्प प्रशासनले मादुरोलाई भेनेजुएलाको “वैध नेता होइन” भन्दै आलोचना गर्दै आएको छ।
मादुरोमाथि अमेरिकामा नार्को–टेररिज्म सम्बन्धी अभियोग समेत लागेको छ।
ट्रम्प प्रशासनले सेप्टेम्बरदेखि क्यारिबियन समुद्र र पूर्वी प्रशान्त क्षेत्रमा ड्रग–स्मगलिङका साना डुंगामाथि हवाई तथा समुद्री स्ट्राइक गर्दै आएको छ।
अमेरिकी दाबी अनुसार यी कारबाहीमा अहिलेसम्म ८० भन्दा बढी व्यक्ति मारिएका छन्।

प्रतिक्रिया