अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध युद्धसम्बन्धी अधिकार प्रयोग गरिरहेको विषयमा अमेरिकी सिनेटमा ठूलो राजनीतिक चुनौती सामना गर्नुपरेको छ। मंगलबार सिनेटमा ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने प्रस्ताव अगाडि बढेपछि ह्वाइट हाउसमा दबाब बढेको विश्लेषण गरिएको छ।
सिनेटमा भएको मतदानमा ट्रम्प प्रशासनलाई झट्का लाग्ने परिणाम आएको हो। प्रस्तावको पक्षमा ५० मत र विपक्षमा ४७ मत परेको थियो। यससँगै इरानसँग सम्बन्धित कुनै पनि दीर्घकालीन सैन्य कारबाही अघि बढाउन राष्ट्रपति ट्रम्पले अब अमेरिकी कंग्रेसको स्पष्ट अनुमति लिनुपर्ने अवस्था सिर्जना हुन सक्ने संकेत देखिएको छ।
यो प्रस्तावलाई डेमोक्रेट सांसदहरूले अघि सारेका भए पनि केही रिपब्लिकन सांसदहरूले आफ्नै पार्टीको आधिकारिक लाइनविरुद्ध मतदान गरेपछि प्रस्तावले आवश्यक समर्थन पाएको हो। रिपब्लिकन सिनेटरहरू र्यान्ड पल, सुसन कोलिन्स, लिसा मर्कोव्स्की र बिल क्यासिडी ले डेमोक्रेटहरूको पक्षमा उभिँदै ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रस्तावलाई समर्थन गरेका थिए।
सिनेटको यो मतदान प्रक्रियागत चरण मात्र भएकाले प्रस्ताव तुरुन्तै कानुन भने बन्ने छैन। अब उक्त प्रस्ताव प्रतिनिधिसभा अर्थात् हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पनि पारित हुनुपर्नेछ। त्यसपछि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरे त्यसलाई उल्ट्याउन दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्नेछ।
तर प्रस्ताव अगाडि बढ्नु आफैंमा ट्रम्प प्रशासनका लागि चिन्ताको विषय बनेको छ। विशेषगरी इरानसँगको तनाव र मध्यपूर्वमा अमेरिकी सैन्य संलग्नताबारे कंग्रेसभित्र समर्थन कमजोर हुँदै गएको संकेतका रूपमा यसलाई हेरिएको छ।
हाल इरानसँगको द्वन्द्व, होर्मुज जलडमरू क्षेत्रको तनाव तथा मध्यपूर्वको अस्थिरताले अमेरिकी राजनीतिमा समेत प्रभाव पारिरहेको छ। ट्रम्प प्रशासनले इरानमाथि कडा नीति अपनाइरहेका बेला कंग्रेसभित्र भने युद्ध विस्तारप्रति चासो र आशंका दुवै बढ्दै गएको देखिएको छ।
प्रतिक्रिया