– डा.बालकृष्ण चापागाईं
इसापूर्व दोस्रो शताब्दीतिर नेपाल र भारतका विभिन्न विद्वानहरूका माध्यमबाट नेपालको उत्तरी हिमालयन क्षेत्र तथा चीनको तिब्बतलगायत विभिन्न ठाउँमा बौद्ध धर्मदर्शनले प्रवेश पाएको देखिन्छ । चीनमा सर्वप्रथम इ. ६७ मा बौद्ध धर्मप्रचारकहरू पुगेका थिए । चीनबाट यो धर्म चौथो शताब्दीमा कोरिया र छैटौँ शताब्दीमा जापानमा फैलिएको पाइन्छ । अनि त्यसपछि लगातार विभिन्न सम्पर्कका माध्यमबाट थाइल्याण्ड लगायतका दक्षिण पूर्व एसियाली मुलुकहरूमा विस्तार भएको पाइन्छ । चीनबाट पश्चिमी मुलुकहरूमा प्रचारित बौद्ध धर्मको प्रभाव ती मुलुकहरूमा लामो समयसम्म रहेको पाइन्छ ।
चीनमा हान वंशका सम्राट् मिङले बुद्धसम्बन्धी ग्रन्थ ल्याउनका लागि आप्mना तीन जना दूतलाई भारत पठाए । सम्राट्का दूतले काश्यप र धर्मरत्न गरी दुई जना भिक्षु र कैयौँ बुद्धसम्बन्धी ग्रन्थ लिएर गए । राजाले भिक्षुका लागि श्वेताश्व विहार बनाए । काश्यपले “द्वाचत्वारिंशत् सूत्र” चिनियाँ भाषामा अनुवाद गरे । काश्यप हालको भारतको उत्तर प्रदेशका थिए र हीनयान परम्पराका प्राचार्य काश्यपले अनुवाद गरेको एउटा सूत्र मात्र नभएर धेरै सूत्रहरूको सार थियो ।
अन् सी काउ पार्थिव क्षेत्रका बासिन्दा थिए र उनी भिक्षु नभएर गृहस्थ थिए । उनले परिपृच्छ निदानसूत्रको अनुवाद चिनियाँ भाषामा गरेका थिए । त्यसै समयमा अर्का अनुवादक भारतीय महाबल र धर्मफल चीन गएका थिए । धर्मफलले कपिलवस्तुबाट लगिएको सर्वास्तिवादी दीर्घागम सूत्रलाई अनुवाद गरेका थिए । सबै मिलाएर चार सय चौंतीस ग्रन्थको अनुवाद चिनियाँ भाषामा गरिएको थियो । कुमार जीवले पनि चिनिया भाषामा बुद्धका उपदेशहरूलाई परिमार्जन गरेका थिए । सन् ४२० मा किन वंशको पतन पछि उत्तरमा ‘तातार’ अथवा ‘वी वंश र दक्षिणमा सुङ वंशको शासन स्थापित भएको थियो । ती दुबैले बुद्ध धर्मको विरोध गरे तापनि जब ‘वी’ वंशीय संग—वन—ती राज गद्दीमा बसे तब उनले निकै उत्साहका साथ बौद्ध धर्म–दर्शनको प्रचारका साथै बौद्ध विहार बनाए ।
सुङ वंशीय राजाले पनि दक्षिणमा बुद्ध धर्मको प्रचारमा सहयोग पु¥याएको ऐतिहासिक प्रमाण पाइन्छ । तेस्रो शताब्दीसम्म आइपुग्दा त्यहाँ बौद्धधर्म राजाहरूको कृपामा होइन, जनताको विश्वास र श्रद्धामा टिक्ने अवस्थामा पुगिसकेको थियो । देशमा फैलिएको अशान्तिका कारण जनताहरू कन्प्mयुसियसी शिक्षा छोडी बौद्ध धर्मप्रति आकर्षित भइरहेका थिए । उता बेई वंशको शासनकालमा त्यही वंशका पाँच अनुवादकहरूले १२ वटा ग्रन्थको अनुवाद चिनियाँ भाषामा गरेका थिए । जसमध्ये अहिले केवल दशवटामात्र बचेका छन् । त्यसै बेला धर्मसत्वले धर्मगुप्तिक निकायको विनय भागको अनुवाद गरेका थिए ।
हान वंशको पतनपछि दक्षिणी चीनमा ऊ वंशको शासन सुरू भयो । ऊ वंशका पालामा पाँच जना अनुवादकहरूले भारतीय बौद्ध ग्रन्थहरूको चिनियाँ भाषामा अनुवाद गरेका छन् । त्यसमध्ये गृहस्थ ची चेन सबभन्दा ठूला अनुवादक थिए । उनी हान वंशको अन्तिम समयमा चीन गएका थिए । उनले १२७ वटा ग्रन्थहरू अनुवाद गरेका थिए । जसमध्ये ४९ वटा ग्रन्थहरू अहिले पनि चीनमा छन् । उनका अनुवादहरूमा विमलकीर्ति–निर्देश, वत्ससूत्र, शातिस्तम्भसूत्र, ब्रह्मजाल सूत्र पनि सम्मिलित छन् । ऊ वंशकालका अर्का विद्वान् विध्न र लिउ येन थिए । उनीहरूमध्ये विध्न भारतीय थिए । दुवै जनाले धम्मपदको चिनियाँ भाषामा अनुवाद गरेका थिए ।
लिउ येनले भने चारवटा पुस्तक अनुवाद गरेका थिए । ऊ कालका अर्का विद्वान् खाङ् सेङ् थिए । उनले चौधवटा पुस्तक अनुवाद गरेका थिए । त्यस कालमा अरू कैयौँ अज्ञात अनुवादकहरूले पनि धेरै बौद्ध साहित्यहरू अनुवाद गरेका छन् । त्यस कालमा गौतम प्रज्ञारूचिले २३ ग्रन्थको अनुवाद गरेका थिए । ती मध्ये १३ वटा आज पनि चीनमा छन् । त्यसकालमा लोयाङमा तीनहजार भिक्षुहरू रहन्थे । त्यतिबेला उत्तरी चीनमा कन्प्mयुसियस धर्मसँग बुद्धधर्मको कडा प्रतिस्पर्धा थियो । यद्यपि त्यस युगलाई बौद्धधर्मको स्वर्णयुग भनेर चर्चा गरिएको पनि पाइन्छ । त्यस समयमा बौद्धधर्म केवल साहित्य र राजसंस्थामा मात्र सीमित नरही कला र संस्कृतिको रूपमा पनि विकास भएको पाइन्छ । त्यति बेला शान्सी, होपे शान्तुङ, दोलान, शेन्सी र कन्सुलगायतका ठाउ“हरूमा बनेका मूर्तिकलाका अवशेष पाइन्छन् ।
उत्तरी चीनका सम्राट् तो पा चुन र उनका उत्तराधिकारीहरूले मूर्तिकला र वास्तुकलाको संरक्षणमा राम्रो व्यवस्था र योगदान गरेका थिए । यहा“को कलामा तक्षशिला, पेशावर र मथुराका कलाशैलीको प्रभाव परेको पाइन्छ । १९ औँ शताब्दीको आस–पासमा मध्यएसियाबाट चीन जाने विद्वान्हरूले त्यहा“का विहारमा भारतीय कलाको प्रभाव रहेको बताएका छन् ।
बेई वंशकी राजकुमारीले सन् ५१६ मा भारतको भ्रमण गरेकी थिइन् । त्यति बेला तीर्थयात्रा गर्दा बुद्धमूर्ति र बौद्ध साहित्य ल्याउने–लैजाने प्रचलन व्यापक मात्रामा थियो । त्यतिबेला अरू क्षेत्रहरूमा जस्तै बौद्ध साहित्यको अनुवाद गर्ने काम पनि प्रशस्त मात्रामा भएको थियो । ती मध्ये शी चेन मोङ (सन् ४०४–५३) ठूला श्रद्धालु थिए । उनले भारतको तीर्थयात्रासमेत गरेका थिए । तीर्थयात्राको सिलसिलामा उनले कपिलवस्तुबाट कुसुमपुर पटना पुगी त्यहाँका बौद्ध विद्वान् रेवतसँग भेट गरेका थिए । चीनमा बौद्धधर्मको विकास भएको र फैलिएको सुनेर उनी खुसी भए । आफूसँग भेट्न आउने चिनियाँ उपासकहरूलाई महासाङ्घिक विनय, महापरिनिर्वाण सूत्रजस्ता ग्रन्थ दिएका थिए । चे मोङ्ले महापरिनिर्वाणसूत्रको चिनियाँ भाषामा अनुवाद गरेका थिए ।
त्यस्तै त्यस समयका अर्का अनुवादक काउ चाङ् थिए । भोको बाघलाई आफ्नो शरीर काटेर खान दिई ती बोधिसत्वले दुष्कर काम गरेका थिए । त्यहाँ बनेको चैत्यको सम्बन्धमा लेखिएको कथासूत्रको अनुवाद उनैले गरेका थिए । त्यतिखेर बुद्धधर्म र धर्मक्षेम नाम गरेका भारतीय दुई जना भिक्षु थिए । उनीहरूमध्ये महाविभाषाको अनुवाद बुद्धधर्म नामक विद्वान्ले गरेका थिए भने त्यस्तै धर्मक्षेमले ३ वर्ष चिनियाँ भाषा पढेर महापरिनिर्वाणसूत्र,महासन्निपातसूत्र,करूणापुण्डरिकसूत्र,बोधिधर्मनिर्देशकसूत्र, उपासकशीलसूत्र, सुवर्णप्रभा सूत्र र बुद्धचरित्रको अनुवाद गरेका थिए ।
लुङ सुङ राजवंशको कार्यकाल (सन् ४२०–६९) मा बौद्ध धर्म र संस्कृतिको दक्षिणी चीनमा निकै प्रचार भएको थियो । त्यस समयमा त्यहाँ २१ जना अनुवादकहरूले काम गरिरहेका थिए । त्यसबेला बौद्ध–तीर्थका लागि भारत जाने चलन व्यापक रूपमा रहेको थियो । त्यसै सिलसिलामा सन् ४२० मा फायोङ्को नेतृत्वमा २५ जना भिक्षु भारत गएका थिए । त्यहाँ पुगेपछि फायोङ्ले भारतीय नाम ‘धर्माका’ राखेका थिए । त्यसैबेला भारतभ्रमणमा जाने भिक्षुहरूले बाटोमा कतिपय बौद्ध साहित्य फेला पार्नुका साथै कैयौँ बौद्ध विद्वान्हरूलाई भेटेका थिए । त्यसबेला गुणधर्मी र गुणभद्रजस्ता बौद्ध विद्वान्हरू दक्षिणी चीन पुगेका थिए । उनीहरूले त्यहाँको बौद्ध साहित्यको विकासमा ठूलो योगदान पु¥याएका थिए ।
सन् ४०० शताब्दीको आशपासमा दक्षिणी भारतमा महेन्द्र सेन, बुद्धघोष, सङ्घमई, तफासी फुहीले विभिन्न बौद्ध साहित्यको अनुवाद गरेका थिए । त्यति बेला चिनियाँ त्रिपिटकको प्रथम सङ्ग्रह सङ्ग्रहित भएको थियो । कैयौँ शताब्दीपछि सुई वंशद्वारा चीनमा फेरि एकता स्थापित भएको थियो । जसको श्रेय याङ् ची येन (सन् ५४१–६०४) लाई जान्छ । येनले त्यति बेला सञ्चालन गरेको एकीकरणयात्रा त्यसपछिका शासनका लागि ठूलो आधारशीला बनेको थियो । येनको चीन एकीकरण त्यतिबेलाबाट भएको थियो, जतिबेला जताजतै एकीकरणको लहर चलेको थियो । भारतमा हर्षबद्र्धनले पनि एकीकरण अभियान चलाएका थिए । यद्यपि येनको एकीकरण हर्षबद्र्र्धनभन्दा पहिले नै सुरू भएको थियो ।
सुई वंशको बौद्ध–धर्मप्रति अत्यन्त ठूलो श्रद्धा थियो । सुई कालमा चीनमा बौद्ध तथा ताओ मूर्ति र मन्दिरमा नोक्सान गर्नेलाई दण्डनीय घोषित गरिएको थियो । उनीहरूले भारतबाट महत्वपूर्ण बौद्ध ग्रन्थहरू चीन पु¥याउने काम गरेका थिए । त्यसबेला नरेन्द्र यश बौद्ध पण्डित थिए । उनलाई अनुवादको काममा लगाइएको थियो । उनले आठवटा ग्रन्थ अनुवाद गरेका थिए । नरेन्द्रको अनुवादमा केही त्रुटि देखिएकाले फेरि अनुवादको काम जीनगुप्तलाई दिइयो । सहयोगका लागि अर्धगुप्त र अन्य दुई चिनियाँ भिक्षुहरूलाई नियुक्त गरियो । जीनगुप्त र उनको समूहले २९ वटा पुस्तकहरूको अनुवाद गरे । जीनगुप्तलाई राजगुरु पनि बनाइयो । सन् ६०० मा जीनगुप्तको देहान्त भएकाले उनका समकालीन गौतम धर्म ज्ञानले एउटामात्र ग्रन्थको अनुवाद गरेका थिए ।
त्यसबाहेक त्यतिबेला विनीतरूचि, नरेन्द्र यश, जीनगुुप्त, बोधिज्ञान, धर्मगुप्त, फा चिङ, ई पाउ कोइ नै मुख्य अनुवादक थिए । सुई कालमा पा“च जना अनुवादक चीन गएका थिए । उनीहरूले ६० वटा ग्रन्थको अनुवाद गरेका थिए, जसमा ५८ वटा अझै चीनमा प्राप्त छन् । त्यसपछि चीनमा थाङ वंश (सन् ६१८–८०७) को उदय भएको थियो । थाङ वंशको उदय सुई वंशका राजा याङ्् क्वाङ्को हत्या लगत्तै भएको थियो । चीनमा थाङ्हरूले करिब–करिब २ शताब्दीसम्म राज्य गरेका थिए । थाङ वंशले सुई वंशले अगाडि सारेका सबै कामलाई धेरै अघि वढाउने काम ग¥यो ।
थाङ्–कालमा तिब्बतमा राजा स्रोङ् चोङ् गम्पोको जग्जगी थियो । सशक्त हुँदाहुँदै पनि थाङ्हरू स्रोङ् चोङ् गम्पोसँग शिर झुकाउन बाध्य भए र उनीहरूसँग वैवाहिक सम्बन्ध स्थापित गरी सुरक्षित रहने उपाय अवलम्बन गरे । थाङ् राजकन्या हेनचेङको स्रोङ् चोङ् गम्पोसँग विवाह गरी पठाइयो । त्यतिबेला उपहारको रूपमा स्रोङ् चोङ्लाई बुद्धमूर्ति पनि दिइयो । त्यसै वेलादेखि तिब्बतमा बौद्ध धर्म पुग्यो भन्ने भनाइ रहेको छ । त्यो मूर्ति ल्हासामा अझै पनि छ । थाङ्कै कालमा प्रसिद्ध चिनियाँ पर्यटक ह्वेन साङ् भारतको भ्रमणमा आएका थिए । थाङ्हरूले कोरियामाथि पनि आफ्नो आधिपत्य स्थापित गरेका थिए । उनीहरूको आधिपत्य २० वर्षसम्म रह्यो । त्यसै कारण चीन र कोरिया बीचको सांस्कृतिक सम्बन्धमा धेरै समानता पाइन्छ । भवतु सब्ब मंगलम् ।
प्रतिक्रिया