विश्वका सबैभन्दा धनी उद्यमी एलन मस्कले भविष्यमा अवकाश (रिटायरमेन्ट) का लागि बचत गर्नु अर्थहीन हुन सक्ने दाबी गरेका छन्। कृत्रिम बुद्धिमत्ता (AI), ऊर्जा र रोबोटिक्सको तीव्र विकासले संसारलाई “अभावरहित (abundance)” बनाइदिने उनको तर्क छ। टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी मस्कले Moonshots with Peter Diamandis पोडकास्टमा बोल्दै भने, “१०–२० वर्षपछि रिटायरमेन्टका लागि पैसा जोहो गर्दै चिन्ता लिन आवश्यक नहुन सक्छ। यदि हामीले देखिरहेको भविष्य सत्य भयो भने, बचतको कुनै अर्थ रहने छैन।”
उनका अनुसार AI ले उत्पादन क्षमता यति धेरै बढाउनेछ कि सबै मानिसलाई आवश्यकभन्दा बढी स्रोत उपलब्ध हुनेछ। “भविष्य राम्रो भयो भने जो–कोहीले जे चाह्यो त्यो पाउनेछ,” उनले भने। “आज कसैले नपाएको स्तरको स्वास्थ्य सेवा, उत्कृष्ट शिक्षा र ज्ञान सबैलाई निःशुल्क उपलब्ध हुनेछ। सामान र सेवाको अभाव नै रहने छैन।” मस्कले यस अवस्थालाई “युनिभर्सल हाई इन्कम” को अवधारणासँग जोड्दै सबै नागरिकले सम्मानजनक जीवनयापन गर्न सक्ने बताए। तर उनले यो परिवर्तन सहज नहुने चेतावनी पनि दिए।
“यो यात्रामा अस्थिरता, सामाजिक तनाव र ठूलो परिवर्तन आउनेछ,” मस्कले भने। “सबै कुरा सजिलै पाइने भएपछि मानिसको काम र उद्देश्य नै हराउन सक्छ। तब प्रश्न उठ्छ—सबै चाहिएको कुरा पाउनु नै के साँच्चै हामीले चाहेको भविष्य हो?” विद्युतीय सवारी, पुनः प्रयोग गर्न मिल्ने रकेट, स्वचालित कार, मानवजस्तै रोबोट, ब्रेन–कम्प्युटर इन्टरफेस र AI सहायक विकास गर्दै आएका मस्क इतिहासकै पहिलो ट्रिलियनर बन्ने बाटोमा रहेको चर्चा पनि चलिरहेको छ।
तर मस्कको यो उज्यालो भविष्यको कल्पना अहिलेको अमेरिकी यथार्थसँग ठोक्किन्छ। उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र सुस्त तलब वृद्धिले लाखौँ अमेरिकीलाई शिक्षा, स्वास्थ्य सेवा, घर किन्नु र परिवार पाल्नु नै कठिन बनाएको छ। सर्वेक्षणहरूले देखाउँछन्धे रैजसो अमेरिकीले सुरक्षित अवकाशका लागि पर्याप्त बचत गर्न सकेका छैनन्।
यस्तो अवस्थामा मस्कको सन्देश कतिपयका लागि प्रेरणादायी देखिए पनि, विश्व अपेक्षा गरेअनुसार नबदलिएको खण्डमा बचत नगर्ने सल्लाह जोखिमपूर्ण हुन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्। यदि भविष्य मस्कले देखेझैँ आएन भने, आज बचत त्याग्नेहरू भोलि गम्भीर आर्थिक संकटमा पर्न सक्छन्।
प्रतिक्रिया