Updated …..अमेरिकी रक्षा मन्त्री Pete Hegseth ले इरानमाथि गरिएको सैन्य आक्रमण “शासन परिवर्तन (regime change)” का लागि नभएको स्पष्ट पारेका छन्। तर उनले इरानको नेतृत्व परिवर्तन भइसकेको स्वीकार्दै त्यसलाई विश्वका लागि सकारात्मक विकासका रूपमा चित्रित गरे। “यो तथाकथित शासन परिवर्तनको युद्ध होइन,” हेगसेथले भने, “तर शासन परिवर्तन भने भएको छ, र त्यसले विश्वलाई राम्रो बनाएको छ।”
रक्षा मन्त्री हेगसेथले अमेरिका युद्धको सुरुवातकर्ता नभएको दाबी पनि गरे। उनका अनुसार इरानले दशकौँदेखि “एकतर्फी रूपमा अमेरिका विरुद्ध युद्ध” जस्तै गतिविधि गर्दै आएको थियो, र हालको कारबाही त्यसैको प्रत्युत्तर हो।
रक्षा मन्त्री Pete Hegseth ले पेन्टागनमा दिएको सम्बोधनमा इरानविरुद्धको युद्धमा अमेरिका नै सुरुदेखि अन्त्यसम्म निर्णायक रहेको दाबी गरेका छन्। “हामीले यो युद्धका शर्तहरू तय गरेका छौँ—सुरुदेखि अन्त्यसम्म,” उनले भने। उनले इरानी जनतालाई लक्षित गर्दै थपे, “हामी आशा गर्छौँ कि इरानी जनताले यो अभूतपूर्व अवसरको सदुपयोग गर्नेछन्।” हेगसेथले इरानी सुरक्षा निकायहरूलाई पनि स्पष्ट सन्देश दिएका छन्। “सही निर्णय गर,” उनले आग्रह गरे, जसलाई विश्लेषकहरूले इरानभित्रै शक्ति सन्तुलन बदलिन सक्ने संकेतका रूपमा हेरेका छन्।
उनले अमेरिकी सेनाको रणनीतिलाई जोड दिँदै भने, “हामी जित्नका लागि लड्छौँ। हामी समय वा जीवन खेर फाल्दैनौँ।” उनको यो अभिव्यक्तिले अमेरिकाको अभियान दीर्घकालीन र निर्णायक हुने संकेत दिनुका साथै इरानभित्र राजनीतिक परिवर्तनको सम्भावनातर्फ अप्रत्यक्ष संकेत गरेको देखिन्छ।

यद्यपि अमेरिकी राष्ट्रपति Donald Trump ले भने इरानमा शासन परिवर्तनको पक्षमा खुलेर अभिव्यक्ति दिएका छन्। आक्रमणपछि आफ्नो पहिलो सम्बोधनमा उनले इरानी जनतालाई सीधै सन्देश दिँदै भने, “अमेरिका तपाईंहरूको साथमा छ अपार शक्ति र निर्णायक बलसहित। अब तपाईंहरूको भविष्य आफ्नै हातमा लिने समय आएको छ।”
अमेरिकी सेनाको उच्च नेतृत्वले इरानविरुद्धको सैन्य अभियान छोटो अवधिमा सकिने खालको नभएको स्पष्ट संकेत दिएको छ। संयुक्त चीफ अफ स्टाफका अध्यक्ष Dan Caine ले सोमबार पेन्टागनमा बोल्दै यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन” भनेर बताएका हुन्।
उनका अनुसार अमेरिकी केन्द्रीय कमाण्ड US Central Command (CENTCOM) र संयुक्त फौजलाई दिइएको सैन्य लक्ष्य हासिल गर्न समय लाग्नेछ। “कतिपय लक्ष्यहरू कठिन र चुनौतीपूर्ण हुनेछन्,” उनले भने, “यो सजिलो काम होइन।” जनरल केनले थप हताहती हुन सक्ने चेतावनी पनि दिए। “हामी थप क्षति व्यहोर्न सक्छौँ भन्ने अपेक्षा गरेका छौँ,” उनले भने, “तर सधैंझैँ अमेरिकी क्षति न्यून पार्न सक्दो प्रयास गर्नेछौँ।” गत सप्ताहन्त अमेरिका र इजरायलले इरानभित्र लक्षित सैन्य कारबाही सुरु गरेपछि हालसम्म चार जना अमेरिकी सैनिकको ज्यान गएको पुष्टि भइसकेको छ।

संयुक्त चीफ अफ स्टाफका अध्यक्ष Dan Caine ले आफ्नो सम्बोधनको सुरुवातमै शोक सन्देश दिँदै भने, “कार्यवाहीका क्रममा ज्यान गुमाएका तथा घाइते भएका रक्षा विभागका सबै सदस्यप्रति हाम्रो गहिरो समवेदना छ।” उनले ती सैनिकहरूलाई “राष्ट्रले दिन सक्ने सबैभन्दा उत्कृष्ट उदाहरण” भन्दै उनीहरू निःस्वार्थ सेवाका सच्चा प्रतीक भएको उल्लेख गरे।
“हामी तपाईंहरूसँगै शोकमा छौँ,” उनले भने, “र हामी तपाईंहरूलाई कहिल्यै बिर्सने छैनौँ।” आइतबार कुवेतमा भएको एक संदिग्ध ड्रोन आक्रमणमा ती चार सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ।
“हामी थप क्षति हुन सक्ने अपेक्षा गर्छौँ,” केनले भने, “तर सधैंझैँ अमेरिकी क्षति न्यून पार्न हरसम्भव प्रयास गर्नेछौँ।” उनका अनुसार शनिबार बिहान १:१५ (अमेरिकी पूर्वी समय) अर्थात् तेहरान समयअनुसार ९:४५ मा ‘अपरेसन एपिक फ्युरी’ सुरु गरिएको थियो। उनले यो कारबाही एक रातमै सकिने खालको नभएको स्पष्ट पारे।
जनरल केनले अपरेसनमा अमेरिकी नौसेना, मरीन कोर, वायुसेना, स्पेस फोर्स र कोस्ट गार्ड सबै संलग्न रहेको जानकारी दिए। साथै इजरायली सेनासँग नजिक सहकार्यमा अभियान सञ्चालन भइरहेको पनि उनले उल्लेख गरे। “सेनाको थप परिचालन जारी छ,” उनले भने, “अतिरिक्त फौजहरू अहिले पनि क्षेत्रतर्फ पठाइँदै छन्।”
यसअघि अमेरिकी रक्षा मन्त्री Pete Hegseth ले पनि आफ्नो प्रारम्भिक वक्तव्यमा ट्रम्प प्रशासनको कारबाहीको औचित्य स्पष्ट पार्दै ज्यान गुमाएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले ती चार अमेरिकीलाई “अमेरिकाका सर्वश्रेष्ठ प्रतिनिधि” भन्दै “कृतज्ञ राष्ट्रले उनीहरूलाई सम्मान गर्दछ” भने।
“बाँकी अपरेसन उनीहरूको सम्मान हुने गरी सञ्चालन गरौँ,” हेगसेथले जोड दिए, “कुनै माफी छैन, कुनै हिचकिचाहट छैन।”
प्रतिक्रिया