कुनै पनि काम नगरी, पुरा दिन वा एक छिन आराम गरेर बस्न पर्यो भने मलाइ निकै गाह्रो हुन्छ । सिरियल, फिल्म हेरेर वा सुतेर दिन काट्नु पर्यो भने त्यो मेरो लागि जेल सजायँ जस्तै हो। हाइस्कूलबाट SLC उत्तीर्ण गरेर क्याम्पस पढ्न घर छोडेर हिँडे देखि आज सम्म अर्थात् १५ वर्षको उमेर देखि आज सम्मको देश विदेशको मेरो आफ्नै अनुभवले भन्छ – आफूलाई काममा व्यस्त राख्नु सबैभन्दा ठुलो योगा पनि हो, कर्म धर्म सबै हो । नत्र भने त मान्छे अल्छी हुने मात्र होइन “खाली दिमाग सैतानका घर” भन्छन् नि, हो त्यस्तो पनि हुन्छ।
मैले नेपालमा र यहाँ विदेशमा पनि थुप्रै यस्ता अल्छीहरू देखेको छु । कतै श्रीमानहरूले ठगेर बस्ने श्रीमती मरी मरी काम गर्ने, त कतै श्रीमतीहरू ठगेर बस्ने, थपक्कै गफ हाँकेर, सिरियल, फिल्म हेरेर, कुरा काटेर वा सुतेर दिन काटेको, श्रीमान् हरू मरी मरी काम गरेको पनि देखिन्छ। हुन त त्यो आ-आफ्नो खुसीको कुरा हो तर उमेर छँदै, काम गर्न सकुन्जेल काम नगर्ने त्यस्ता कामचोरहरू अरूलाई होइन आफ्नै भाग्यलाई ठगिरहेका हुन्छन्। कर्म नगरी फल पाइन्न। कर्म नगरी धर्म पनि हुन्न। पैसो बिना त झन् केही पनि हुन्न। काम गर्ने बेलामा काम गर्नुपर्छ। लक्ष्मीले सधै एकनास दिन्दिनन, दिएको बेला लक्ष्मीलाई सम्हाल्न जान्नु पनि पर्छ अर्थात् टक्का के टक्का ।
कामलाई सम्मान गरौँ । लक्ष्मीलाई चिनौँ । कसैले भन्छन् नि – मलाइ त पैसोसैसो चाहिन्न, धन सम्पत्ति प्रति कहिल्यै लोभ मोह भएन । त्यस्तो भन्ने मान्छेले आर्जन गर्न नसकेर भन्छन् । यथार्थमा त्यस्ता मान्छे झन् लोभी, ईर्ष्यालु हुन्छन्। कमाउने वा कमाउन सक्नेले त्यो भन्दैनन् । धन सम्पत्ति कसले चाहन्न हो यो संसारमा ? लौ भन्नुस् त ! एलन मस्क, बिल गेट्स, जेफ बेसोस, जुकेरबर्ग देखि वारेन बफेटहरु सम्म कसैले कहीँ कहिल्यै पैसाले पुग्यो अब भनेको सुन्नुभएको छ ? – रामप्रसाद खनाल
प्रतिक्रिया