आज तीन दिन भएछ , मेरा सहकर्मी मित्र सुरेश रजकको निधन भएको । यो तीन दिनमा थरिथरिका समाचार उनका बारेमा सामाजिक सञ्जालमा आए र गए , तिनको फरक-फरक असर समाचारमा परिरह्यो , पत्याउने र नपत्याउने अलग-अलग देखिए ।
मेरा निम्ति सुरेश रजक हराएको खबर शुक्रबार प्राप्त भयो , एभेन्यूजका वरिष्ठ क्यामेरापर्सन राजु श्रेष्ठज्यूबाट ।
राजु जीको सक्रियतामा हामी शनिवार विहान ‘खास शनिवार प्रकाश सायमीसँग ..’ को छायाङ्कनको तैयारीमा थियौँ । शनिवार वरिष्ठ गायिका तारा थापा, लेखक शैलेन्द्र साकार, वरिष्ठ गायक किरण प्रधान, रङ्गकर्मी बद्रि अधिकारीसित छायाङ्कन हुने पूर्व सन्ध्यामा राजुजीले मोबाइलमा फोन गरेर भन्नु भयो , ”सर । भोलि शुटिङ्ग नहोला जस्तो छ । सुरेश नै हाम्रो क्यामेराम्यान हो , ऊ हराइरहेको छ । भाष्कर सरहरु उहाँको खोजीमा लागिरहनु भएको छ । त्यहाँ पुग्नु सकिरहनु भएको छैन । ”
‘खास शनिवार प्रकाश सायमीसँग’ एभेन्यूज टेलिभिजनमा प्रसारण हुने यस कार्यक्रमका परिकल्पनाकार एवम् निर्देशक पनि भाष्करराज राजकर्णिकार नै हुनुहुन्छ ।
मलाई यस कार्यक्रमका निम्ति आफैँले प्रेमपूर्वक बोलाउनु भएको हो उहाँले, यस पछि म यो सिर्जनशील कार्यक्रममा आवद्ध भएँ , सम्मानपर्वूक उहाँले मलाई यस कार्यक्रम चलाए वापत ह्यान्डसम पारिश्रमिक पनि अफर दिनु भयो ।
कार्यक्रम शुरु भए देखि नै क्यामेरामा अरु क्यामेराम्यानका साथ सुरेश रजक पनि आवद्ध हुनु भयो । हँसिलो मुस्कान , आकर्षक व्यक्तित्व भएका सुरेशजीसित मेरो पहिलो भेट गोधूलि संसारको हाम्रो आफ्नै घरमा भएको थियो , भगवती बस्नेतजीको साहित्यिका कार्यक्रममा । सो कार्यक्रमको शुटीङ्गमा सुरेश रजकजी एक्लैले छायाँकन गर्नु भएको थियो र उहाँले हाम्रो घर परिसरको वारे पनि तारिफ गर्नु भएको थियो । सुरेशजीसित त्यो बेला देखि भएको परिचय खास शनिवार को छायाँकन सम्म अति घनिष्ठ र आत्मीय रह्यो ।
विश्वासै थिएन , शुक्रवार भएको दुःखद् घटनामा हाम्रा प्रिय सुरेश रजकको देहान्त भयो ।
सुरेश वितेको दुःख हामी एभेन्यूज टेलिभिजनकर्मीलाई गहिरो पर्यो । त्यो भन्दा भारी पीडा भाष्करराज राजकर्णिकारलाई पर्यो त्यो महशूश गर्न सक्छु , त्यही डरले होला आज सम्म मैले भाष्करजीलाई न फोनमा न भेटेर समवेदना व्यक्त गर्न सकेको छैन , म मा त्यो दुर्बलता किन आयो भनें उनी मेरा अग्रज अनि आदरणीय पनि हुन् ।
भाष्करजीले यो दुःख कसरी सहिरहनु भएको होला सम्झेर म झन पीडित छु । केही बोल्नै सकिरहेको छैन ।
म आफैँ हरेक विहान , हरेक साँझ सुरेशलाई सम्झेर भावुक हुन्छु भनें भाष्करजीलाई कस्तो अन्तरपीडा भइरहेको होला हामीले अनुमानै गर्न सक्दैनौँ । तर यस्तै शोकको घडीमा फेरि सुरेशलाई श्रद्धाञ्जली दिन भन्दा मानिसहरुले अन्यत्र दृष्टि बदल्न खोजे ।
सुरेशको मृत्यु पछि सामाजिक सञ्जालमा सुरेशलाई श्रद्धाञ्जली दिने बाहनामा भाष्करजीलाई अने लाञ्छना लगाउन थालेको पनि देखियो, के यतिबेला त्यस्तो तर्क वितर्कको केही अर्थ होला त ? म यो कुरामा पनि गमगीन छु ।
नेपालमा निजी क्षेत्रबाट टेलिभिजन स्थापना गर्ने क्रममा एक उद्यमीका रुपमा मैदानमा आएका भाष्करजी शुरुमा आफैँ एक टेलिभिजन प्रस्तोता एवम् प्राविधिक हुन् । उनैले नेपाल टेलिभिजनको इतिहासमा जीरो आवर जस्तो कार्यक्रम शुरु गरे । काठमान्डूको रङ्गमञ्चमा विज्ञापन संघको एउटा दह्रो व्यानर खडा गरे तर आज परिस्थितिले उनी आफैँ एक टेलिभिजन संस्थापक भए , उनकै टेलिभिजनमा अन्तर्वार्ता जाँदा आउँदा मैले त्यहीँ चिनें , राजेन्द्र बानियाँ, टीकाराम यात्री, सरोज कोइराला, भगवती बस्नेत, प्रभा थापा आदि ।
समय कति अनौठो छ, उनी आफ्नो संस्थाको एक होनहार कर्मचारी वितेर शोकमा छन् , यतिवेला उनलाई पारिश्रमिक नदिएको जस्ता अरु विषयमा आरोप र आक्षेप थपिँदै आएका छन् ।
नेपालमा कुन मिडिया होला जहाँ समयमा तलब वा तनखा पाइन्छ , सबैको हालत त्यही छ । विगत पच्चीसवर्ष अगि मैले नेपालको सबैभन्दा महँगो टेलिभिजनमा तलब नै नपाएर जागीर छोड्नु पर्यो , आज पनि अन्नपूर्ण पोस्ट जस्तो पत्रिकामा लेख लेखेको दुई वर्ष देखि पारिश्रमिक पाएको छैन । पारिश्रमिक नपाएरै कति ओटा पत्रिकामा लेखै लेख्न छोडिसकेँ , एक अर्थको वाध्यात्मक पलायन ।
टेलिभिजन एफएम , पत्रिकाको हालत कोरोना पछि वा अगि कहिले पनि ठीक भएन । त्यसै कारण टेलिभिजनमा काम गर्नेहरु समाचारमा काम गर्ने पार्टीतिर लाग्छन् , मनोरञ्जनात्मक कार्यक्रम बनाउनेहरु म्युजिक भिडिओ बनाएर जीवन धान्छन् ।
यस्तो अवस्थामा नेपालका केही टेलिभिजन त बन्द नै हुँदै छन् भनें एभेन्यूजले आफूलाई कसरी धानिरहेको छ । देशमा पार्टीगत रुपमा पार्टी कार्यालयहरु खुलेपछि एफ एम , टेलिभिजनको लाइसेन्स लिनु अगि सुपारी ( पेश्की ) बुझाउन जानु पर्ने अवस्था त कायमै नै छ । त्यसमाथि नयाँ उद्योग स्थापित हुन झन गाह्रो हुँदै गएको सत्य हो ।
मिडियाको अर्को क्षेत्र सिनेमाको पनि त्यही हालत छ, नायक राजेश हमाल बाहेक प्रायः कलाकारले पैसा नपाएर कति पटक शुटीङको सामान ( क्यामेरा , नाग्रा ) आदि उठाएर लग्नु परेको कथा त छँदै छ । भरिया फिल्मको शुटीङमा पारिश्रमिकको कारणले नायक भुवन केसीले क्यामेरा नै आफ्नो कब्जामा लिएको घटना घाम जत्तिकै छर्लङ छ ।
हामी कहाँ केही केही कारणले प्राफेशनालिज्म विकास हुन सकेन , त्यसको असर वा छायाँ टेलिभिजनमा पनि पर्यो ।
शायद यसैको अपजश मित्र भाष्करजीले पनि भोग्नु पर्यो ।
शोकको यो पीडामा सुरेश रजकको मृत्यु कसरी भयो , यसको खोजखनिज तर्फ लाग्नु भन्दा यहाँ अर्कै रङ्ग दिएर घटनालाई अझै दुःखदायी बनाउँदै गरेको यो इतिहास सम्झिँदा हामी मानवता मर्दै गएको हो कि भन्ने अनुभूति हुन थाल्यो मलाई ।
सञ्चारकर्मी सुरेश रजकको निधन नेपाली पत्रकारिताको इतिहासमा भएको एउटा अकल्पनीय घटना हो , यस्तो घटना विरलै हुने गर्छ । वा, हामी आफैँ पनि यसका कमजोर पात्र भयौँ कि ?
हामी जो सुकै हौँ , आन्दोलन गर्नेहरुको तैयारी पनि कहिले सही स्थान र सही समय हुँदैन । अनुमति दिने सरकारी निकायले पनि कस्तो ठाउँमा कार्यक्रम गर्न दिने सही रुपमा तय गर्न सक्दैन ।
दुर्घटना पछि जहिले हामी पछुताउँछौ अनि एक घृणास्पद इतिहास बोकेर बाँच्छौँ । किन हाम्रो नियति सँधै यस्तै ?
आज सम्म म यही सोच्दैछु ।
प्रतिक्रिया