काठमाडौं । नेपाली चलचित्र उद्योगको नियामक तथा प्रवर्द्धनकारी निकाय चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव–२०८३ भव्य र सभ्य वातावरणमा सम्पन्न गरेको छ। चलचित्र क्षेत्रका अग्रजदेखि नयाँ पुस्तासम्मका कलाकार, निर्माता, निर्देशक, प्राविधिक, वितरक, प्रदर्शक, पत्रकार तथा सरकारी उच्च अधिकारीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई चलचित्र उद्योगकै साझा उत्सवका रूपमा स्थापित गरेको थियो।
सूचना तथा सञ्चार मन्त्रालयको समन्वय तथा चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, सदस्य–सचिव राजेश थापा, बोर्डका पदाधिकारी, चलचित्रकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा चलचित्र विकास बोर्डका सदस्य–सचिव राजेश थापाले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली चलचित्र उद्योगको विकास, संरक्षण र प्रवर्द्धनका लागि बोर्डले पछिल्लो समय थालेका सुधारका प्रयासहरू निरन्तर अघि बढिरहेको बताए। उनले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने लक्ष्यका साथ विभिन्न नीतिगत तथा प्रशासनिक सुधारहरू अघि बढाइएको उल्लेख गरे।
त्यसपछि मन्तव्य राख्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रको संस्कृति, इतिहास, भाषा, पर्यटन र पहिचान विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताइन्। उनले सरकारले चलचित्र उद्योगलाई सिर्जनात्मक अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्रका रूपमा लिँदै आवश्यक नीति, कानुन तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगले पछिल्लो समय प्रविधि, प्रस्तुति र अन्तर्राष्ट्रिय पहुँचका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै सरकारले चलचित्र क्षेत्रलाई रोजगारी, पर्यटन, सांस्कृतिक कूटनीति तथा राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको महत्त्वपूर्ण उद्योगका रूपमा विकास गर्ने नीति लिएको बताए। उनले चलचित्र विकास बोर्ड र चलचित्रकर्मीबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै उद्योगको दिगो विकासका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा सरकार सकारात्मक रहेको बताए।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बोर्डले पछिल्लो अवधिमा गरेका कामहरूको समीक्षा प्रस्तुत गर्दै चलचित्र उद्योगलाई व्यवस्थित, पारदर्शी र आधुनिक बनाउने अभियानलाई निरन्तरता दिइएको जानकारी दिए। उनले चलचित्र छायांकन अनुमति प्रक्रिया, अभिलेखीकरण, डिजिटल सेवा विस्तार, चलचित्र प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य, चलचित्र पर्यटन तथा चलचित्रकर्मीमैत्री प्रशासन निर्माणलाई प्राथमिकतामा राखिएको बताए।
उनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार, विदेशी छायांकनलाई नेपाल आकर्षित गर्ने नीति, चलचित्र क्षेत्रका कानुनी सुधार, प्राविधिक क्षमता अभिवृद्धि तथा चलचित्र संस्कृतिको संरक्षणलाई आगामी दिनका प्रमुख कार्यसूचीका रूपमा अघि बढाइने जानकारी पनि दिए।
वार्षिकोत्सव समारोहमा नेपाली चलचित्र क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै चलचित्रसँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरी उनीहरूको औपचारिक अभिलेखीकरण तथा संस्थागत पहिचानलाई समेत बलियो बनाइएको थियो।
कार्यक्रममा वरिष्ठ तथा चर्चित कलाकार, निर्देशक, निर्माता, प्राविधिक, चलचित्र पत्रकार तथा चलचित्रसँग सम्बन्धित विभिन्न पेशागत संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले नेपाली चलचित्र उद्योगको एकता, सहकार्य र संस्थागत विकासप्रतिको साझा प्रतिबद्धतालाई थप बलियो बनाएको सहभागीहरूको भनाइ थियो।
पछिल्ला महिनाहरूमा चलचित्र विकास बोर्डले सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटल प्रणालीतर्फ उन्मुख बनाउन थालेका विभिन्न सुधारात्मक प्रयासहरूको पनि कार्यक्रममा चर्चा गरिएको थियो। चलचित्र क्षेत्रसँग सम्बन्धित प्रक्रिया सहज बनाउने, उद्योगसँग निरन्तर संवाद गर्ने तथा नीतिगत सुधारलाई प्राथमिकता दिने कार्यले बोर्डप्रति चलचित्रकर्मीहरूको अपेक्षा बढाएको सहभागीहरूले बताएका छन्।
विशेषगरी अध्यक्ष दिनेश डीसीको नेतृत्वमा बोर्डले उद्योगसँग नियमित संवाद, प्रशासनिक सुधार, संस्थागत समन्वय तथा चलचित्रमैत्री वातावरण निर्माणमा सक्रियता देखाएको भन्दै कार्यक्रममा सहभागी धेरै चलचित्रकर्मीहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए। उनीहरूले बोर्डले विगतको तुलनामा उद्योगसँग नजिकिएर काम गर्न थालेको अनुभूति भएको उल्लेख गर्दै आगामी दिनमा चलचित्र ऐन, लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार तथा नेपाली चलचित्रको विश्वव्यापी पहिचान निर्माणमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
भव्य, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहले नेपाली चलचित्र उद्योगको वर्तमान अवस्था, आगामी सम्भावना र संस्थागत विकासप्रतिको साझा प्रतिबद्धतालाई पुनः उजागर गरेको सहभागीहरूको निष्कर्ष थियो। चलचित्र क्षेत्रका जानकारहरूका अनुसार सरकार, चलचित्र विकास बोर्ड र चलचित्र उद्योगबीचको सहकार्य अझ सुदृढ हुन सके नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रतिस्पर्धी र प्रभावशाली बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।












































प्रतिक्रिया