काठमाडौं, जेठ १७ — राजतन्त्र पुनर्स्थापना र हिन्दू राष्ट्रसहितको माग गर्दै सुरु गरिएको आन्दोलनको तेस्रो दिन शनिबार पनि काठमाडौंमा प्रदर्शन जारी छ। आजको प्रदर्शन शान्तिवाटिकाबाट सुरु भएर बालुवाटारतर्फ अगाडि बढेको हो। अहिले प्रदर्शनकारीहरू बालुवाटार क्षेत्रमा जम्मा भएका छन्, जहाँ संभावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वघोषित कार्यक्रमअनुसार आज राजावादीहरूले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए। तर सरकारको निर्णयअनुसार आजैदेखि दरबारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपछि उनीहरूले शान्तिवाटिकाबाट प्रदर्शन सुरु गरेका हुन्।
राजसंस्था पुनर्स्थापना र वर्तमान गणतान्त्रिक व्यवस्था विरुद्ध आवाज उठाउँदै राप्रपा लगायत राजावादी समूहहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनको क्रममा उनीहरूले “हाम्रो राजा फर्काऊ”, “हिन्दू राष्ट्र कायम गर” जस्ता नाराहरू लगाइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले हाल भइरहेको आन्दोलनमा जनताको साथजस्तै समर्थन रहने हो भने सरकारलाई झुक्न बाध्य बनाइने चेतावनी दिएका छन्। शनिबार (जेठ १७) काठमाडौंमा संयुक्त जनआन्दोलन परिचालन समितिको आयोजनामा भएको प्रदर्शनको तेस्रो दिन सञ्चारकर्मीहरूसँग बोल्दै उनले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागलाई जनताको उल्लेखनीय समर्थन प्राप्त भइरहेको दाबी गरे।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरू भाडामा मान्छे ल्याएर प्रदर्शन गरेको आरोप लगाएको प्रसंगमा प्रतिक्रिया दिँदै लिङदेनले गणतन्त्रको जग हाल्ने व्यक्ति भएकाले त्यसप्रति चिन्ता हुनु स्वाभाविक भएको बताए। “गणतन्त्रको मुद्दा उहाँकै नेतृत्वमा उठेको हो,” उनले भने, “गणतन्त्र हल्लिँदा उहाँलाई पीर लाग्नु स्वाभाविक हो। त्यसैले त्यो पीरको बेला उहाँले बोलेका कुरा मैले अन्यथा मानेको छैन।” लिङदेनले प्रचण्डले अघिल्लो पटक गणतन्त्रका पक्षमा प्रदर्शन गर्दा टाढाटाढाबाट मानिसहरू ल्याएर प्रदर्शन गराएको र पार्टी प्यालेसमा भोजसमेत खुवाएको प्रसंग उल्लेख गरे।
उनले वर्तमान व्यवस्थालाई ‘लुटतन्त्र’को संज्ञा दिँदै यस्तो अवस्थाको अन्त्य अपरिहार्य भएको बताए। उनले विगतमा राजसंस्था र राजनीतिक दलहरूबाट भएका कमजोरीहरू सुधार गर्दै अब देशलाई राजा र गणतन्त्रवादी दुवै समेट्ने मौलिक संयन्त्रको सहमतिबाट अघि बढाउनुपर्ने धारणा राखे।
शनिबारको प्रदर्शनमा सहभागी राजावादीहरू शान्तिवाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गर्दै पुगेका थिए। दरबारमार्गतर्फ प्रदर्शन गर्ने योजना रहे पनि प्रशासनले उक्त क्षेत्र निषेधित घोषणा गरेपछि उनीहरूले बालुवाटारतर्फ प्रदर्शन स्थान परिवर्तन गरेका थिए। प्रदर्शनका क्रममा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। राजावादी समूहले आइतबार (जेठ १८) नारायणचौर क्षेत्रमा अर्को प्रदर्शन गर्ने जनाइएको छ।





OnlineKhabar : हेर्नुस् केही तस्वीरहरू











Photos : Nepalmother/Onlinekhabar/Himalayatimes/Facebook
प्रतिक्रिया