विश्वव्यापी सम्बन्ध र आप्रवासनको युग हो यो, जहाँ नागरिकताको परिभाषा केवल पासपोर्ट वा भौगोलिक सीमामा सीमित रहन सक्दैन। नागरिकता अब देश र जनता बीचको गहिरो कानुनी, भावनात्मक र सामाजिक सम्बन्धको प्रतीक बनेको छ। नेपालको सन्दर्भमा हेर्दा लाखौँ नेपाली विश्वका विभिन्न देशमा स्थायी रूपमा समेत बसोबास गरिरहेका छन्। कानुनी अड्चन नहोस् भनेर जति देशमा सम्भव छ, त्यस देशको नागरिकता लिन्छन् उनीहरू। तथापि, उनीहरू नेपाली माटोप्रति गहिरो मायाबोध राख्छन्। तर नेपालको हालको नागरिकता कानुनले उनीहरूलाई कानुनी रूपमा नेपालको हिस्सा बन्न दिँदैन। यसरी, भावनात्मक सम्बन्ध कायम भए पनि कानुनी संरचनाले उनीहरूलाई राष्ट्रबाट टाढा हुन बाध्य पारेको छ।
नेपालमा दोहोरो नागरिकताको सुविधा नहुनु केवल कानुनी कठोरता होइन, राज्यले आफ्ना सन्तानलाई बुझ्न नसकेको संकेत पनि हो। संसारका धेरै प्रगतिशील मुलुकले आफ्नो ठूलो शंख्याका प्रवासी नागरिकलाई कानुनी रूपमा समेट्न दोहोरो नागरिकताको व्यवस्था गरेका छन्। उनीहरूले देखाएका उदाहरणहरूले स्पष्ट देखाउँछ—यो केवल नागरिकको अधिकार मात्र होइन, राज्यको रणनीतिक आवश्यकता पनि हो। नेपालको अर्थतन्त्र स्वयं परनिर्भर छ। वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले बर्सेनि करिब २५ प्रतिशत जिडिपी ओगटिरहेको छ। तीमध्ये विदेशको नागरिकता लिने नेपाली नागरिक र तिनका सन्ततिलाई कानुनी रूपमा गुमाउनु दीर्घकालीन रूपमा राष्ट्रकै लागि घाटाको कुरा हो।
दोहोरो नागरिकता प्राप्त गर्ने नेपालीले मातृभूमिमा लगानी गर्न सक्छन्, स्थायी घर बनाई सेवा निवृत्त जीवन बिताउन सक्छन्, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा आफ्ना अनुभव र सम्पर्कमार्फत योगदान दिन सक्छन्। धेरैले विदेशमा व्यवसाय सञ्चालन गरिरहेका छन् र नेपालमा शाखा विस्तार गर्न चाहन्छन्। तर कानुनी बाध्यताले गर्दा उनीहरू भारत वा अन्य देशतर्फ आकर्षित भइरहेका छन्। उनीहरूले आफैमा लगानीको स्रोत, प्राविधिक ज्ञानको खानी र अन्तर्राष्ट्रिय सम्पर्कको सञ्जाल बोकेका छन्। त्यसैले, दोहोरो नागरिकता भनेको ती अवसरहरूलाई कानुनी रूपमा नेपालको सेवामा लगाउने सशक्त माध्यम पनि हो।
यसबाहेक, प्रवासी नेपालीका दोस्रो र तेस्रो पुस्ताका सन्तान, जो विदेशमै जन्मे-हुर्किए, उनीहरू आफ्नो मौलिक पहिचान खोज्न चाहन्छन्। उनीहरूले नेपाली भाषा, संस्कृति, पर्व र भेसभुसामा चासो देखाउँछन्, तर कानुनी नागरिकता नहुँदा उनीहरूको त्यो लगाव केवल ‘भावना’मै सीमित हुन्छ। यदि राज्यले दोहोरो नागरिकताको माध्यमबाट तिनलाई अँगाल्न सक्यो भने नेपालले भविष्यको पुस्तामा आफ्नो पहिचान र सम्पर्क कायम राख्न सक्नेछ। नत्र, समयसँगै सम्बन्ध कमजोर हुँदै जान्छ र नेपालप्रति अपनत्व टाढिँदै जान्छ। संसारबाट पर्यटक बटुल्न कति धेरै लगानी र मेहनत गरिन्छ, तर आफ्नै भूमिका सन्तान र दरसन्तानलाई आफ्नै देशबाट टाढा बनाएर फाइदा आखिर कसलाई हुन्छ?
दोहोरो नागरिकताको अर्को सकारात्मक पक्ष भनेको ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्ने अवसर हो। हरेक वर्ष लाखौँ युवा उच्च शिक्षा र रोजगारीको लागि विदेश जान्छन्। उनीहरूमध्ये धेरै नेपाली नेपाल फर्कन चाहन्छन्, तर विदेशी नागरिकता लिएपछि नेपाल फर्किन कानुनी समस्याहरू आउँछन्। यदि उनीहरूलाई आफ्नो विदेशी नागरिकता नत्यागीकन नेपालमा बस्न, काम गर्न वा लगानी गर्न दिइयो भने उनीहरूले प्राप्त गरेको ज्ञान र अनुभव राष्ट्रको सेवामा प्रयोग गर्न सक्नेछन्। यसले दीर्घकालीन रूपमा नेपालमा उद्यमशीलता, प्रविधि र नवप्रवर्तनको विकासमा सहयोग पुर्याउनेछ।
यद्यपि, केहीले दोहोरो नागरिकता दिएर राज्यको सुरक्षामा खतरा आउन सक्छ, कानुनी अन्योल बढ्न सक्छ वा दुई देशबीच द्वन्द्व उत्पन्न भए निष्ठाको प्रश्न उठ्न सक्छ भन्ने तर्क गर्छन्। तर यी सबै समस्या समाधान गर्न सकिने छन्। विशेष गरी छिमेकी दुई ठुला देशबाट अनियन्त्रित मानिस आए के गर्ने भन्ने प्रश्न गर्ने गरिन्छ। जुन यस सन्दर्भमा कुनै मेल खाँदैन। जो जससँग नेपाली नागरिकता छ, उसको र सन्ततिको नेपाली नागरिकता कायम रहने व्यवस्थाले अन्य देशका नागरिक नेपाली नागरिक बन्न आउनेछन् भन्ने डर पाल्न आवश्यक छैन।
विदेशमा पैसा कमाएर नेपाली राजनीतिमा हाबी होला कि भन्ने हाउगुजी चलाउनु पनि उचित हैन। अहिलेको संविधानको धारा २९१ ले विदेशी नागरिकता लिएका मात्र होइन, विदेशमा स्थायी बसोबास गर्ने अनुमति पाएकालाई समेत सरकारी नियुक्ति आदिमा ढोका बन्द गरेको छ। कतिपय देशले दोहोरो नागरिकता भए पनि केही उच्च संवैधानिक पदमा मात्र प्रतिबन्ध लगाएका छन्, कर प्रणाली प्रस्ट पारेका छन् र भोट हाल्ने अधिकार सीमित गरेका छन्। नेपालमा पनि निर्वाचनसम्बन्धी कानुनमा जिम्मेदारी अनुसारको पदमा फरक फरक योग्यता हुनुपर्ने व्यवस्था गरिएको र थप गर्न पनि सकिनेछ।
राजनीतिक दृष्टिले हेर्दा पनि यो विषय अब टार्न मिल्ने खालको छैन। नेपालले अझै पनि आफ्ना प्रवासी समुदायप्रति विश्वासको अभाव देखाइरह्यो भने दीर्घकालीन रूपमा उनीहरूको नेपालसँगको भावनात्मक र कानुनी सम्बन्ध टुट्नेछ। त्यसपछि ती समुदायहरूले नेपालमा लगानी गर्न पनि चाहने छैनन्, आफ्ना सन्तानलाई नेपाली बनाउने सोच पनि बिस्तारै त्याग्नेछन्। अझ दुःखद त के भने ती नेपालीले भारतजस्ता छिमेकी देशमा लगानी गर्न शुरू गरिरहेका छन्, जहाँ कानुनी अवरोध कम छन्। नेपालले आफ्नो सम्भावित शक्ति आफैं गुमाउने खतरा यस्तै अवस्थाबाट आउँछ।
युवा पुस्ता र अन्तर्राष्ट्रिय परिवेशको भावना बुझ्दा, स्पष्ट देखिन्छ—दोहोरो नागरिकताको माग कुनै याचना होइन, यो समयको माग हो। राज्यले यो मागलाई ‘भिख’ सम्झेर अस्वीकार गर्नु केवल अन्याय होइन, रणनीतिक गल्ती पनि हो। हामीले बुझ्नपर्छ कि दोहोरो नागरिकता देशबाहिर रहेका आफ्ना सन्तानलाई फेरि घर फर्काउने सेतु हो। यो राष्ट्रिय गौरव पुनः स्थापना गर्ने अवसर हो।
अन्ततः नेपालले दोहोरो नागरिकता अँगाल्नु भनेको केवल कानुनी सुधार होइन—यो एक सामाजिक, आर्थिक र रणनीतिक क्रान्ति हो। यसले देशलाई विश्वसँग जोड्छ, भावनात्मक रूपमा टाढिएका सन्तानलाई फेरि अँगाल्छ र नेपालको भविष्यलाई विश्वव्यापी बनाउने ढोका खोल्छ। दोहोरो नागरिकता कुनै विशेष वर्गका लागि ‘विशेष सुविधा’ होइन—यो राष्ट्रका सबै सन्तानका लागि सम्मानको प्रत्याभूति हो।
त्यस कारण, अहिले संविधानमा व्यवस्था गरेर पनि प्रयोगमा नआएको गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थालाई कामयाबी बनाउन नेपालका राजनीतिक दलहरू तयार हुनुपर्छ। दोहोरो नागरिकताको व्यवस्था नभएका देशहरूमा बसोबास गर्ने धेरैले त्यहीँको नागरिकता लिन नेपालको नागरिकता त्याग गर्नु अनिवार्य नै हुन्छ। तर दोहोरो नागरिकता स्वीकार गरेका देशको नागरिकता लिने बेला भने नेपाली नागरिकता त्याग्नु पर्दैन।
यस्तो अवस्थामा विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः लोप हुने भनेर नागरिकता ऐन २००९ बाट शुरू भई अहिलेसम्म कायम भएको कानुनलाई परिमार्जन गर्न आवश्यक छ। आफू खुसी नेपाली नागरिकता त्याग गर्नेबाहेक अन्य नागरिकको नागरिकताको हक राज्यले कानुन बनाएर समेत खोस्न नपाइने अमेरिकाको सर्वोच्च अदालतले सन् १९६७ मा नै प्रतिपादन गरेको सिद्धान्त नेपालले पनि अंगीकार गर्न आवश्यक छ। यो फैसलापछि संसारका आधाभन्दा बढी देशले दोहोरो नागरिकताको कानुनी व्यवस्था गरेका छन्। यो क्रम बढ्दो छ र नेपालजस्तो वैदेशिक रोजगारमा आफ्ना बढी नागरिक पठाउने देशले त अब ढिलाइ गर्यो भने झनै बढी नोक्सानी बेहोर्न पर्ने छ। – Source : Ukalo
प्रतिक्रिया