उडसाइड, न्यूयोर्क / नेपाली राजनीतिका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा अमेरिका च्याप्टर अन्तर्गतको जीपी कोइराला फाउन्डेशनले एक स्मृति कार्यक्रमको आयोजना गरेको छ।
फाउन्डेशनको कार्यालय, उडसाइड, क्विन्स न्यूयोर्कमा आयोजित कार्यक्रममा वहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै योगदानको स्मरण गरिएको थियो। कार्यक्रमको सुरुवात फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले दीप प्रज्वलन र तस्वीरमा माल्यार्पण गर्दै गर्नुभयो, जसपछि उपस्थित सबैले पालैपालो श्रद्धासुमन अर्पण गरेका थिए।
पूर्व उपसभापति बुद्धि श्रेष्ठले गिरिजा बाबुलाई निडर, त्यागी र निष्ठावान नेताको रूपमा स्मरण गर्दै, उहाँ सधैं राष्ट्र र जनताको चिन्तामा रहने नेताको रूपमा आफूले चिनेको बताए।
समाजसेवी वीरेन्द्र मानन्धरले गिरिजा बाबु जनउत्तरदायी नेता भएको र प्रवासमा कांग्रेस जनसम्पर्कको स्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गम्भीर प्रश्न उठाए।
दोलखा समाजका अध्यक्ष भोजराज ठोकरले माओवादी द्वन्द्वको रक्तपातबाट देशलाई मुक्त गर्दै शान्तिपूर्ण रूपमा राजतन्त्र अन्त्य गराई गणतन्त्र स्थापना गर्नुमा गिरिजा बाबुको निर्णायक भूमिका रहेकोमा जोड दिए।
माइन्योरिटी इम्पावरमेन्ट अर्गनाइजेशनका अध्यक्ष श्याम कार्कीले गिरिजा बाबु कुशल संगठनकर्ता भएको र अहिले त्यस्तो नेतृत्वको अभाव रहेको बताए।
एनआरएन महिला उपाध्यक्ष लक्ष्मी थापाले पनि देशमा गिरिजाजस्तो दूरदर्शी नेतृत्वको आवश्यकता रहेको धारणा राखिन्। महिला नेतृ कमला पन्तले ट्रेड युनियन आन्दोलनमा सहभागी हुँदा पाएको मार्गदर्शनबाट आफू गहिरो रूपमा प्रभावित भएको बताइन्।
फाउन्डेशनका केन्द्रीय सदस्य सूर्य सिंखडाले “गिरिजाजस्तो नेता न अघिसम्म थिए, न अहिले छन्, न आउनेछन्” भन्दै वहाँको अभाव नेपाली राजनीतिमा सदैव खडकिरहने बताए।
फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गर्दै २०४६ देखि २०६७ सालसम्म देशको राजनीतिमा गिरिजा बाबु निरन्तर अगुवा नेतृत्वकर्ता रहेको र देशलाई द्वन्द्वबाट लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्न वहाँको योगदान अविस्मरणीय रहेको बताए।
समापन मन्तव्यमा, अध्यक्ष सुवर्ण लामाले गिरिजा बाबुले बारम्बार दोहो¥याउने “सहमति, सहकार्य र एकता” को सिद्धान्त नै देश र समाजको हितमा रहने बताउँदै, फाउन्डेशनले कोरोना कालदेखि निरन्तर सामाजिक सेवा गर्दै आएको र भविष्यमासमेत यसलाई निरन्तरता दिने अठोट व्यक्त गरे।
झन्डै दुई घन्टा चलेको कार्यक्रममा फाउन्डेशनका केन्द्रीय सदस्यहरू ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, राजेश आचार्य, पासाङ गोपर्मा, फुडोमा लामा लगायत दर्जनौँ विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
संयुक्त राष्ट्रसंघीय धार्मिक समितिका संयोजक दिलीपकुमार थांकापन, धर्मगुरु ब्रह्मनिष्ठानन्द, समाजसेवी अम्बीर जोशी, राजेन्द्र श्रेष्ठ, हरी मगर, वील तामाङ, रोहित पाण्डे, राम गिरी, गायिका सुमित्रा लामा लगायत करिब ६० जना सहभागी थिए।
कार्यक्रममा जलपान र खाजाको व्यवस्था फाउन्डेशनकी कोषाध्यक्ष रेखा श्रेष्ठद्वारा सञ्चालित ‘टेस्ट अफ नेपाल’ र हरी मगरद्वारा सञ्चालित ‘नेपाली म:म क्याफे’को सौजन्यमा गरिएको थियो।

प्रतिक्रिया