अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै पनि प्रकारको सम्झौता सम्भव नभएको स्पष्ट सन्देश दिएका छन्। उनका अनुसार इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण” मात्रै हो। मध्यपूर्वमा जारी युद्ध झन् तीव्र बन्दै गइरहेका बेला ट्रम्पको यो कडा अभिव्यक्तिले क्षेत्रीय तनावलाई अझ बढाएको छ।
यसैबीच इजरायली सेना (इजरायल डिफेन्स फोर्स) ले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको जनाएको छ। इजरायली सेनाका अनुसार करिब ५० वटा लडाकु विमान प्रयोग गरेर गरिएको आक्रमणमा इरानको राजधानी तेहरानस्थित एउटा महत्वपूर्ण सैन्य कमाण्ड बंकर पूर्ण रूपमा नष्ट गरिएको छ। तेहरानका बासिन्दाहरूले बीबीसी पर्सियनसँग कुरा गर्दै पछिल्लो रातलाई “अहिलेसम्मकै सबैभन्दा भयावह रात” बताएका छन्, जहाँ लगातार विस्फोट र हवाई आक्रमणका आवाजहरू सुनिएको जनाइएको छ।
युद्धको प्रभाव लेबनानमा पनि देखिएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण सुरु भएयता लेबनानमा कम्तीमा २१७ जनाको मृत्यु भइसकेको छ। राजधानी बेरुत लगायत विभिन्न स्थानमा ठूलो विस्फोट भएको विवरण सार्वजनिक भएको छ।
बेलायत सरकारले पनि आफ्ना नागरिकलाई सुरक्षित रूपमा मध्यपूर्वबाट फर्काउने अभियानलाई तीव्र बनाएको छ। बेलायतको विदेश मन्त्रालयका अनुसार ओमानबाट बेलायती नागरिक बोकेको दोस्रो चार्टर्ड उडान सफलतापूर्वक उडिसकेको छ।
यसैबीच खाडी क्षेत्रका देशहरूले पनि इरानबाट आएका आक्रमण प्रयासहरूलाई विफल पारेको दाबी गरेका छन्। साउदी अरेबिया, कतार र बहराइनले राति गरिएको इरानी आक्रमण प्रयासलाई आफ्ना वायु सुरक्षा प्रणालीमार्फत रोकेको बताएका छन्।
युद्धको प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि देखिन थालेको छ। विश्व बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० डलर नाघेको छ, जुन सन् २०२२ को अक्टोबरपछि पहिलो पटक हो।
उता अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वबाट सुरक्षित निकाल्ने अभियान जारी राखेको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका सहायक सचिव डिलन जोनसनका अनुसार युद्ध सुरु भएदेखि हालसम्म करिब २४ हजार अमेरिकी नागरिक सुरक्षित रूपमा अमेरिका फर्किसकेका छन्। उनले अझै थप उडानमार्फत नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हजारौं अमेरिकीलाई “शान्त तर प्रभावकारी रूपमा” मध्यपूर्वबाट बाहिर निकालिँदै गरेको बताएका छन्।
यसैबीच राष्ट्रपति ट्रम्पले अमेरिकाका ठूला रक्षा उद्योग कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण बैठक गर्ने कार्यक्रम तय गरेका छन्। यस बैठकमा लकहिड मार्टिन, बोइङ, हनीवेल र एल–थ्री ह्यारिस टेक्नोलोजिज जस्ता प्रमुख रक्षा कम्पनीका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। यो बैठक पहिले नै तय गरिएको भए पनि अहिले युद्धका कारण हतियार र सैन्य सामग्रीको बढ्दो मागले यसलाई अझ महत्वपूर्ण बनाएको विश्लेषकहरू बताउँछन्।
केही रक्षा विशेषज्ञहरूले हालको स्तरमा जारी हवाई अभियान लामो समयसम्म चलाउन गाह्रो हुन सक्ने चेतावनी दिएका छन्, विशेष गरी इरानबाट निरन्तर प्रतिआक्रमण भइरहेकाले हवाई सुरक्षा प्रणालीमा ठूलो दबाब परेको छ। तर अमेरिकी प्रशासनले भने आफ्नो सैन्य भण्डार पर्याप्त रहेको दाबी गरेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी सेनासँग पर्याप्त हतियार, गोला–बारुद र सैन्य सामग्री रहेको र आवश्यक परे इरानी शासनविरुद्धको कारबाही जारी राख्न सक्ने बताएकी छन्।
उता इरानले भने युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी गरेको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुसेन केरमनपोरका अनुसार आक्रमणमा हालसम्म १८ वर्षमुनिका २०० बालबालिकाको मृत्यु भएको छ, जसमा सबैभन्दा सानो आठ महिनाको शिशु रहेको बताइएको छ। अहिले २,००० भन्दा बढी घाइते अस्पतालमा उपचाररत छन्, जसमा ५५२ जना बालबालिका रहेका छन्। उनले युद्धका कारण स्वास्थ्य प्रणाली पनि प्रभावित भएको भन्दै आठ जना स्वास्थ्यकर्मीको मृत्यु, ३० जना घाइते तथा ११ वटा अस्पतालमा मिसाइल आक्रमणको असर परेको बताएका छन्।
अमेरिका र इजरायलले भने आफूहरूले नागरिकलाई लक्ष्य नबनाई केवल सैन्य संरचनामाथि “सटीक आक्रमण” गरिरहेको दाबी गरेका छन्। इजरायलले उल्टै इरानले नागरिक क्षेत्रलाई लक्षित गरेर मिसाइल आक्रमण गरिरहेको आरोप लगाएको छ।











प्रतिक्रिया