जे बोल्छ सोंचेर, बिचार गरेर बोल्छ
आफूले बोलेको कुरामा अडान लिन्छ
अवसर पाओस् वा नपाओस्
हिजो कता, आज यता, भोलि उता गर्दैन
“वल्लो घरको नरे पल्ला घर सरे’ जस्तो गर्दैन
नैतिकता, सत्य, धर्म, अनुशासन अँगाल्छ,
सही कुरा गर्छ, जनताको मन पगाल्छ
जनता झुक्याउदैन, धोका दिँदैन
छेपारे रङ्ग फेराइको झल्को दिँदैन
हो यस्ता नेता हो हामीले खोजेको,
हो यस्ता नेता हो जनता र देशले खोजेको,
यस्ता नेता भए पो राजनीति सङ्लो हुन्छ
देश र जनताका लागि हुन्छ, भलो हुन्छ,
तर आजकल यहाँ खडेरी परेको छ,
नेता जनताको नजरमा झर्नु सम्म तल झरेको छ,
आफ्नो स्वार्थका लागि हुने नहुने सबै गरेको छ
नैतिकता, सत्य, धर्म, अनुशासन, इमान्दारिता,
चरित्र देखि हर कुरामा ज्युँदै मरेको छ !
हो यस्तै देख्दा देख्दै वाक्क दिक्क भएर होला
यो मनुवाले पनि सही नसक्नु भएर होला,
“राजनीति फोहोरी खेल रहेछ” भन्नु परेको छ,
यस्तो फोहोरी खेलबाट टाढै रहने निर्णय गरेको छ !
प्रतिक्रिया