पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय सहमतिबिना निर्वाचन गरिन नहुने बताएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले मुलुक गम्भीर राजनीतिक अन्योल र अस्थिरतामा फसेको दाबी गरे । देशमा निरन्तर खिचातानी, आरोप–प्रत्यारोप र असहमति बढ्दै गएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा हतारमा निर्वाचनमा जानु उपयुक्त नहुने बताए । “पहिले राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ, त्यसपछि मात्र निर्वाचनको वातावरण बनाउनुपर्छ,” उनले भने ।
पूर्वराजा शाहले अधिकारको माग मात्र गर्ने तर कर्तव्यबाट पछि हट्ने प्रवृत्तिले राजनीति, प्रशासन र समाजमा विभाजन गहिरिएको बताए । मुलुकको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस भइरहेको दाबी गर्दै उनले आम जनभावना चुनावभन्दा अघि देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि सहमतिबिना हुने चुनावले देशलाई नयाँ दिशा दिन नसक्ने बताए । विगतका आन्दोलन र परिवर्तनले नेपाल र नेपालीलाई के उपलब्ध गराए भन्ने प्रश्न अहिले उठिरहेको उनले उल्लेख गरे ।
“कुनै पनि व्यवस्थाका राम्रा पक्ष अपनाउनुपर्छ, नराम्रा पक्ष त्याग्नुपर्छ,” उनले भने । देशको भू–बनोट र सामाजिक संरचनासँग मेल खाने नीति र प्रणाली आवश्यक रहेको उनले बताए । नेतृत्व, नीति र प्रणालीको पुनर्मूल्यांकन गर्नुपर्नेमा उनले जोड दिए । लोकतन्त्रको संरक्षण मात्र नभई यसको सुधार र परिमार्जन आवश्यक रहेको उनले बताए । यथार्थ धरातलमा उभिएर लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै लैजानुपर्ने उनले उल्लेख गरे ।
स्थानीय तहदेखि केन्द्रसम्म सहमतिहीन राजनीति बढ्दै गएको दाबी गर्दै उनले यस्तो अवस्थाले भविष्यमा फूट, द्वन्द्व र असन्तोष निम्त्याउन सक्ने बताए । सबै दल र नेताहरूलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर साझा सहमतिका आधारमा अघि बढ्न उनले आग्रह गरे । निर्वाचनको औचित्यमाथि प्रश्न उठाउँदै उनले अहिलेको समय चुनावभन्दा अघि देशको संकट समाधानमा केन्द्रित हुनुपर्ने बताए । सहमतिबिना गरिने चुनावले विकास र स्थिरता दुवैलाई चुनौती थप्ने उनले दाबी गरे ।
यसैबीच, पूर्वरानी कोमल शाहको ७५औँ जन्मदिन सार्वजनिक रूपमा नमनाइने भएको छ । निर्वाचन आचारसंहिताका कारण सार्वजनिक कार्यक्रम स्थगित गरिएको निर्मल निवास स्रोतले जनाएको छ । भव्य समारोहको तयारी भए पनि निर्वाचनको वातावरणका कारण कार्यक्रम रोकिएको बताइएको छ ।
प्रतिक्रिया