अमेरिकाको पेन्सिलभेनियाको ग्रामीण क्षेत्रमा बुधबार दिउँसो भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ भने दुईजना गम्भीर तर स्थिर अवस्थामा उपचाररत छन्। पेन्सिलभेनिया राज्य प्रहरी आयुक्त कर्नल क्रिस्टोफर प्यारिसका अनुसार, घटनामा संलग्न संदिग्ध व्यक्ति प्रहरीको गोलीबाट मारिएको छ।
घटना नर्थ कोडोरस टाउनशिपको स्प्रिङ ग्रोभ क्षेत्रमा स्थानीय समय अनुसार दिउँसो करिब २ बजे भएको हो। प्रारम्भिक जानकारीअनुसार, अधिकारीहरूले अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा गोलीकाण्ड भएको हो। घटनास्थल नजिकका बस्तीहरू कृषिप्रधान क्षेत्र हुन्, जहाँ स–सानो खलिहान र प्रशस्त खेतीबाली रहेका छन्।
आकस्मिक उद्धारका लागि ठूलो संख्यामा दमकल, एम्बुलेन्स र प्रहरी खटाइएका थिए। एक मडेभ्याक हेलिकप्टरले घाइतेलाई नजिकको अस्पताल पुर्याएको स्थानीय मिडियाले जनाएका छन्।
योर्क काउन्टी कोरोनर पामेला गेले CNNसँग कुरा गर्दै आफ्नो कार्यालय घटनास्थलमा संलग्न भएको पुष्टि गरिन् तर थप विवरण दिन अस्वीकार गरिन्। घटनाबारे राज्य र काउन्टी अधिकारीहरूले थप विवरण अझै सार्वजनिक गरेका छैनन्।
संयुक्त राज्यका अटर्नी जनरल पाम बन्डीले सामाजिक सञ्जाल X मार्फत घटनाबारे जानकारी दिँदै FBI र मदिरा, तमाखु, हतियार तथा विस्फोटक विभाग (ATF) का एजेन्टहरूले स्थानीय अधिकारीलाई सहयोग गरिरहेको बताइन्। उनले भनिन्, “कानून कार्यान्वयनकर्तामाथि हुने हिंसा हाम्रो समाजका लागि कलङ्क हो र कहिल्यै स्वीकार्य छैन। संलग्न अधिकारीहरूको लागि प्रार्थना गरौं।”
प्रतिक्रिया