गीत सङ्गीत, कलाकारिता क्षेत्रमा रहेका प्रिय अग्रजहरू तथा भाइ बहिनीहरू, नमस्कार !
एउटा स्वतन्त्र, कुनै पनि पार्टी वा राजनीतिक रूपमा कतै पनि संलग्न नभएको तर फोहोरी राजनीतिलाई विगत देखि वर्तमान सम्म नजिक बाट हेरेको, अलिकति भए पनि बुझेको, भुक्तभोगी भएकोले आज तपाईँहरू सबै सबैमा मेरो एउटा विशेष विनम्र अनुरोध छ, त्यो के भने – तपाईँ हामीले गीत सङ्गीत, कलाकारिता क्षेत्रमा नै रहेर काम गर्दा भबिश्व उज्ज्वल हुन्छ। दर्शक श्रोताले तपाईँ हामीलाई दिने माया, सम्मान भन्दा ठुलो स्थायी पद र प्रतिष्ठा अरू कुनै केही हुनै सक्दैन मनन गरौँ ।
कुशासन, भ्रष्टाचार, बेथितिका विरुद्ध बोल्नै पर्छ, राष्ट्र र जनताका पक्षमा बोल्नु पर्छ बोलौँ तर कुनै पनि राजनीतिक पार्टी वा तिनका भातृ सङ्गठनमा बसेर, तिनको पक्ष पोषण गरेर र नेताको चाकडी गरेर नबोलौँ। सत्य लाई समर्थन र असत्यलाई आलोचना गर्न भने छाड्नु हुन्न। हाम्रा केही यस्ता कलाकर्मी मित्रहरू पनि देखेको छु जो दही चिउरेका पनि हद भएर जो सँग पनि टाँसिने, जता पनि ठिक्क बन्ने, जसलाई पनि म त तपाईँ कै त हो नि भन्ने बन्ने, अर्कालाई देख्दा पनि असहज हुने प्रवृत्ति असाध्यै हाबी छ । त्यसरी लिच्चड भएर पाउने नियुक्ति वा टिके पद दुई दिनका राम छायाँ मात्र हुन् त्यसले अन्ततोगत्वा हाम्रो गीत सङ्गीत, कलाकारिता क्षेत्रको आत्मा मारिदिन्छ, अझ क्लियर भनौँ त्यो एक प्रकारको आफ्नो “पेसा प्रतिको आत्महत्या” सरह हुन्छ ।
राजनीति एउटा त्यस्तो फोहोरी खेल बनेको छ नेपालमा जहाँ फसे पछि कुनै गायक गायिका वा कलाकर्मी सग्लो बाँकी रहन्न र “चाहिँदाको भाँडो नचाहिंदाको ठाँडो” बनाउने, प्रयोग गर्ने र मिल्क्याउने (Use and Through) गर्ने प्रचलन धेरै पहिला देखि देखिँदै आएको छ । अहिले पनि मैले देखिरहेको छु त्यही प्रवृत्ति र अहिले पनि सिकार हुने कलाकर्मीको सङ्ख्या बढ्दै छ, झन बढेको देख्नु हुने छ अब ।
मैले कयौँ यस्ता पीडित अग्रज कलाकार देखि अनुजहरू सम्म देखेको छु जो राजनीति र पार्टी प्रति लगाव राख्दा वहाँहरूको गौरवमय गीत सङ्गीत, कलाकारिताको इतिहासले मृत्युवरण गरेको छ। म आफू विगत २५ वर्ष यता कुनै पनि पार्टी वा राजनीतिक रूपमा कतै पनि संलग्न नभएको र भोलि पनि नहुने र स्वतन्त्र रहने निर्णयमा अडिक छु। मैले पनि राजनीतिका उतार चढाव विगतमा देखे भोगेको छु तसर्थ यो भन्दै छु ताकी गीत सङ्गीत, कलाकारिता क्षेत्रमा रहेका प्रिय अग्रजहरू तथा भाइ बहिनीहरूलाई सचेत बनाउन सकूँ। आफूलाई लागेको कुरा बोलेँ। सत्य कुरा तितो लागे क्षमा चाहन्छु। आगे तपाईँहरूकै जो मर्जी ।
प्रतिक्रिया