Washington DC, US : March 31, 2025, Monday 03:33 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?|अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन !|रवीन्द्र मिश्र, धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्धको कसुर|डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तोष व्यक्त गरे|अधिवक्ता स्वागत नेपाल विना सर्त रिहा|बेपत्ता भनिएका दुर्गा प्रसाइको भिडियो सार्बजनिक, के भन्छन सुन्नुस !|गजबको लोकतान्त्रिक गणतन्त्र हाम्रो सुन्दर देशमा कति सुहाएको ?|अक्षम्य अपराध : आन्दोलनकारीको नाममा स्वदेशी सरकारी जडीबुटी कम्पनी निशानामा पर्दा दुई वटा भवन जले, गाडीहरुमा आगो|म त निर्धो पुलिस परें !|हिजो रण मैदान बनेको काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइयो, क कसले के के भने हेर्नुस बिबरण !

बुद्धजन्मस्थल लुम्बिनीः प्रमाणित तथ्य र सत्य - डा. बालकृष्ण चापागाईं

  NepalMother.com | १९ फाल्गुन २०८१, सोमबार ००:५०

– डा.बालकृष्ण चापागाईं
बुद्धको जन्मस्थल नेपालको रुपन्देही जिल्ला अन्तर्गत लुम्बिनी हो, कपिलवस्तु जिल्लाको तिलौराकोट बुद्धका पिता शुद्धोदनको राजधानी हो । नवलपरासीको रामग्राम बुद्धको अस्थिधातु राखिएको आठ स्थानमध्ये एक हो । रुपन्देहीको देवदह बुद्धको मावली घर हो भन्नेजस्ता बुद्धसँग सम्बन्धित विभिन्न स्थलहरू नेपालमा पर्दछन् भन्ने प्रामाणिक पुष्ट्याइँ भइसकेको छ । इसापूर्व ३०४ अर्थात् गौतमबुद्ध महापरिनिर्वाण भएको २१८ वर्ष पछि मगधको राजधानी पाटलिपुत्रमा जन्मेका तत्कालीन भारत वर्षका मौर्य सम्राट अशोकले आफ्नो शासनकालमा गौतमबुद्धको जन्म नेपालको रुपन्देही जिल्ला अन्तर्गत लुम्बिनीमा भएको प्रमाणका रूपमा स्तम्भ खडा गरे पछि यो पवित्र स्थलको प्रचारप्रसारको क्रम बढेको पाइन्छ ।
यसक्रममा सम्राट कनिष्क, चिनियाँ यात्री युवान् च्वन्, फाहियान्, इत्सिङ, परमार्थ, नेपालकी छोरी भृकुटी, भिक्षु शान्तरक्षित, दीपङ्कर आदिबाट लुम्बनीको महत्व दर्शाउँदै विभिन्न क्षेत्रमा बुद्धका विचारको सञ्चारमा योगदान पु¥याएको पाइन्छ । सन् ११९३ मा बौद्ध स्थलहरूलाई ध्वस्त र बुद्धधर्मका अनुयायीहरूमाथि आक्रमण भएपछि झण्डै ६ सय वर्ष भन्दा बढी समय विलुप्तजस्तै भई जानकारी प्राप्त हुन नसकेको अवस्थामा पाल्पा राज्यका तत्कालीन वडाहाकिम खड्ग शम्शेरले लुम्बिनी वनमा अशोक स्तम्भ फेला पारे पछि मात्र यसको प्रचारले नयाँ गति लिएको पाइन्छ । यसपछि नेपालका लागि तत्कालीन बेलायती राजदूत ब्रायन हडज्सनलगायतका अठारौं र उन्नाईसौँ शताब्दीका विभिन्न विद्वानहरू– एभी स्मिथ, एफ, एम. मुलर, फुहरर, मबुहलर, एलए वाडेल, वा सिल्भाँ लेभी, भिक्षु धर्मालोक (वि.सं. १९४७–२०२४), भिक्षु अमृतानन्द आदिले नेपालमा बौद्ध धर्मदर्शनको प्रचारप्रसारका साथै विश्वका अन्य मुलुकमा समेत यसको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएको पाइन्छ ।
राणाशासनकालमा जुद्ध शम्सेरका पालामा बौद्ध भिक्षुहरूलाई देश निकालासम्म गरिएपनि श्रीलंकाको शिष्ट मण्डलको अनुरोधमा नेपाली भिक्षुहरूको फेरि नेपाल आगमन भई बौद्ध धमदर्शनको प्रचार–प्रसार अगाडि बढेको पाइन्छ । नेपालमा २०१३ सालमा सम्पन्न चतुर्थ विश्व बौद्ध सम्मेलन पश्चात् बौद्ध जागरणमा तीब्रता आएको पाइन्छ । यस्तै लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त र लुम्बिनी गुरुयोजना निर्माणमा प्रोफेसर केञ्जो टाँगेको योगदान महत्वपूर्ण रहेको छ । बौद्ध सञ्चारमा बुद्धकाल मै कपिलवस्तुका भिक्षुहरू कौण्डन्य, अनुरुद्ध, मद्दिय, पूर्ण, सीवली, राहुल, आनन्द, कालुदायी, उपालि, नन्द, भिक्षुणीहरूमा गौतमी, नन्दा, भद्राकात्यनी (यशोधरा) एवम् उपासकमा महानाम शाक्य आदिले महत्वपूर्ण योगदान दिएको पाइन्छ । लुम्बिनीको पहिचान एवम् प्रचारप्रसारमा जर्मन पुरातत्वविद् फ्युहरर र पाल्पाका तत्कालीन बडाहाकिम खड्ग शमशेरआदिले गरेका कार्य महत्वपूर्ण देखिन्छ ।
सन् १८९६ मा पाल्पाका तत्कालीन जनरल खड्ग शम्शेरले लुम्बिनी बनमा शिकार खेल्न जाने क्रममा अशोकस्तम्भ फेला पारेका थिए । पुरातत्वविद् फ्युुहररले पनि भ्रमणका क्रममा अशोकस्तम्भ देखेर त्यसमा लेखिएको प्रमाणका आधारमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै भएको पुष्टि गर्दै अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गरेका थिए ।
त्यसपछि सन् १८९९ मा भारतका पुरातत्वविद् पि.सी. मुखर्जीले उत्खनन् गरी मायादेवी मन्दिर, बुद्धजन्म–स्मारक, मूर्तिआदि पत्ता लगाएका थिए । सन् १९५६ मा प्रथम विश्व बौद्ध सम्मेलनमा राजा महेन्द्रले एउटा विहार, अतिथिगृह र हालको सडक निर्माण गरी लुम्बिनीको विकासका लागि मार्गचित्र तयार गरेका थिए ।
राजा महेन्द्रको सक्रियतामा सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊथान्तले लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीको विकासमा संयुक्त राष्ट्र–सङ्घको चासो बढेको पाइन्छ । ऊथान्त पनि बर्मेली बौद्ध भिक्षु थिए । लुम्बिनी प्राचीन समयदेखि नै एउटा अद्वितीय र पवित्र स्थल भएकै कारण त्यहाँ बुद्धका अनुयायीहरूको बसोवास बढ्दै गएको थियो । प्राचीन भग्नावशेषहरू त्यसका प्रमाणस्वरूप आज पनि लुम्बिनीमा सुरक्षित छन् । लुम्बिनीको विकास गर्न तत्कालीन राजा महेन्द्रले सन् १९७८ मा ११ सय ५० विगाहा भूमि अधिग्रहण गरेपछि सन् १९७९ मा लुम्बिनी गुरुयोजना भित्र ६ लाख रूखका बिरूवा रोपिएका थिए ।
लुम्बिनीलाई प्राचीन बुद्धकालीन बनकै स्वरूप दिई त्यसको विकास शुरू गरेपछि सन् १९७२ मा जापानका प्रसिद्ध वास्तुविद् प्रो.केन्जो टाँगेले एउटा वृहत् गुरुयोजना तयार गरेका थिए । त्यसै गुरूयोजना अनुसार लुम्बिनीमा वृक्षरोपण गरिएको हो । प्रो. टाँगेको गुरुयोजना अनुसार लुम्बिनी १ माइल चौडाइ र ३ माइल लम्बाइभित्र विकास हुँदै गएको छ ।
कपिलवस्तुको तौलिहवाबाट करिब ४ किलोमिटर उत्तरतर्फ वाणगङ्गा नदीको पश्चिममा सन् १८९६ मा उत्खनन गर्दा १७ वटा स्तूपहरू फेला परेका छन् । त्यो स्थानमा तत्कालीन भारतको कोशल राज्यका राजा प्रसेनजीतका छोरा बिढुडभले कपिलवस्तुमा आक्रमण गरेर हजारौं शाक्यहरूको नरसंहार गरेका हुँदा उनीहरूकै स्मृतिमा ती स्तूपहरू बनाइएको उल्लेख पाइन्छ । त्यसैगरी कपिलवस्तुको कुदान भन्ने स्थान पनि अत्यन्तै महत्वको मानिन्छ । तौलिहवाबाट करिब २ किलोमिटर दक्षिणमा कुदान पर्दछ । भवनका विभिन्न भग्नावशेषहरू पाइएको त्यो स्थान बुद्धत्व प्राप्तिपछि गौतम बुद्धका पिता शुद्धोदनलाई भेट्न आउँदा पिताले वस्नका लागि बनाइदिएको निग्रोधाराम विहार, अरौराकोट, धमनिहवा स्तूप, लोहसडिया स्तूप, सिसहनियाँ आदि धेरै स्थानहरूको बुद्धकालीन र पुरातात्विक महत्व रहेको छ ।
गौतम बुद्धको जीवन, लुम्बिनी र सञ्चार एक अर्काका परिपूरकको रूपमा रहेका छन् । गौतमबुद्धको जन्म लुम्बिनीमा भएकाले बौद्ध धर्म–दर्शनप्रति आस्था र रुचि राख्ने सबैका लागि महत्वपूर्ण तीर्थस्थलको रूपमा रहेको छ । संसारका महान् प्रयोगवादी दार्शनिक र चिन्तकहरूमध्ये भेदभाव र असमानताको विपक्षमा खडा भई परापूर्व कालबाट चलिआएका विकृति र विसंगतिको खण्डन गर्दै वैज्ञानिक तथा दार्शनिक सिद्धान्तः चार आर्यसत्य तथा आर्य अष्टाङ्गमार्गलगायतका धर्मदर्शनको प्रतिपादन गौतमबुद्धले गरेका हुन् ।
युनेस्को र वेलायतको स्टर्लिङ तथा डुर्हम विश्वविद्यालयका पुरातत्वविद्हरूद्वारा सन् २०११ को अप्रिल ६ देखि मे ६ को बीचमा गरिएको उत्खननमा लुम्बिनीबाट बुद्धकालीन ईंट्टाले बनाएका मन्दिरहरूको लहरमा काठका संरचना तथा भग्नावशेषहरू फेला परेका थिए । जसलाई युनेस्कोले प्रेस विज्ञप्तिमार्फत् इसापूर्व १३०० मा नै लुम्बिनीमा मानववस्ती बसिसकेको तथ्यका साथै त्यसका अवशेषहरू भेटिएको दाबी गरेको छ ।
लुम्बिनीबाट पहिलो धर्मयात्रा थालनी गरेका सम्राट् अशोकका हालसम्म ४० ओटा स्तम्भ फेला परिसकेका छन् । गौतमबुद्धका पिता शुद्धोदनले शासन चलाएको र गौतम बुद्धले आफ्नो जीवनका २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट दरबार पनि पुरातात्विक महत्वको स्थल हो । तत्कालीन अवस्थामा भारतबाट आएका राजा ओक्काकका ५ छोरी र ४ छोराहरूले कपिलमुनिको अनुमति लिई भागीरथी (वाणगङ्गा) नदीको किनारमा वसाएको वस्ती नै कपिलवस्तु भनिएको हो । यो गौतम बुद्धका पिता राजा शुद्धोदनको दरबार भएको शाक्य गणराज्य हो । चीनियाँ यात्री ह्वेनसाङ्गको यात्रावर्णन र विभिन्न पुरातत्वविद्हरूले बेला–बेलामा उत्खनन् गरेर फेला परेका ग्रेवेयर र रेडवेयर माटाका भाँडाकुँडाका सामग्रीहरू सातौं र आठौं शताब्दी ईशापूर्वका भएको मानिएको छ । सम्राट् अशोकले लुम्बिनीमा मात्र अशोकस्तम्भ खडा गरेको नभई कपिलवस्तुमा पनि स्तम्भहरू खडा गरेका थिए । कपिलवस्तुको निग्लिहवा र गोटीहवामा पनि अर्को त्यस्तै अशोकस्तम्भ खडा गरेका थिए । त्यस शिलास्तम्भको वरिपरि पुरातात्विक उत्खनन् हुँदा त्यहाँ स्तूपको अवशेष भेटिएको छ । त्यहाँ रहेको सूचनापाटी तथा अन्यत्र पनि यस स्थललाई क्रकुच्छन्द बुद्धको गृहनगर भनी प्रस्तुत छ ।
मुलुक संघीय संरचनामा गएपछि नेपालका सात प्रदेश मध्ये एउटा प्रदेश गौतमबुद्धको जन्मस्थल लुम्बिनीका नामबाट नामकरण गरिएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा चिनाउनको लागि यसअघि नेपाललाई प्रशासनिक हिसावले १४ अञ्चलमा विभाजित गर्दा एउटा अञ्चलको नाम लुम्बिनी राखिएको थियो । यस क्रममा नेपाल संयुक्तराष्ट्र संघको सदस्य र बर्माका ऊथान्त संयुक्त राष्ट्र संघको महासचिव निर्वाचित भएपछि उनको सक्रियतामा लुम्बिनीको विकास एवम् विस्तारमा संयुक्त राष्ट्र संघले बढी चासो लियो । त्यसबाहेक जापानको रिस्सो विश्व–विद्यालय र नेपाल सरकारको पुरातत्व विभाग, संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको निकाय युनेस्कोले समेत व्यापक शोध र अनुसन्धान गरी बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व–सम्पदा सूचीमा सूचीबद्ध गरेको छ । शुद्धोदनको दरबार कपिलवस्तुको तिलौराकोटको नजिकमा सुरक्षा – पर्खाल, पोखरी, स्तूप, विहार, पाठशाला, देवमन्दिर, महाभिनिष्क्रमण–द्वार, विभिन्न मुद्राहरू, चित्रहरू, माटाका भाँडाहरू, दरबारका भग्नावशेष आदि फेला पर्नुले शुद्धोदन र मायादेवीको स्मृतिस्तम्भ–स्तूप तिलौराकोटदेखि एक किलोमिटर उत्तरमा भएको पुरातत्वविद् देवलामित्र, तारानन्द मिश्रआदिले पुष्टि गरेका छन् । भवतु सब्ब मंगलम् ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।