बौद्ध धर्म–दर्शनको विश्वब्यापी प्रभाव विस्तारमा सञ्चारको विशेष महत्व रहेको पाइन्छ । बुद्धको जीवनकाल र सञ्चारसँगको सम्बन्ध, बुद्धकालीन सञ्चार एवम् त्यसपछि विकसित भएका सञ्चार पद्धतिहरूको उपयोगबाट नै बौद्ध धर्म–दर्शनले व्यापकता पाएको हो । सञ्चार मानव जीवनको अपरिहार्य तत्व भएकाले यसकै उपयोगबाट बौद्ध धर्मदर्शनले उचाइ प्राप्त गरेको छ । विचार जतिसुकै राम्रो भए पनि आम जनमानसमा ठीक समयमा सही तरिकाले पु¥याउन सकिएन भने त्यसको कुनै अर्थ रहँदैन । त्यसैले बौद्धदर्शन र सञ्चार एक अर्काका परिपुरकको रूपमा अगाडि बढेको हुनाले नै बुद्धका विचारको विश्वब्यापी महत्व छ भन्ने कुरा स्पष्ट भएको हो । बुद्धका विचारको प्रचार हुनमा सञ्चारले बाटो देखाउने मात्र होइन हिडाउने काम गरेको छ ।
बौद्ध सञ्चारको पृष्ठभूमितर्फ दृष्टि पु¥याउँदा बुद्धले पहिलो पाइलो टेकेको लुम्बिनी वनदेखि निर्वाणसम्मका बुद्धको जीवनसँग सम्बन्धित चार महत्वपूर्ण स्थानको एकीकृत प्रचार–प्रसार र विकाससँग जोडेर हेर्नुपर्ने देखिन्छ । बुद्ध–ज्ञानबाट संसारका अरबौं मानिसहरू प्रभावित छन् । मानिस जहाँ जन्मे पनि उनका असल विचारको सञ्चार गर्न सकियोे भने त्यसले विश्वव्यापी प्रभाव दिन सक्छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ । गौतम बुद्धलाई जन्माउने भूमिप्रति विश्वले नै गौरवबोध गर्छ । बुद्धले ‘अहिंसा, सत्य, अस्तेय अर्थात्् चोरी नगर्नु, ब्रह्मचर्य र मद्यनिषेध’ जस्ता कुरालाई पञ्चशीलको रूपमा महत्व दिएका छन् । यसको विश्वब्यापी सञ्चार आजको आवश्यकता भएको छ ।
गौतम बुद्धले धर्मका नाममा प्रचलित यज्ञ र त्यसमा दिइने पशुबलि, वर्णव्यवस्था, जाति भेद र समाजमा भएको अनेक प्रकारका शोषणका कारणहरू पत्ता लगाई त्यसको निदानका लागि मार्ग प्रशस्त गरेका थिए । मानव समाजमा समानता, स्वतन्त्रता, न्याय र विश्वबन्धुत्वका लागि महत्वपूर्ण विचार दिएका छन् । सामान्य रूपमा मारकाटको विषय ‘हिंसा’ को एउटा रूप मात्र हो, व्यापक अर्थमा बुझ्दा ‘कायिक, वाचिक र मानसिक’ रूपमा पनि हिंसा गर्नुहुँदैन । ‘घृणा’ नै हिंसाको वीज हो, अर्काको हक खोस्नु र धोका दिनु पनि एक किसिमको हिंसा नै हो ।
‘शान्तिपूर्ण सहअस्तित्व’ पनि बुद्धका विचारको महत्वपूर्ण स्थान रहेको छ । संसारका सबै समस्याको शान्तिपूर्ण समाधान संभव छ र एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु नै सहअस्तित्व हो भन्ने बुद्धदर्शनको आधार हो । अस्तित्वको अस्वीकृति नै झगडाको जड वा मूल हो भनेका हुँदा बुद्धका ती विचारबाट आणविक हातहतियारको प्रयोगबाट विश्वमा शान्ति खोज्नेहरूलाई मैत्री, करुणा, मुदिता र उपेक्षा जस्ता चतुब्रह्मविचारको महत्व बताउँदै शान्ति–मार्गमा अघि बढ्न प्रेरित गरिएको छ । उनले समानतावादी सोच र असल विचारबाट शान्ति प्राप्त हुन सक्छ भन्ने सन्देशको सञ्चार गरेका छन् ।
बुद्धका विचारलाई कार्यान्वयन गर्नका निम्ति ‘सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि’ जस्ता आर्य अष्टाङ्ग मार्गको परिपालन गर्नु आवश्यक छ । बुद्धका विचारले सबैखाले अतिवादलाई अस्वीकार गरेको छ । यसको व्यापक रूपमा प्रचार–प्रसार गर्नु आजको आवश्यकता हो । ‘बुद्धम् शरणम् गच्छामि, धम्मम् शरणम् गच्छामि र सङ्घम् शरणम् गच्छामि’ बुद्धका विचारका आधारस्तम्भ हुन् । यसको माध्यमबाट नै बुद्धका विचार बुझ्न र व्यवहारमा लागु गर्न सकिन्छ । यसरी हेर्दा बुद्ध व्यक्तिमात्र नभएर मानवीय ज्ञानका स्रोतका रूपमा देखिएकाले उनका विचारको विश्वब्यापी सञ्चार भएको हो ।
द्वन्द र अशान्तिको अप्ठयारो परिस्थितिबाट गुज्रेको समाजलाई आदर्शपूर्ण रूपमा अगाडि बढाउने कुरामा गौतम बुद्धका विचार र दर्शनलाई मार्ग दर्शनको रूपमा ग्रहण गरी तदनुसारको आचरण समाजमा स्थापना गर्न सकेमा शान्ति र समतामूलक समाज निर्माण गर्न सकिने बलियो आधार देखिन्छ । आज कैयौ अस्त्रले गर्न नसक्ने र कुनै ठूलो बलले गर्न नसक्ने काम बौद्ध दर्शनको प्रभावबाट गर्न सकिने देखिएकोले सञ्चारका सबै संयन्त्रहरूलाई बुद्धका विचारको प्रभावकारी सञ्चारमा प्रेरित गर्नुपर्दछ । बुद्धका शिक्षाहरूले मानिसका हृदयमा मैत्री, करुणा, समभाव र शान्तिको प्रभाव दिन सफल भएको पाइन्छ । गौतम बुद्धको कथनी र करनीमा कहिल्यै कुनै अन्तर देखिँदैन । त्यसैले उनलाई ‘यथावादी तथाकारी, तथाकारी यथावादी’ पनि भन्ने गरिन्छ । गौतम बुद्धसँग सम्बन्धित विभिन्न घटनाहरू, जन्म, बाल्यकाल, गृहस्थ जीवन, महाभिनिष्क्रमण, बुद्धत्वप्राप्ति, उपदेश, महापरिनिर्वाण सबै कुराको प्रचार–प्रसारमा सञ्चार क्षेत्रको विशेष भूमिका रहेको छ ।
विश्वलाई बुद्धका विचार अनुसारको शान्ति, मैत्री, प्रेम र करुणाले युक्त समाजको आवश्यकता रहेको छ । बुद्धले मानव–जीवन र त्यसको वरिपरिको वातावरणसँग सम्बन्धित विभिन्न पक्षको विवेचना गरी उपदेश दिएका छन् । अतः सञ्चार–माध्यमहरूले गौतम बुद्धका विचारको व्यापक प्रचार–प्रसार गर्दै आएका छन् । मानिसमा रहेका तृष्णा, राग, द्वेष, मोह, घृणा, लोभ–लालच र भयका विकारहरूबाट कसरी छुटकारा पाउन सकिन्छ ? जस्ता विषयमा गौतम बुद्धले आफ्नो जीवनकालमा देखे–भोगेको मानव–समाजको गहन अध्ययन, वैज्ञानिक खोज अनुसन्धान गरी समस्याको पहिचान र त्यसको समाधानको मार्ग दिन सफल भएकाले यो कुरालाई आधुनिक सञ्चार माध्यमहरूको प्रयोगबाट विश्वका नागरिकहरूलाई बुझाउनु पर्छ ।
मानिसले गर्ने हरेक कार्य शुभ र मङ्गलमय हुनुपर्ने विचारलाई व्यवहारमा लैजा“दा अनुपयुक्त भए त्यसलाई ग्रहण गर्नु आवश्यक नपर्ने भन्दै बुद्धले “मैले भने भन्दैमा कतै शास्त्रमा उल्लेख छ भन्दैमा त्यसलाई स्वीकार गरिहाल्नुपर्छ भन्ने छैन । कुनै पनि विचार व्यवहारमा लैजाऊ, उपयोगी भए त्यसलाई लागू गर, अन्यथा लागू नगर” भनेका हुँदा बुद्धको विचार आफैमा वैज्ञानिक देखिन्छ ।
विश्वशान्तिका लागि गौतम बुद्ध महान् पथप्रदर्शक बनेका छन् । मानव समाजमा मैत्री, प्रेम र करुणाको सिर्जना गरी शान्ति र समातामूलक समाज निर्माण गर्नमा गौतम बुद्धका विचार अत्यन्तै महत्वपूर्ण देखिएकाले नै आधुनिक विश्वमा पनि गौतम बुद्धद्वारा प्रतिपादित दर्शनको महत्व झनै बढ्दै गएको पाइन्छ । अतः गौतम बुद्धका महान् विचार र कर्महरूबाट शिक्षा लिँदै तदनुसारको कर्तव्य गर्नु पनि आवश्यक छ । गौतम बुद्ध मूर्तिपूजाको पक्षमा नभए तापनि उनप्रतिको आस्था र विश्वासका कारण श्रद्धा गर्नेहरूले मूर्ति निर्माण गरेकाले त्यसलाई स्वाभाविक ठान्नु पर्दछ । तर बुद्धका वैज्ञानिक विचारहरूलाई तोडमोड गरी ईश्वरवादका रूपमा परिभाषित गर्दै अपव्याख्या गर्ने प्रवृति गलत हो । यसलाई सञ्चार जगतले स्पष्ट पार्नुपर्दछ ।
गौतम बुद्धको जन्म, जीवन र महापरिनिर्वाण पश्चात् बौद्ध धर्म—दर्शनको विस्तारका क्रममा यहाँसम्म आउँदा सञ्चारको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । बौद्ध धर्म–दर्शनको सञ्चारमा चिनियाँ–यात्री फाइह्यानको यात्रा विवरण र तिब्बतको दिस्पोरा ९मष्बकउयचब० ले महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । सञ्चार नभएको भए आजको बौद्ध धर्म—दर्शन उतिबेलै लोप हुने थियो । गौतम बुद्धद्वारा प्रतिपादित धर्म—दर्शनको विश्वव्यापी रूपमा प्रभाव विस्तार हुनुमा निःसन्देह सञ्चारको निकै ठूलो महत्व रहेको छ । अतः परम्परागत सञ्चार प्रणालीका माध्यमबाट होस् या आधुनिक सञ्चार प्रणालीका माध्यमबाट होस्, गौतम बुद्धका शान्ति सन्देशहरूलाई विश्वव्यापी गराउनमा सञ्चारले खेलेको भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।
गौतमबुद्धका विचारहरूको सफल सञ्चारण नभएको भए आज बौद्ध धर्म–दर्शन र शान्तिका उपदेशहरूबाट विश्वले लाभ लिन सक्ने थिएन । त्यसैले सञ्चारले गौतम बुद्धका शान्ति उपदेशलाई विश्वव्यापी गराएको हो । पछिल्लो समयमा सूचना प्रविधिमा भएको तीब्र विकासले विश्वलाई नै एउटा सानो गाउँको रूपमा परिणत गरेको अवस्थामा विश्वशान्ति र सञ्चार एक अर्काका परिपूरक हुदैँ गएका छन् । गौतम बुद्धका विचारहरूले विश्वको समस्त प्रणालीमा समेत प्रभाव पारेकोे छ । मानव सभ्यताको इतिहासलाई हेर्दा राजनीतिक प्रणालीको आधारमा आमसञ्चारका सिद्धान्तहरू बनेका छन् । यसक्रममा निरंकुशतावादी सिद्धान्त, उदारवादी सिद्धान्त, सामाजिक उत्तरदायित्वको सिद्धान्त र साम्यवादी सिद्धान्त भनी परिभाषित गरिएको देखिन्छ । तिनीहरूको विश्वविद्यालयहरूमा अध्ययन—अध्यापन गराइन्छ । बुद्धद्वारा प्रतिपादित दर्शनलाई आधारमानी कैयौं मुलुकहरूमा राज्यकै प्रमुख मार्ग एवम् धर्मका रूपमा मानिदै आएको पाइन्छ ।
यसबाट गौतम बुद्धका विचारको सान्दर्भिकता विश्वमा झनै बढ्दै गएको पाइन्छ । अतः विश्व–मानव समाजमा शान्ति स्थापनाका लागि बौद्ध–दर्शन वैज्ञानिक दर्शनको रूपमा प्रमाणित भएको छ । यसको प्रभावकारी सञ्चार हुन सक्दा विश्वमा शान्ति स्थापना हुने देखिन्छ । विश्वशान्तिका लागि विभिन्न सिद्धान्तहरूको चर्चा र विवेचनाका साथै संयुक्त राष्ट्रसंघ लगायतबाट अनेकौँ कोशिसहरू भई आए तापनि विश्वमा शान्ति स्थापना हुन सकेको छैन । अतः द्वन्द्वग्रस्त विश्वलाई शान्तिमार्गमा ल्याउनु आवश्यक छ । यसका लागि शान्ति सम्बन्धी यसअघि भएका विभिन्न व्याख्या एवम् मान्यताको समेत अध्ययन गरी तिनीहरूमा रहेका कमीलाई दृष्टिगत गर्दै बौद्घ दर्शनको आलोकमा सञ्चारमा शान्ति सिद्घान्तको आवश्यकता बोधगरी लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यावारिधिको प्राज्ञिक अनुसन्धानमार्फत यसको औचित्य पुष्टि गराएको छ । यसलाई सञ्चारको पाँचौ सिद्धान्तका रूपमा विश्वले मान्यता प्रदान गरेको छ ।
गौतमबुद्घले खासगरी प्राचीन र परम्परागत सञ्चार पद्धतिका रूपमा अन्तर्मुखी सञ्चार, अन्तर्वैयक्तिक सञ्चार, समूह–सञ्चार र सामान्य रूपमा प्राचीन आमसञ्चारको प्रयोग गरेका थिए । त्यस अवस्थामा गौतम बुद्ध स्वयं विभिन्न गाउँ, सहरहरूमा पुगेर विचारको सम्प्रेषण गरेका थिए ।
उनका विचारहरू जसले सुने, मनमा राखे र समयक्रममा श्रुति परम्परा अर्थात्् गुरु—शिष्य परम्पराबाट सम्प्रेषित हुँदै आए । ती कुराहरूलाई विभिन्न सङ्गायनहरूद्वारा संरक्षण र सम्बद्र्धनको प्रयास गर्दै ताम्रपत्र र शिलालेखहरूमा लिपिबद्ध गरी छापा माध्यमको विकास भइसकेपछि पुस्तकाकारका रूपमा आएको हो । छापा माध्यमको सुरु भएपश्चात् रेडियो, चलचित्र, टेलिभिजन, इमेल इन्टरनेट, अनलाइन जस्ता आधुनिक र व्यवसायिक सञ्चार प्रणालीको विकास भयो । व्यक्ति, सर्वसाधारण र दुनियालाई सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण कडीको रूपमा सञ्चार रही आयो । गौतम बुद्धले भनेका ‘दश अकुशल कर्म’ जस्तै शरीरबाट गर्न नहुने तीन कर्म अहिंसा (हिंसा नगर्नु), नचोर्नु (अस्तेय), व्यभिचार नगर्नु, त्यस्तै वचनबाट असत्य नबोल्नु, चुक्ली नगर्नु, कडा वचन नबोल्नु, वकबास नगर्नु र त्यस्तैगरी मनबाट लोभ नगर्नु, द्वेष नगर्नु, मिथ्या दृष्टिमा नपर्नु जस्ता कुरालाई व्यावहारिक जीवनमा उतार्न सकेमा समाजमा शान्ति स्थापना हुन सक्ने देखिन्छ । अकुशल कर्मका तीन मूल कारणहरूमा लोभ, द्वेष र मोह (मूर्खता) भएकाले यसलाई मनबाट हटाउन सक्नुपर्दछ ।
बौद्ध दर्शनको विकास र विस्तारमा अन्तर्मुखी सञ्चार, अन्तर्वैयक्तिक सञ्चार, समूह–सञ्चार र आमसञ्चारको भूमिका महत्वपूर्ण रहेको छ । गौतमबुद्धका विचारको वास्तविकताको बोध विश्वका मानव जातिका मनमनमा सञ्चारित गर्न सकेमा समाजमा शान्ति स्थापना हुन सक्छ । भवतु सब्ब मंगलम् ।
प्रतिक्रिया