नेपालको महिला राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटको समूह चरणमै रोकिएको छ। समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ को हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
तासकेन्तको बुनयोदकोर स्टेडियममा सम्पन्न उक्त खेलमा उज्बेकिस्तानले पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो। दोस्रो हाफमा कप्तान सावित्रा भण्डारीले दुई गोल गर्दै ह्याट्रिक पुरा गरेपछि खेल ३–३ को बराबरीमा टुंगिएको थियो। बराबरीपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत तय भएको हो।
पेनाल्टी सुटआउटमा नेपालको पहिलो प्रहार बारमा लागेर बाहिरियो। दोस्रो पेनाल्टीमा गीता रानाले गोल गरिन् भने तेस्रोमा सबिता राना मगरले पनि सफल प्रहार गरिन्। तर चौथो पेनाल्टीमा अन्जना राना मगरको प्रहार उज्बेकिस्तानकी गोलकिपरले रोक्दा नेपाल ४–२ ले पेनाल्टीमा पराजित भयो।
उज्बेकिस्तानका सबै चार खेलाडीले पेनाल्टीमा गोल गर्न सफल रहे। यस जितसँगै उज्बेकिस्तान एएफसी एसियन कपको अन्तिम चरणमा स्थान बनाउन सफल भयो।
खेलको पहिलो मिनेटमै उज्बेकिस्तानले खाता खोलेको थियो। फिरुजाले दिएको पासलाई खबीबुल्लीभाले डिबक्सको बीचबाट गोलमा परिणत गरेकी थिइन्। एघारौँ मिनेटमा उज्बेक कप्तान उदमिल्ला कराचिकको क्रस नेपाली डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लागेर आत्मघाती गोल भएको थियो।
१६ औँ मिनेटमा नेपालले काउन्टर अट्याक गरेको थियो तर रश्मीकुमारी घिसिङको प्रहार उज्बेक गोलकिपरले सजिलै रोकिन्। २४ औँ मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत प्रयासमा गोल गर्दै नेपाललाई खेलमा फर्काइन्।
३८ औँ मिनेटमा सरस्वती हमालले डिबक्स भित्र फाउल गरेपछि उज्बेकिस्तानलाई पेनाल्टी मिल्यो। त्यसको विरोध गर्दा नेपाली प्रशिक्षक प्याट्रिकले पहेँलो कार्ड पाएका थिए। ३९ औँ मिनेटमा माफ्तुना सोइमोभाले पेनाल्टीमार्फत उज्बेकिस्तानको तेस्रो गोल गरिन्।
पहिलो हाफको अन्तिम थप समयमा उज्बेकिस्तान १० खेलाडीमा सीमित भयो। जर्सी नम्बर १९ की नोजीमाखोनले सावित्रा भण्डारीमाथि फाउल गर्दा दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड खाँदै मैदान छाडिन्।
७१ औँ मिनेटमा सावित्रा भण्डारीले दोस्रो गोल गर्दै स्कोर ३–२ बनाइन्। त्यसपछि ७३ औँ मिनेटमा उनले पुन: गोल गर्दै ह्याट्रिक पुरा गरिन् र खेल बराबरीमा ल्याइन्।
तर, पेनाल्टी सुटआउटमा पराजित हुँदै नेपाल एसियन कपको सपना पूरा गर्न असफल रह्यो। तीन खेलमा सावित्राले तेस्रो ह्याट्रिक गरे पनि टोलीलाई अघि बढाउन पर्याप्त बनेन।
प्रतिक्रिया