काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरे । निरीक्षणका क्रममा उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिए । गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरे । सो क्रममा उनले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरूङले प्रहरी सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स एनालिटिक्स सेल, डाटा सेन्टर तथा पोलीग्राफ शाखाको अवलोकन गरे र त्यहाँ भइरहेका गतिविधिबारे जानकारी लिए ।
निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको बताए । आगामी दिनमा अझ निर्धक्क भएर आफ्नो दायित्व पूरा गर्न निर्देशन दिँदै प्रहरीको कार्यमा कुनै पनि तहबाट हस्तक्षेप नहुने उल्लेख गरे ।
उनले नागरिक र प्रहरीबीचको दूरी घटाउनुपर्ने आवश्यकता औंल्याए । शिष्ट व्यवहारमार्फत नागरिकका समस्या समाधान गर्दै सेवा प्रवाह सुधार गर्नुपर्ने बताए । साथै उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गर्दै जनसेवामा केन्द्रित हुन जोड दिए ।
गृहमन्त्री गुरूङले विपद् व्यवस्थापनमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए । आवश्यक तालिम र साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै संगठनलाई प्रविधिमैत्री र सुदृढ बनाइने बताए ।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले विभिन्न चुनौतीका बीच पनि प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको बताए । आगामी दिनमा अझ प्रभावकारी र छिटो सेवा प्रवाह गर्न निर्देशन दिए ।
कार्यक्रमको अन्त्यमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले संविधान, कानून तथा मानवअधिकारको मापदण्डभित्र रहेर सेवा प्रदान गर्दै आएको बताए । संगठनलाई आधुनिक, जनमुखी र विश्वसनीय बनाउन निरन्तर काम भइरहेको उल्लेख गरे ।



















प्रतिक्रिया