काठमाडौं। बहुप्रतीक्षित नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ को सम्पूर्ण छायांकन औपचारिक रूपमा सम्पन्न भएको छ। पहिलो र दोस्रो चरणमा विभाजन गरी करिब ४० दिन सञ्चालन गरिएको छायांकन मंगलबार सम्पन्न भएको निर्माण टिमले जनाएको छ। अब चलचित्र पोस्ट–प्रोडक्सन अर्थात् सम्पादन, डबिङ, ध्वनि संयोजन, रङ्ग संयोजन (कलर ग्रेडिङ), पाश्र्वसंगीत तथा प्रचार–प्रसारको चरणमा प्रवेश गरेको छ।
निर्देशक सरोज पौडेल ले छायांकन सम्पन्न भएपछि सम्पूर्ण कलाकार, प्राविधिक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै धैर्य, समर्पण र मेहनतका साथ गुणस्तरीय चलचित्र निर्माण गर्ने प्रयास गरिएको बताए। उनका अनुसार दर्शकले मङ्सिरमा नेपाली मौलिक परिवेश र भावनाले भरिएको उत्कृष्ट चलचित्र हेर्न पाउनेछन्।
चलचित्रको छायांकन २०८३ जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिका–१४, आर्थर डाँडाखर्क को प्राकृतिक तथा रमणीय भू–भागबाट सुरु गरिएको थियो। सुरुवाती चरणमा करिब १५ दिनसम्म नियमित छायांकन चले पनि मुख्य अभिनेता विजय बराल घोडचढी दृश्यको छायांकनका क्रममा घाइते भएपछि निर्माण कार्य केही समयका लागि स्थगित गर्नुपरेको थियो। उनको दाहिने हातको नाडीमा फ्र्याक्चर भएपछि चिकित्सकले आराम गर्न सल्लाह दिएका कारण छायांकन रोकिएको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै दोस्रो चरणको छायांकन पुनः सुरु गरी बाँकी काम सम्पन्न गरिएको हो।
‘सिन्दुरे जात्रा’ निर्देशक सरोज पौडेल, अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली को दोस्रो सहकार्य हो। यसअघि यही टोलीले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल चलचित्रमध्ये एक मानिएको ‘पूर्णबहादुरको सारङ्गी’ मा सहकार्य गरेको थियो। त्यस चलचित्रको व्यावसायिक तथा समीक्षात्मक सफलतापछि ‘सिन्दुरे जात्रा’प्रति पनि दर्शकमाझ ठूलो अपेक्षा देखिएको छ।
सारङ्गी फिल्म्स को प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय बराल र अञ्जना बराइलीसँगै विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्व मिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का, रजनी गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंको हो भने पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपाने ले तयार पारेका छन्। दिनेश खड्का कार्यकारी निर्माता रहेका चलचित्रका सह–निर्मातामा आकाश, सुमन रञ्जित र श्याम मगर छन्।
यसैगरी चलचित्रका डीओपी (छायाङ्कन निर्देशक) पदमबहादुर श्रेष्ठ (बाबु), सम्पादक नहकुल खड्का, तथा संगीतकार प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियार रहेका छन्। चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्स ले गर्नेछ।
छायांकन सकिएसँगै निर्माण पक्ष अहिले पोस्ट–प्रोडक्सनलाई तीव्र बनाउने तयारीमा छ। निर्देशक पौडेलका अनुसार चलचित्रलाई प्राविधिक रूपमा उत्कृष्ट बनाउने उद्देश्यले सम्पादन, ध्वनि, संगीत र दृश्य संयोजनमा विशेष ध्यान दिइनेछ।
निर्माण पक्षले यसअघि चलचित्रलाई मङ्सिर ४ गते प्रदर्शन गर्ने घोषणा गरेको छ।
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको नयाँ प्रस्तुतिका रूपमा हेरिएको ‘सिन्दुरे जात्रा’ ले नेपाली समाज, संस्कृति र मौलिक जीवनशैलीलाई पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। सफल निर्देशक, लोकप्रिय कलाकार र अनुभवी प्राविधिक टोलीको संयोजनले चलचित्रप्रति अहिले नै दर्शक र नेपाली चलचित्र वृत्तमा उल्लेखनीय उत्सुकता बढेको छ।




























प्रतिक्रिया