कुनै विषयमा कुनै आधिकारिक समिति या आयोगले अध्ययन-अनुसन्धानका आधारमा निकालेको निष्कर्षलाई अस्वीकार गर्ने, प्रत्यक्षदर्शी र साक्षीका कुरा नपत्याउने, न्यायालयको निर्णय पनि आफूअनुकुल हुँदा मात्र स्वीकार गर्ने र नभए प्रतिशोध भन्दै सडकमा उफ्रिपाफ्री गरिनुलाई जायज ठान्नेहरूबाट मुलुक बन्ने आशा गर्नु ब्यर्थ छ, यस्ताहरूबाट देश नबन्ने होइन कि नबच्ने खतरा अधिक रहन्छ ।
जगतका सबै प्राणीहरू एउटा प्राकृतिक नियमको परिधिभित्र रहेर जीवन बाँच्छन् र मर्छन्, तर मानिस मात्र यस्तो जटिल प्राणी हो जो प्रकृति र प्राकृतिक नियमलाई समेत चुनौती दिने आकाङ्क्षा राख्दछ । त्यसैले अन्य हरेक प्राणीलाई निश्चित परिभाषाले समेट्न सके पनि मानिसलाई एउटै परिभाषामा समेट्न सकिँदैन । सृष्टिका प्रत्येक विषयमाथि जिज्ञासा या प्रश्न राख्नसक्ने चेत मानिसमा रहन्छ, जगतलाई भौतिक र आध्यात्मिक दुवै कोणबाट बुझ्न खोज्ने या बुझ्न सक्ने प्राणी पनि मानिस मात्र हो । यद्यपि मानिसमा जतिपनि गुणतत्व भेटिन्छन् त्यसलाई प्रकृतिभन्दा बाहिरको क्षमताका रूपमा भने बुझ्न सकिँदैन । देहमात्र नभइ चैतन्य गुण पनि प्रकृतिनिहित नै हो । त्यसैले खुशी, दुःख, बेचैनी र क्रोध आदि भावलाई समेत प्रकृतिकै हिस्साका रूपमा बुझ्नु उपयुक्त हुनेछ । सत्य यस्तो भएपनि मानिस आफूलाई आश्चर्यजनक ढङ्गले स्वतन्त्र ठान्दछ र उस्तै मानिसका बीच रहेर पनि मानिस आफूलाई अरूहरू भन्दा विशेष मान्दछ ।
मानिसले आफू अन्यभन्दा भिन्न अर्थात् विशिष्ट रहेको ठान्ने कारण पनि आफैले निर्धारण गर्दछ । कोही दैनिक शय खिलीभन्दा अधिक चुरोट पिउने गरेकोले आफूलाई विशिष्ट ठानिरहेका हुन्छन् भने त्यहीँनेर अर्कोले जिन्दगीभर चुरोट नछुनुलाई आफ्नो विशिष्टता ठान्दछ । कतिपय मानिस ब्राण्डेडबाहेक अन्य स्तरका बस्त्र प्रयोग नगरेका कारण आफूलाई विशेष मानिरहेका हुन्छन् भने शरीर ढाक्ने त हो भन्दै जस्तासुकै कपडा प्रयोग गर्ने भएकोले आफू विशेष रहेको ठान्ने मानिस पनि यत्रतत्र भेटिन्छन् । अनि कोही मानिस आफू परिपक्व र अनुभवी भएकोले विशिष्टताको अनुभूति गरिरहेका हुन्छन् भने किशोर र जवानहरू चाहिँ आफ्नो उमेरका कारण आफूलाई विशेष ठान्दै बाँचिरहेका हुन्छन् । तथापि, पुस्तान्तरमा हुने शारीरिक र मानसिक अन्तरचाहिँ संसारब्यापी रूपमै देखिन्छ । पुस्तान्तर सृष्टिको एउटा नियमित र सामान्य प्रक्रिया हो, तर पुस्तन्तरमा भेटिने मानसिक अन्तरचाहिँ असामान्य तहको देखिन्छ । हजूरबुबा, बाबू र नातिबीच पुस्तान्तरको स्पष्ट झलक पाइन्छ र तीनै जनाले पुस्ताका कारण आफूलाई विशिष्ट ठानिरहेका हुन्छन् । यही सोच राजनीतिमा समेत प्रवेश भएपछि पुरानो र नयाँ पुस्ताबीचको अन्तरविरोध बढ्न खोज्दैछ, पछिल्लो दशकमा नेपाली राजनीति पुरानो र नयाँ पुस्ताबीचको घोषित/अघोषित अन्तरविरोधबाट गुज्रँदैछ ।
राजनीति आफैमा पूर्ण स्वतन्त्र, स्वतन्त्र भन्दा बढी उन्मत्त र निरङ्कुश चरित्रको हुन्छ । त्यहाँ समयको पावन्दी लाग्दैन, उमेरको सीमा हुँदैन, बारको छेकबार रहँदैन, त्यसैले राजनीति शक्तिको अविच्छिन्न खेल हो र यो सधैं अङ्कुशविहीन रहन्छ । देशमा यतिबेला जुन स्तरका समस्या पैदा भएका छन्, त्यसका अनेक कारण छन् र अनेकौंँमध्ये एउटाचाहिँ नेतृत्वको अक्षमता पनि हो । तर एकथरी मानिस नेताको बुढ्यौलीलाई मुख्य कारण मानेर नेतृत्व बदल्नेबित्तिकै सबै प्रकारका समस्याको समाधान हुने प्रचार गर्दैछन् । कुनै पनि मुलुक समृद्ध बन्नका निम्ति नेतृत्वको भूमिका महत्वपूर्ण रहन्छ, यो सही हो, तर नेपालको सन्दर्भमा नेतृत्वमात्र परिवर्तन भएर समाधानको मार्ग प्रशस्त हुने स्थिति छैन र वृद्ध नेताको स्थान युवाले प्राप्त गर्नेबित्तिकै देशले सकारात्मक गति लिन्छ भन्ने त झन् हुँदै होइन । नेता नै समस्या बनेको भाष्य निर्माण गरेर उमेरले युवा (भेलोदोमिर जिलेन्स्की)को हातमा सत्ता पुर्याइँदा युक्रेनले आज कस्तो नियति भोग्दैछ र तत्कालीन सोभियत सङ्घले पनि मुलुकको समस्या समाधानका निम्ति युवा (मिखाइल गोर्बाचोभ) लाई सम्पूर्ण सत्ताको बागडोर जिम्मा लगाउँदा विश्व मानचित्रबाट सोभियत सङ्घ नामक मुलुकको नक्सा नै गायब भएको हामी सबैलाई थाहा छ । उमेरले अठहत्तर वर्ष नाघेपछि देश बनाउने जिम्मा पाएका देङ सियाओ पिङ्गले कस्तो योगदान दिन सके भन्ने प्रमाण आजको चीन स्वयमले प्रस्तुत गरिरहेको छ ।
राजनीतिमा उमेरलाई योग्यताको आधार बनाइनु तर्कसम्मत होइन, हुँदैन । जहाँसम्म नेपालका वृद्ध नेताहरू खराब भएकोले मूल समस्या नै उनीहरू बनेको भन्ने टिप्पणी छ, उनीहरू बूढो भएर अयोग्य बनेको निष्कर्षमा पुग्न सकिँदैन, बरू अयोग्य मानिस पनि बुढो हुँदारहेछन् भन्नचाहिँ सकिन्छ ।
त्यसैले राजनीतिमा उमेरलाई योग्यताको आधार बनाइनु तर्कसम्मत होइन, हुँदैन । जहाँसम्म नेपालका वृद्ध नेताहरू खराब भएकोले मूल समस्या नै उनीहरू बनेको भन्ने टिप्पणी छ, उनीहरू बूढो भएर अयोग्य बनेको निष्कर्षमा पुग्न सकिँदैन, बरू अयोग्य मानिस पनि बुढो हुँदारहेछन् भन्नचाहिँ सकिन्छ । पुराना नेताले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेका हुन्, उनीहरू लड्नसक्ने, भोकै बस्नसक्ने, जेलयातना भोग्नसक्ने, दुःखको जिन्दगी बिताउनसक्ने, विचार र वैचारिक स्वतन्त्रताका पक्षमा वकालत गर्नसक्ने क्षमता हिजो उनीहरूले देखाएकै हुन् । इमानदारी, देश बनाउने क्षमता, दुरदृष्टि र योग्यतामात्र उनीहरूमा नभएको महसूस कार्यपरिणामले गराएको हो । नयाँ परिस्थितिमा पुराना नेता अयोग्य भए भन्दैमा आपराधिक, अपरिचित र अपरीक्षित पृष्ठभूमिका मान्छेलाई देश जिम्मा लगाउने महागल्ती गर्न तम्तयार बन्दैछ नयाँ पुस्ता ! नेताको गल्तीको सजाय देशलाई दिने स्थिति जुन बनाउन खोजिएको छ यो नै भोलिका निम्ति आज गर्न खोजिएको सबैभन्दा ठूलो गल्ती हो ।
हाम्रो पुस्ता आजको बृद्धपुस्ताको बहकाउमा लाग्यो, पम्फादेवीले स्वीटजरल्याण्डको बैंकमा जम्मा गरेको अर्बौं रूपैयाँ नेपालमा ल्याएर देशको कायापलट गरिनेछ भनेको पनि त्यसबेलाका पूर्ण युवा हामीले पत्यायौँ । प्रजातन्त्र स्थापना भएपछि देश स्वर्ग बन्छ भनियो, त्यसलाई पनि हामीले विश्वास गऱ्यौँ । राजा खराब हुन्छन्, जनप्रतिनिधिका रूपमा नेताले राजकाज सुरु गरेपछि देशले सकारात्मक गति लिन्छ भनियो, यो पनि हामीले पत्यायौँ । राजा दैत्य हुन् र नेता भनेका भगवान् हुन् भनेर हामीले नै प्रचार गरेका हौँ । हाम्रो पुस्ताले पत्याएका सबैजसो कुराहरू गलत भएको पुष्टि हुँदा हाम्रो जीवनको महत्वपूर्ण समय ब्यर्थ खर्च भएको पश्चातापजन्य अनुभूति अहिले हुँदैछ । हाम्रो पुस्ताभन्दा पनि ठूला भ्रमबाट नयाँ पुस्ता गुज्रन खोजेको विद्यमान स्थितिले हामीलाई थप पीडा दिएको छ ।
खराब पृष्ठभूमिका या गलत नियतका या सुकिलो आवरण लिएर मानिसजस्तै स्वरूपमा प्रकट भएका ‘एलियन’हरूले स्थापित पक्षविरूद्ध घृणा फैलाउँदै राज्यसत्ता लुट्ने जुन योजना बनाएको देखिँदैछ, यसले हामीलाई पनि युक्रेनी या सिरियाली जनताको नियति भोग्न बाध्य तुल्याउँदैछ कि भन्ने चिन्ता थपेको छ । नवीन पुस्ता सत्य, निष्ठा र इमानको पक्षमा उभिन नखोज्नु, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिक सर्वोच्चता, मुलुकको इतिहास, सभ्यता, सांस्कृतिक पहिचान, राष्ट्रिय अस्मिता र स्वाभिमानका निम्ति समय र मन दिने मामिलामा उदासिन रहनु र आफ्नै एक थान ज्यानको वरिपरि चक्कर काटिरहनुले देशको भविष्य अन्धकारतर्फ धकेलिएको सङ्केत गरिरहेछ । नयाँ पुस्तामा विचार, सिद्धान्त, निष्ठा, मूल्य, मान्यता र देशलाई भन्दा पेटलाई महत्व दिने तत्परता देखिनुले हाम्रो शिक्षानीति र शैक्षिक अन्तरवस्तु खोटपूर्ण रहेको स्पष्ट सङ्केत गर्दछ । महान् नेपाली दार्शनिक रूपचन्द्र बिष्टको शब्द सापटी लिएर भन्नुपर्दा नेपाली समाज झुठ र नकारात्मकतामा रमाउँछ । चिनियाँ यात्री ह्वेन साङले करिव चौध शय वर्षअघि नेपालीबारे निकालिएको निष्कर्ष पनि हामीलाई लज्जित तुल्याउने स्तरकै छ । उनले आफ्नो यात्रा वर्णनमा लेखेको कुरालाई फ्रान्सेली लेखक सिल्भा लेवीले उद्धरण गर्दै भनेका छन्- ‘हिमालभन्दा दक्षिणतर्फ लुच्चा, विश्वासघाती र अत्यन्तै स्वार्थी मानिसहरू बस्दारहेछन् ।’
पुस्तान्तर सृष्टिको एउटा नियमित र सामान्य प्रक्रिया हो, तर पुस्तन्तरमा भेटिने मानसिक अन्तरचाहिँ असामान्य तहको देखिन्छ । हजूरबुबा, बाबू र नातिबीच पुस्तान्तरको स्पष्ट झलक पाइन्छ र तीनै जनाले पुस्ताका कारण आफूलाई विशिष्ट ठानिरहेका हुन्छन् । यही सोच राजनीतिमा समेत प्रवेश भएपछि पुरानो र नयाँ पुस्ताबीचको अन्तरविरोध बढ्न खोज्दैछ, पछिल्लो दशकमा नेपाली राजनीति पुरानो र नयाँ पुस्ताबीचको घोषित/अघोषित अन्तरविरोधबाट गुज्रँदैछ ।
ऐतिहासिक ब्यक्तित्वले हाम्राबारे निकालेको निष्कर्षलाई गलत सावित गर्ने प्रयास पुरानो पुस्ताले गरेन भन्दैमा नयाँ पुस्ता नकारात्मक अर्थको झन् खतरनाक भएर प्रस्तुत हुनुपर्ने हो र ?
नयाँ पुस्ता नेपाली भएकोमा गौरव गर्छ कि कुनै पश्चिमा मुलुकको भिसा पाउँदा ज्यादा गौरवान्वित हुन्छ ?
नयाँ पुस्ता एकथान गाडी या मोटरसाइकललाई जति महत्व दिन्छ, त्यति देशलाई दिँदैन भन्नेहरूलाई कसरी जवाफ दिन सक्छ ?
नयाँ पुस्ता सकारात्मकता भन्दा नकारात्मकतामा, सत्यभन्दा झुठमा, प्रेमभन्दा घृणामा, मान गर्न भन्दा अपमानमा, अनुशासनभन्दा अराजकतामा रमाउन चाहन्छ भनीठान्नेहरूलाई कसरी जवाफ फर्काउन सक्छ ?
नयाँ पुस्ता कुनै पनि विषय, घटना एवम् पात्रका बारेमा अनुसन्धान र अध्ययन गरेर नभइ मनमा उब्जने तरङ्गका भरमा धारणा बनाउँछ र त्यसैलाई सत्य ठान्ने भ्रममा बाँच्छ भन्ने आरोपको खण्डन नयाँ पुस्ताले कसरी गर्नसक्छ ?
नयाँ पुस्ता संस्कार, संस्कृति, समाज, परिवार, स्वधर्म र राष्ट्रिय पहिचानसँग कुनै सरोकार राख्दैन भन्नेहरूलाई कसरी खण्डन गर्न चाहन्छ ?
नयाँ पुस्तामा सही र गलत छुट्याउने विवेक र सामर्थ्य कमजोर छ, उनीहरू आत्मकेन्द्रीत छन् र आफूलाई केन्द्रमा राखेर हरेक विषयका धारणा बनाउने गर्दछन् भन्ने कतिपयको भनाइलाई गलत प्रमाणित गर्ने तागत नयाँ पुस्तामा छ ?
नयाँ पुस्ताले देश जोगाउने इच्छा, क्षमता र सामर्थ्य राख्दैन भन्ने जसले ठानेका छन्, तिनलाई कसरी जवाफ फर्काउन चाहन्छ ?
यस्ता अनेक प्रश्न नवीन पुस्तामाथि उठेको छ, तर यसको जवाफ कोइलीको शैलीमा नभइ कागको शैलीमा फर्कन सक्छ । आफूलाई नयाँभन्दा बढी युवापुस्ताको दाबी गर्दै राजनीतिमा देखापरेको एलियनहरूको एउटा विचारशुन्य झुण्ड जो सत्य मन पराउँदैन, घृणाको ब्यापारलाई नै राजनीति ठान्दछ, अपराधकर्मको पुष्टि अदालतबाट भइसक्दा पनि (यद्यपि अन्तिम निर्णय आउन बाँकी) आफूले भन्दा ज्यादा र आफूले भन्दा पहिले अरुले अपराध गरेको हुँदा आफूलाई उन्मूक्ति दिइनुपर्ने (कु)तर्क गर्छ, त्यस्तालाई नेता मान्ने र तिनैको नेतृत्वमा देश बन्ने भ्रम राखेर दौडने पुस्ताका मानिसबाट देशले कस्तो आशा गर्ने ? कुनै विषयमा कुनै आधिकारिक समिति या आयोगले अध्ययन-अनुसन्धानका आधारमा निकालेको निष्कर्षलाई अस्वीकार गर्ने, प्रत्यक्षदर्शी र साक्षीका कुरा नपत्याउने, न्यायालयको निर्णय पनि आफूअनुकुल हुँदा मात्र स्वीकार गर्ने र नभए प्रतिशोध भन्दै सडकमा उफ्रिपाफ्री गरिनुलाई जायज ठान्नेहरूबाट मुलुक बन्ने आशा गर्नु ब्यर्थ छ, यस्ताहरूबाट देश नबन्ने होइन कि नबच्ने खतरा अधिक रहन्छ ।
नयाँ पुस्ता र युवापुस्तालाई जिम्मेवार, सकारात्मक र अनुशासित बनाउने दायित्व राज्य र अगुवा नेताहरूको थियो, तर ‘बाबू’ नै घरको सामान लुट्ने र चोर्ने भूमिकामा भइदिएपछि यिनले युवापुस्तालाई कसरी सिकाउलान् ? के सिकाउलान् ? सर्वाङ्गीण विघटनको ढोकैमा हामी आइपुगेका छौँ ! पशुपतिनाथकै भरोसामा रहने या हरेक सच्चा नेपाली आफ्नो राष्ट्रिय कर्तब्य निर्बाह गर्न अग्रसर हुने ? समयले देशभक्त नेपालीको इमान्दार प्रयासको प्रतीक्षा गरेको छ, के हामी समयको अपेक्षा पूरा गर्ने अठोट गर्न तयार छौँ ?
जय मातृभूमि !!
prakashdev1964@gmail.com
प्रतिक्रिया