अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सि जिनपिङलाई इरानलाई हतियार आपूर्ति नगर्न आग्रह गर्दै पत्र पठाएको बताएका छन्। इरानलाई चीनले सैन्य सहयोग गरिरहेको भन्ने विभिन्न रिपोर्टहरू सार्वजनिक भएपछि ट्रम्पले सिधै बेइजिङसँग कूटनीतिक संवाद अघि बढाएका हुन्।
फक्स बिजनेससँगको अन्तर्वार्तामा ट्रम्पले आफूले प्राप्त सूचनाका आधारमा सि जिनपिङलाई पत्र लेख्दै इरानलाई हतियार नदिन आग्रह गरेको बताए। त्यसको जवाफमा चिनियाँ राष्ट्रपतिले चीनले त्यस्तो कुनै गतिविधि नगरेको स्पष्ट पारेको ट्रम्पको दाबी छ।
ट्रम्पका अनुसार दुवै देशबीच चाँडै उच्चस्तरीय भेटघाट हुने तयारी भइरहेको छ। उनले चीनसँगको सम्बन्धलाई टकरावभन्दा सहकार्यतर्फ लैजान खोजिएको संकेत दिएका छन्। उनले द्वन्द्वभन्दा संवाद र सहकार्य नै उचित बाटो भएको पनि उल्लेख गरेका छन्।
यसअघि ट्रम्पले इरानलाई हतियार आपूर्ति गर्ने मुलुकहरूमाथि कडा आर्थिक कदम चाल्ने चेतावनी दिएका थिए। उनले त्यस्ता देशमाथि ५० प्रतिशतसम्मको भन्सार कर लगाउने चेतावनी दिएका थिए, जसलाई मुख्यतः चीनतर्फ लक्षित कदमका रूपमा हेरिएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत चीनले इरानलाई हतियार नपठाउने प्रतिबद्धता जनाएको दाबी पनि गरेका छन्। साथै उनले होर्मुज जलमार्गलाई स्थायी रूपमा खुला राख्ने प्रयास आफूले गरिरहेको र त्यसबाट चीनसहित विश्व समुदाय लाभान्वित हुने बताएका छन्।
यता चीनले भने आफूले इरानलाई कुनै पनि प्रकारको हतियार आपूर्ति नगरेको अडान दोहोर्याउँदै आएको छ।
अमेरिका–इरानबीचको बढ्दो तनाव, तेल आपूर्ति र होर्मुज जलमार्गको रणनीतिक महत्वका कारण अन्तर्राष्ट्रिय राजनीतिक अवस्था थप जटिल बन्दै गएको छ। यही सन्दर्भमा डोनाल्ड ट्रम्प र सि जिनपिङबीच हुने आगामी भेटलाई विश्वभर चासोका साथ हेरिएको छ।
प्रतिक्रिया