भिसा नीतिमा लचकता ल्याएसँगै चीनमा विदेशी पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। सरकारले पर्यटन प्रवर्द्धन, आर्थिक लाभ वृद्धि र विश्वसमक्ष आफ्नो सौम्य शक्ति (soft power) विस्तार गर्ने रणनीतिको हिस्सा रूपमा भिसा विना प्रवेश प्रणालीलाई क्रमशः फराकिलो बनाउँदै लगेको छ।
चीनको राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार, सन् २०२४ मा दुई करोडभन्दा बढी विदेशी पर्यटकले भिसा विना नै चीन प्रवेश गरेका थिए, जुन कुल पर्यटक संख्याको एकतिहाइ हो र अघिल्लो वर्षको तुलनामा दोब्बर वृद्धि हो।
“भिसा प्रक्रिया झन्झटिलो हुन्छ, तर अहिलेको नीतिले यात्रा सहज बनाएको छ,” बेइजिङको चर्चित टेम्पल अफ हेभनमा घुमिरहेका जर्जियाका पर्यटक जर्जी शावाद्जेले प्रतिक्रिया दिए।
अहिलेसम्म अधिकांश पर्यटकीय स्थलहरूमा स्वदेशी पर्यटकहरूको नै वर्चस्व छ। तर, आगामी ग्रीष्मकालीन बिदालाई लक्षित गर्दै ट्राभल एजेन्सी र गाइडहरूले विदेशी पर्यटकहरूको बाढी आउने अपेक्षासहित तयारी तीव्र बनाएका छन्। दुई दशकदेखि अंग्रेजी टुर गाइडको रूपमा काम गरिरहेकी गाओ जुन भन्छिन्, “म पर्यटकको भिडबाट थाकिसकेको छु। सबैलाई सम्हाल्न नसकिने अवस्था आउन थालिसक्यो।” उनले अब अंग्रेजी बोल्ने गाइड उत्पादन गर्न तालिम दिने नयाँ व्यावसायिक योजना सुरु गरेकी छिन्।
कोभिड–१९ महामारीपछिको प्रतिबन्ध हटेपछि चीनले सन् २०२३ को प्रारम्भमा विदेशी आगन्तुकका लागि ढोका खोलेको थियो। तर, त्यो वर्ष मात्र १ करोड ३८ लाख पर्यटक आएका थिए, जुन सन् २०१९ को ३ करोड १९ लाखको तुलनामा आधाभन्दा कम थियो।
सन् २०२३ को अन्त्यमा चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका नागरिकलाई भिसामुक्त प्रवेश सुविधा दियो। त्यसपछि यो विस्तार हुँदै युरोपको अधिकांश भाग समेटिएको छ। हालै ल्याटिन अमेरिका र मध्यपूर्वका थप देशलाई पनि सूचीमा समावेश गरिएको छ। आगामी जुलाई १६ मा अजरबैजान पनि समावेश भएपछि भिसामुक्त देशको संख्या ७५ पुग्नेछ।
यीमध्ये करिब दुई तिहाइ देशलाई एक वर्षको परीक्षण अवधिका लागि यो सुविधा दिइएको हो।
नर्वेका ओइस्टेन स्पोर्शेमले आफ्नो परिवारलाई ओस्लोस्थित चिनियाँ दूतावासमा दुईपटक धाउनुपर्ने बाध्यता हटेपछि यो नीति उपयोगी भएको बताए। “दूतावास धेरैजसो बन्द हुने भएकाले प्रक्रिया झन्झटिलो र महँगो थियो,” उनले भने।
व्यवसायिक दृष्टिकोणबाट पनि लाभदायी
वाइल्डचाइना नामक बुटिक ट्राभल कम्पनीकी प्रबन्ध निर्देशक जेनी झाओका अनुसार, “नयाँ नीति हाम्रो लागि १०० प्रतिशत फाइदाजनक सावित भएको छ।” उनको व्यवसाय महामारीअघिको तुलनामा ५० प्रतिशतले बढेको छ। हाल अमेरिका उनीहरूको सबैभन्दा ठूलो बजार हो – करिब ३० प्रतिशत हिस्सा ओगट्ने। तर, युरोपेली पर्यटकहरूको हिस्सा २०१९ अघि ५ प्रतिशतभन्दा कम भए पनि अहिले १५–२० प्रतिशत पुगेको छ।
ट्रिप डट कम नामक अनलाइन ट्राभल एजेन्सीका अनुसार, यस वर्षको पहिलो तीन महिनामा चीन भ्रमणसम्बन्धी हवाई टिकट, होटल तथा अन्य बुकिङ दोब्बर भएको छ – जसमध्ये ७५ प्रतिशत भिसामुक्त देशहरूबाट आएका हुन्।
अफ्रिकी र अन्य देशका लागि चुनौती
हालसम्म कुनै पनि प्रमुख अफ्रिकी राष्ट्रले पूर्ण भिसामुक्त सुविधा पाएका छैनन्। यद्यपि, अफ्रिकासँग चीनको सम्बन्ध ऐतिहासिक रूपमा सुमधुर रहँदै आएको छ। उत्तर अमेरिकी तथा अन्य केही देशका नागरिकलाई भने १० दिनसम्मको ट्रान्जिट भिसामुक्त प्रवेश दिइएको छ, यदि उनीहरू तेस्रो मुलुकतर्फ यात्रा गर्दैछन् भने।
यो नीति हाल ६० प्रवेश विन्दुमा सीमित छ र ५५ देशका लागि लागू गरिएको छ – तीमध्ये अधिकांश देशहरू पहिले नै ३० दिनको पूर्ण भिसामुक्त सूचीमा परेका छन्।
तर केही प्रमुख राष्ट्रहरू – जस्तै बेलायत, अमेरिका, क्यानडा, मेक्सिको, स्विडेन, युक्रेन, इन्डोनेसिया, चेक गणतन्त्र, लिथुआनिया र रुस – अझै पनि भिसा प्रक्रियामै परिरहेका छन्।
स्विडेन भने एक मात्र उच्च आय भएको युरोपेली राष्ट्र हो, जुन ३० दिनको सूचीमा परेन। यसको प्रमुख कारण सन् २०२० मा चिनियाँ सरकारले स्विडेनी लेखक गुई मिन्हाईलाई १० वर्षको जेल सजाय दिँदै राजनीतिक तनाव चर्किनु हो। गुई सन् २०१५ मा थाइल्यान्डबाट हराएका थिए र पछि चीनमा पक्राउ परेका थिए।
प्रतिक्रिया