
Updated …..सिन्धुलीबाट बेपत्ता भएको भनिएको हायू परिवार पोखरामा सकुशल फेला, “बिरामी हुने डरले नयाँ ठाउँ खोजेका थियौं”
पोखरा/ सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएका उर्मिला हायूको परिवारका १६ जना सदस्य अन्ततः पोखरामा सकुशल फेला परेका छन्।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार, उनीहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा क्षेत्रमा दुई वटा घरमा बाँडिएर बसेको अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार, उनीहरू गत शनिबार नै पोखरा आएका थिए र लेकसाइडस्थित होटल जननीमा तीन कोठा लिएर बसेका थिए। होटल सञ्चालक सुनिल भूर्तेलका अनुसार, उनीहरू आइतबार बिहानै होटलबाट निस्किएका थिए।
त्यसपछि सोमबार बिहान एकै परिवारका १६ जना सम्पर्कविहीन भएको खबर अनलाइनखबरलगायत विभिन्न माध्यममा प्रकाशित भएपछि प्रहरी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले खोजी तीव्र पारेका थिए।
उनीहरू स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा शरण लिएका थिए। प्रहरीका अनुसार, उनीहरूले ज्यामी काम गर्न आएको भन्दै ती घरमा बस्न थालेका थिए।
एसपी ओलीया भन्छन्, “उनीहरू दुई घरमा बाँडिएर बसेका थिए। ज्यामी काम गर्न आएका हौं भन्दै ती घरमा बसेका रहेछन्।“
प्रहरीसँगको प्रारम्भिक बयानमा हायू परिवारका सदस्यहरूले भनेका छन् कि, “सिन्धुलीको वातावरणमा बारम्बार बिरामी हुने भएपछि नयाँ ठाउँ खोज्दै पोखरा आएका” हुन्।
“हामी त्यहाँ सधैं बिरामी परिरहन्थ्यौं। उपचार गर्न अस्पताल जान पनि समस्या थियो, त्यसैले हिँडेको हौं,” प्रहरीले उद्धृत गर्दै जनाएको छ।
प्रहरीका अनुसार, उनीहरूले अहिले सिन्धुली फर्कन अस्वीकार गरेका छन्।
एसपी ओलीया भन्छन्, “उहाँहरू आफूलाई अब सिन्धुली पठाइयोस् भन्ने चाहनुहुन्न। यतै पोखरामा बस्ने व्यवस्था गरिदिन आग्रह गर्नुभएको छ।“
प्रहरीले हाल इलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा राखेर उनीहरूलाई सोधपुछ गरिरहेको छ।
प्रतिक्रिया