म आफूमात्र मान्छे हूँ अरू हुन् काठका मुढा
म हिरा मोति हूँ सारा अरू बेकामका कुडा
म मात्रै हूँ महाज्ञानी पटमूर्ख सबै अरू
म स्वयम्भू अरू सारा गोरूका बछडाहरू
म बोले वेदको वाक्य अरू बोले फजूल हो
अरू पत्कर हुन् सारा म मात्रै एक फूल हो
मेरो दृष्टि महादृष्टि अरूको दृष्टि बेतुक
अरू बेठिक हुन् सारा म मात्रै सर्वथा ठिक
अरू बेकुफ हुन् सारा अल्पज्ञानी म पण्डित
म मात्रै फूलको माला मान सन्मान मण्डित
म नै हूँ राज्य साम्राज्य विश्व ब्रम्हाण्ड सभ्यतै
अरू हुन् भुसुना साना जो छन् संसारमा सबै
नभए म धरा हुन्न हुन्न आकाश यो पनि
धानेको छु सबै मैले जे छ संसार जीवनी
म नै ब्रह्म म नै माली म नै शाश्वत ईश्वर
मभन्दा गुणवान् उम्दा सृष्टिमै को छ खै नर
दूधले हूँ म न्वाएको मै सुगन्ध सुपुष्पको
म नै घाम म नै पानी म नै प्राणत्व सृष्टिको
जड चेतन वा सारा दृष्यादृष्य चराचर
केही अर्को छँदैछैन मभन्दा उच्च उर्वर
प्रतिक्रिया