बीआरटी नेपालको १४औं वार्षिकोत्सव, अब ‘यूएस नेपाल टुडे’ नाममा नयाँ यात्रा सुरु
कोलोरेडो, अमेरिका / बीआरटी नेपालले आफ्नो स्थापना भएको १४ वर्ष पूरा गरेको अवसरमा आज विशेष कार्यक्रमसहित आफ्नो नाम परिवर्तन गरी नयाँ यात्राको घोषणा गरेको छ। अब यो समाचार पोर्टल ‘यूएस नेपाल टुडे’ (USNepalToday.com) नाममा अघि बढ्नेछ।
विगत केही वर्षदेखि कोलोरेडोबाट निरन्तर प्रकाशन गर्दै आएका प्रमुख तथा प्रकाशक शैलेश पोखरेलले यस ऐतिहासिक परिवर्तनको घोषणा गर्दै भने, “अब यो समाचार पोर्टलको प्रधान सम्पादकको जिम्मेवारी अर्जुन प्रधानले सम्हाल्नेछन्।”
प्रधान सम्पादक अर्जुन प्रधानले यस अवसरमा भने, “विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एउटै भावनामा बाँध्ने प्रयास निरन्तर जारी छ। यही यात्राको क्रममा, प्रवासी नेपाली सञ्चार क्षेत्रमा एक ऐतिहासिक मोड आएको छ। आज BRTNepal को १४औँ वर्षगाँठको उपलक्ष्यमा यसको सफल यात्रापछि अब आज अगस्त १५, २०२५ देखि USNepalToday.com को औपचारिक सुरुवात गरिएको छ। दुवै माध्यमहरूले प्रवासी नेपालीहरूको आवाज बुलन्द बनाउँदै, सशक्त सूचना प्लेटफर्मको रूपमा आफूलाई स्थापित गर्दै लगेका छन्।
BRTNepal ले प्रवासी भूमिमा रहेर नेपाली समुदायका विविध पक्ष उजागर गर्दै, सामाजिक, सांस्कृतिक र राजनीतिक विमर्शमा गतिशीलता ल्याउने कार्य गर्यो। अब, यही अनुभव र मूल्यमान्यतालाई आत्मसात् गर्दै USNepalToday.com को शुभारम्भ गरिएको हो। अमेरिकी कानुनी संरचनाभित्र रहेर थप व्यवस्थित, तथ्यपरक र उत्तरदायी सञ्चार यात्राका लागि BRT Nepal को वार्षिक उत्सव आज सम्पन्न हुँदैछ। त्यो उत्सव केवल उपलब्धिको समीक्षा होइन, संकल्पको नवीकरण पनि हो।
USNepalToday.com ले प्रवासी नेपालीहरूका विविध गतिविधि, मुद्दा र परिवर्तनशील समाजका कथा अमेरिकी कानुनको दायराभित्र रहेर प्रस्तुत गर्नेछ। नयाँ प्रविधि, नयाँ सोच र सशक्त समावेशी दृष्टिकोणका साथ, यो प्लेटफर्मले विश्वभर छरिएका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने लक्ष्य राखेको छ। यो केवल नाम परिवर्तन मात्र होइन; यो दृष्टिकोणको परिमार्जन, क्षमताको अभिवृद्धि र सेवा भावको नयाँ गन्तव्य हो। BRT Nepal को अनुभवलाई आधार बनाउँदै USNepalToday एक सशक्त सञ्चार स्तम्भका रूपमा अगाडि बढ्नेछ।”
प्रधानले थप भने, “यस नयाँ यात्रामा सम्पूर्ण पाठक, सहयोगी संस्था, सामाजिक अभियन्ता, विज्ञापनदाता र नेपाली समुदायप्रति हार्दिक अपिल गर्दछौँ—USNepalToday.com तपाईंहरूकै मञ्च हो। सूचना प्रवाहको माध्यमबाट नेपालीपनको संरक्षण र समृद्धिको यो अभियान तपाईंहरूको सक्रिय समर्थनबिना सम्भव छैन। हामी विश्वस्त छौँ, जस्तो साथ तपाईंहरूले BRT Nepal मा दिनुभयो, त्यसैगरी USNepalToday.com मा पनि तपाईंहरूको माया र विश्वास निरन्तर रहिरहनेछ। सामाजिक उत्तरदायित्व र सूचना सशक्तीकरणको यो साझा सपना साकार गर्न हामी सधैँ तपाईंहरूसँग रहिरहनेछौँ।”
यूएस नेपाल टुडे टिमले आफ्नो विज्ञप्तिमा भनेको छ, “हामीसँग रहनुभएकोका लागि धन्यवाद। हाम्रो यात्राको हिस्सा बन्नु भएकोमा हामी गौरवान्वित छौँ। आजदेखि हामी आधिकारिक रूपमा BRTNepal बाट USNepalToday.com मा सारिएका छौँ। नयाँ नाममा पनि त्यस्तै राम्रो सामग्रीको लागि हामीसँगै बनेर रहनुहोस्।”



प्रतिक्रिया