युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की सोमबार वासिङ्टन डीसी प्रस्थान गर्दैछन् जहाँ उनको भेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ। यो भेट अलास्कामा सम्पन्न ट्रम्प–पुटिन शिखर बैठक कुनै ठोस सहमति विना टुंगिएलगत्तै तय गरिएको हो। अलास्का बैठकपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय “सीधा स्थायी शान्ति सम्झौता” हो भन्दै अस्थायी युद्धविरामहरू प्रायः टिक्दैनन् भन्ने धारणा सार्वजनिक गरे।
यसैबीच, बैठकमा कुनै सम्झौता नभए पनि ट्रम्पले महत्वपूर्ण प्रगति भएको दाबी गरे भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू “युद्ध अन्त्यमा ईमानदारीपूर्वक इच्छुक” रहेको अभिव्यक्ति दिए। पुटिनले प्रत्यक्ष सम्झौता नगरी पनि वार्ताबाट पर्याप्त लाभ लिन सफल भएको रुसी विश्लेषकहरूले उल्लेख गरेका छन्। बैठकपछि जेलिन्स्कीले ट्रम्पसँग लामो र गहन फोनवार्ता गरेका थिए, जसमा अन्य नाटो नेताहरू पनि संलग्न थिए।
उता, कीभमा भने केही हदसम्म राहत महसुस गरिएको छ किनकि युक्रेनलाई समावेश नगरी कुनै सम्झौता नभएकोमा उनीहरूलाई सन्तोष मिलेको छ। यसरी, अलास्कामा भएको उच्चस्तरीय वार्ता सम्झौताविहीन टुंगिए पनि अमेरिकाले प्रगतिशील संवाद भएको दाबी गरेको छ, र अबको केन्द्रबिन्दु वासिङ्टनमा हुने ट्रम्प–जेलिन्स्की भेट हुने देखिन्छ। अलास्का शिखर वार्तापछि युक्रेन युद्धबारे अन्तर्राष्ट्रिय कूटनीतिक बहस नयाँ दिशातर्फ मोडिएको छ। प्रारम्भमा युरोपेली संघका काजा क्यालसले शान्ति प्रक्रिया केवल युद्धविराम वा लडाइँको कमीका सन्दर्भमै सम्भव हुने बताएका थिए। तर ट्रम्प–पुटिन भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने उत्तम उपाय अस्थायी युद्धविराम नभई लामो र कठिन शान्ति सम्झौता भएको बताए। उनका अनुसार अस्थायी युद्धविरामहरू प्रायः लामो समय टिक्दैनन्।
रक्षाविज्ञ म्याथ्यु साविलका अनुसार यो फेरि पनि रूसका लागि कूटनीतिक जित हो। पुटिनको लक्ष्य तत्काल सैन्य गतिविधि सीमित नगर्ने थियो भने, त्यो सफल भएको छ। अहिले पनि पूर्वी युक्रेनमा रूसी सेना अगाडि बढिरहेको छ र यसलाई उनीहरूले आगामी वार्तामा बलियो पत्ता बनाउने देखिन्छ। साविलले मॉस्को अझै समय खेलेरै टिकी रहने रणनीतिमा रहेको बताए। यसबीच, राष्ट्रपति जेलिन्स्कीले ट्रम्पसँगको वार्तापछि सार्वजनिक वक्तव्य जारी गर्दै रूस ईमानदारीपूर्वक शान्ति चाहँदैन भने थप कडा प्रतिबन्ध लगाउनुपर्ने माग गरे। उनले कुनै पनि निर्णय युक्रेनको सहभागिता विना नहुने स्पष्ट पारे। उनले स्थायी र भरपर्दो शान्ति, युद्धबन्दीहरूको मुक्ति, जमिन र आकाशमा युद्धविराम, र युरोप–अमेरिकाको दीर्घकालीन सुरक्षा ग्यारेन्टी आवश्यक रहेको जोड दिए।
युरोपेली नेताहरूले पनि जेलिन्स्कीको मागलाई समर्थन गर्दै रूसमाथि दबाब निरन्तर राख्नुपर्ने बताएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, फिनल्याण्डका राष्ट्रपति एलेक्जान्डर स्टब, इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, बेलायतका प्रधानमन्त्री कीयर स्टार्मर लगायतका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनको पक्षमा दृढ ऐक्यबद्धता व्यक्त गरे। उनीहरूले अबको चरणमा अमेरिका, रूस र युक्रेनबीच त्रिपक्षीय शिखर वार्ता हुनुपर्नेमा जोड दिएका छन्।
बेलायती प्रधानमन्त्री स्टार्मरले ट्रम्पको पहललाई प्रशंसा गर्दै “हामी युद्ध अन्त्यतर्फ अहिलेसम्मकै नजिक पुगेका छौं” भनेका छन्। तर उनले पनि स्पष्ट पारे—अगाडि बढ्नका लागि राष्ट्रपति जेलिन्स्कीको प्रत्यक्ष संलग्नता अनिवार्य छ। यसैबीच, रुसको रक्षा मन्त्रालयले डोनेत्स्क र ड्निप्रोपेत्रोभ्स्क क्षेत्रमा दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ। युद्ध अध्ययन संस्थाका अनुसार रूसी सेना हाल दैनिक औसत १५–१६ वर्ग किलोमिटर युक्रेनी भूभागमा अगाडि बढिरहेको छ। हालसम्म रूसले युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जा गरिसकेको छ।
राष्ट्रपति ट्रम्पले कतिपय प्रसंगमा भूभाग साटासाटमार्फत युद्ध अन्त्य गर्न सकिने बताएका भए पनि राष्ट्रपति जेलिन्स्कीले भने “युक्रेन कुनै पनि जमिन त्याग्न तयार छैन” भनी ठाडो अस्वीकार गरेका छन्। यसरी, अस्थायी युद्धविरामलाई पन्छाएर प्रत्यक्ष शान्ति सम्झौता खोज्ने अमेरिकी र रूसी रेखांकनले तत्कालका लागि रूसी पक्षलाई लाभ पुर्याएको छ भने, युक्रेन र उसका सहयोगीहरूलाई अझै कठिनाइमा पारेको देखिन्छ। अब सबैतर्फको दृष्टि वासिङ्टनमा हुने ट्रम्प–जेलिन्स्की भेटतर्फ केन्द्रित भएको छ।
प्रतिक्रिया