पोखरा । वरिष्ठ लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ शनिबार पोखरामा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। साहित्य, कला र संस्कृतिका क्षेत्रमा सक्रिय स्रष्टा तथा शुभेच्छुकहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कृतिको सामूहिक विमोचन गरिएको हो।
सोही अवसरमा बागलुङका अग्रज साहित्यकार काजी रोशनलाई ‘हरिदेवी कोइराला साहित्य पुरस्कार–२०८२’ प्रदान गरिएको छ। उहाँलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो।
पाँच दशकभन्दा लामो समयदेखि साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय काजी रोशनका दुई दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित भइसकेका छन्। सम्मान ग्रहणपछि बोल्दै उहाँले स्रष्टाहरूलाई जीवित रहँदै सम्मान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै पुरस्कारबाट प्राप्त रकम हरिदेवी कोइरालाकै नाममा नयाँ साहित्यिक पुरस्कार स्थापना गर्न कोष निर्माणमा लगाउने घोषणा गर्नुभयो।
कार्यक्रममा ‘मायाको भूगोल’ कृतिमाथि समीक्षा प्रस्तुत गर्दै प्राध्यापक डा. जगन्नाथ रेग्मीले हरिदेवी कोइरालाका रचना सरल, भावनात्मक र मार्मिक रहेको बताउनुभयो। उहाँले कोइरालाका कवितामा जीवनका यथार्थ, प्रेम, पीडा र मानवीय संवेदनाको सशक्त अभिव्यक्ति पाइने उल्लेख गर्नुभयो।
साहित्यकार असफल गौतमले लोकसाहित्य र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा हरिदेवी कोइरालाले पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले यस्ता स्रष्टाहरूले राज्यबाट पाउनुपर्ने सम्मान र मूल्यांकन अझै पर्याप्त हुन नसकेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी साहित्यकार तथा प्राज्ञ रमेश श्रेष्ठले बागलुङमै रहेर नेपाली साहित्यको विकासमा काजी रोशनले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले रोशनलाई नेपाली साहित्यका समर्पित र प्रेरणादायी स्रष्टाका रूपमा चित्रण गर्नुभयो।
हरिदेवी कोइराला साहित्य–संगीत सम्मान कोषद्वारा आयोजित उक्त कार्यक्रम कोषका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा साहित्य, संगीत तथा संस्कृतिका क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
लोकगीत र साहित्य दुवै क्षेत्रमा विशिष्ट पहिचान बनाएकी हरिदेवी कोइरालाको नयाँ कृति ‘मायाको भूगोल’ ले नेपाली साहित्यिक जगतमा थप चर्चा र पाठकीय रुचि प्राप्त गर्ने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।




प्रतिक्रिया