वीपी कोइरालालाई आदर्श मान्ने नेपाली काँग्रेसका समस्त नेता/कार्यकर्ताहरूलाई सम्बोधन गरेर म यो टिप्पणी लेख्दैछु।
तपाईँहरूलाई थाहै छ, वीपी कोइरालामाथि राजद्रोहको ८ वटा मुद्दा थियो। राणा शासनविरुद्ध सशस्त्र क्रान्तिको नेतृत्व गर्नुभएका बीपीले पछि राजाको शासनमा उहाँकै शब्दमा राजाको निरङ्कुशताविरूद्ध सङ्घर्ष केन्द्रीत गर्नुभयो, भारतमा बसेर।
८ वर्षको भारतीय निर्वासनपछि बीपी २०३३ पुस १६ मा नेपाल फर्किनुभयो। त्यतिखेर राजा वीरेन्द्र गद्दीमा हुनुहुन्थ्यो। जेलमा बीपीको स्वास्थ्य खस्कियो। जाँच पश्चात् चिकित्सकले क्यान्सरको आशङ्का गरे र दरबारमा खबर पुऱ्याइयो। निरङ्कुश भनिएका राजा वीरेन्द्रबाट तत्काल यात्रा खर्चका लागि ५ हजार डलर बाटो खर्च दिएर उपचारका लागि अमेरिका पठाउने प्रबन्ध मिलाइयो। बीपीको सम्पूर्ण उपचार खर्च राज्यकोषबाट ब्यहोरियो।
अहिले देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ, जसलाई दलहरूले संसारकै उत्तम शासन व्यवस्था भनेर दाबी गर्दै आएका छन्। विगतमा बोल्नै पाइन्थेन, भेला हुन पनि पाइन्थेन, त्यही भएर यो ब्यवस्था ल्याएको उनिहरूको दावी रहने गरेको छ।
गएको चैत १५ गते जनआन्दोलन समितिले राज्यबाट अनुमति लिएर उसले तोकिदिएको स्थानमा गरेको सभामा के के भयो हामी सबैले देख्यौँ। पढ्यौँ।
त्यही सभामा सहभागी भएको र अरू सहभागीलाई तितरबितर नहुन र अगाडी बढ्न आह्वान गरेकै आधारमा राप्रपाका नेताहरू Rabindra Mishra र Dhawal Shumshere Rana लाई पक्राउ गरेर एक हप्तायता हिरासतमा राखिएको छ। तपाईँहरूको दल नेपाली काँग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले मिश्र र राणालाई राज्यविरूद्धको कसूर र सङ्गठित अपराधको कसूरमा मुद्दा दायर गर्ने गरी अभियोग लगाउन प्रहरीलाई कडा निर्देशन दिएका छन्। तपाईँहरूको दलले प्रधानमन्त्री बनेका केपी ओलीले उनिहरूलाई ठेगान लगाउन आदेश दिएका छन्।
धवलसमशेर राणा अस्ति भर्खर क्यान्सरसँग लडेर बौरिँदै गरेका विरामी मानिस हुन्। क्यान्सरको उपचारका क्रममा हुने शारिरिक कमजोरीबाट राम्ररी तङ्ग्रिएका पनि छैनन्।रविन्द्र मिश्र नियमितरूपमा सामान्य एउटा औषधि खान्छन्। ढाड दुख्ने समस्याबाट पीडित छन्। बीपीकै आदर्श~ राजासहितको प्रजातन्त्र, हिन्दू अधिराज्य, सुशासन बहाली इत्यादीका लागि सङ्घर्ष गर्दै आएका यी दुई बीपीपथीक नेतालाई विना कसूर २५ बर्ष लामो जेल सजाय हुन सक्ने मुद्दा लगाउने तयारी गरेर राज्यले मनोवैज्ञानिक रूपमा अहिल्यैदेखि गलाउन खोजिरहेको छ।
हिरासतमा उनिहरूमाथि अमानवीय ब्यबहार भइरहेको मानव अधिकारकर्मीहरूले नै सार्वजनिक गरिरहेका छन्।
बीपीलाई मन मुटुमा सजाएर राखेका तपाईँहरूले एक पटक उहाँलाई दिमागमा ल्याएर गम्भीरतापूर्वक सोच्नुस् त, आज बीपी जीवित हुनुभएको भए यो दृश्यलाई कसरी हेर्नुहुनेथियो? निरङ्कुश भनिएका राजाले आफूलाई डलरमा खर्च दिएर उपचार गर्न पठाएको इतिहासको त्यो सन्दर्भ र आफ्ना पार्टीका नेता रमेश लेखकले उस्तै क्यान्सर पीडित धवल र अर्का प्रजातन्त्रवादी रवीन्द्र मिश्रलाई विना कसूर दिएको यातना तुलना गरेर बीपी कति चिन्तामा डुब्नुहुन्थ्यो होला? आफूले परिकल्पना गरेको प्रजातन्त्रमा यस्तो रवैया देख्न पाएको भए बीपीले के धारणा बनाउनुहुन्थ्यो होला?
अनि पार्टी कार्यालय र घर घरमा आफ्नो फोटो झुन्ड्याउने , श्रद्धाले शीर झुकाउने नेपाली काँग्रेसका अपवादबाहेकका नेता कार्यकर्ता र सिङ्गो पार्टी धवल र रवीन्द्रमाथि रमेश लेखकको नियोजित ज्यादतीमा मौन साक्षी बसेकोबारे माथि मृत्युलोकमा बीपी यतिखेर के मनोदशामा हुनुहोला?के सोच्दै हुनुहोला?
आशा छ, मनन गर्नुहुनेछ। जय नेपाल !
– शरद राज पाठक, महामन्त्री – राप्रपा

प्रतिक्रिया