इनरुवा/सुनसरी, साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडपमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यस घटनाले लामो समयदेखि शान्तिपूर्ण सहअस्तित्वमा रहेको स्थानीय समुदायमा गम्भीर तनाव सिर्जना गरेको छ।
स्थानीय जनप्रतिनिधिका अनुसार गोली लागेर गम्भीर घाइते भएका ३० वर्षीय ओमप्रकाश मेहताको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। अर्का एक गम्भीर घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी छ।
घटनापछि सम्पूर्ण क्षेत्र उच्च सुरक्षा सतर्कतामा राखिएको छ। स्थानीय प्रशासनले कर्फ्यु तथा निषेधाज्ञा जारी गरे पनि केही स्थानमा तोडफोड र तनावका घटना छिटफुट रूपमा देखिएको स्थानीय स्रोतले जनाएको छ।
स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूका अनुसार कप्तानगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच विगतदेखि नै सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको थियो। दुवै समुदायका नागरिकले विभिन्न सामाजिक तथा सार्वजनिक कार्यक्रमहरू आपसी सहमतिमै सञ्चालन गर्दै आएका थिए।
तर आइतबार राति साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोशीतर्फ जाने तयारी गरिरहेका युवाहरू डिजे बाजासहित शिव मन्दिर नजिक पुगेपछि विवाद सुरु भएको बताइएको छ।
स्थानीयका अनुसार त्यस क्रममा अर्को समुदायका केही व्यक्तिले रातिको समयमा ठूलो आवाजमा डिजे नबजाउन आग्रह गरेका थिए। आग्रह नमानेपछि दुवै पक्षबीच भनाभन सुरु भयो। केहीबेरमै अवस्था झडपमा परिणत हुँदै तोडफोड र कुटाकुटसम्म पुगेको थियो।
घटनास्थलमा सुरुदेखि सीमित संख्यामा मात्र प्रहरी रहेको र भीड बढ्दै गएपछि थप सुरक्षा टोली परिचालन गरिएको बताइएको छ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार झडप भइरहेको समयमा क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। अन्धकारकै बीच गोली चलेको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार सुरुमा हवाई फायर गरिएको जस्तो सुनिएको भए पनि त्यसपछि वास्तविक गोली चलेको थियो। तर गोली कसले चलायो भन्ने विषयमा अहिले पनि आधिकारिक पुष्टि भइसकेको छैन। प्रहरीले चलाएको गोली थियो वा अन्य कुनै स्रोतबाट प्रहार भयो भन्ने विषय छानबिनकै क्रममा रहेको बताइएको छ।
सरकारले यस घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ।
स्थानीय स्रोतका अनुसार केही समयअघि सम्पन्न मोहरम पर्वका क्रममा सार्वजनिक चोकमा राखिएको झण्डा कार्यक्रम सकिएपछि पनि नहटाइएको विषयलाई लिएर स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको थियो।
यो विषय वडा कार्यालय र गाउँपालिकासम्म पुगेको तथा झण्डा हटाउन अनुरोध गरिएको भए पनि समयमै व्यवस्थापन हुन नसकेको जनप्रतिनिधिहरूको भनाइ छ। यद्यपि, यही विषय प्रत्यक्ष रूपमा घटनाको मुख्य कारण हो भन्ने निष्कर्षमा पुग्न भने अनुसन्धान बाँकी रहेको अधिकारीहरूले बताएका छन्।
घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत संवेदनशील क्षेत्रमा परिचालन गरिएको छ। प्रशासनले स्थानीयवासीलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र कानुन हातमा नलिन आग्रह गरेको छ।
सरकारले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले गोली चल्नुको वास्तविक कारण, सुरक्षा निकायको भूमिका, झडपको पृष्ठभूमि तथा सम्पूर्ण घटनाक्रमको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेश गर्नेछ।
प्रशासनले घटनालाई कुनै समुदाय विशेषसँग जोडेर हेर्न नहुने भन्दै प्रमाण र अनुसन्धानका आधारमा मात्र निष्कर्ष निकालिने स्पष्ट गरेको छ। स्थानीय अगुवा तथा समाजका जिम्मेवार व्यक्तिहरूले पनि शान्ति, संयमता र आपसी विश्वास कायम राख्न सबै पक्षलाई आह्वान गरेका छन्।

प्रतिक्रिया